coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बर्जु महोत्सवः आगजनी र तोडफोडको छानविन गर्न समिति गठन

दोष गाउँपालिकाको होः सिडिओ, दोष आयोजकको होः गाउँपालिका अध्यक्ष

जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा आयोजित पत्रकार सम्मेलन। तस्बिरः नागरिक

सुनसरीको दक्षिणवर्ती बर्जुमा सञ्चालित महोत्सव स्थलमा भएको आगजनी र तोडफोडको छानविन गर्न जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ। प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो।

महोत्सव आयोजक समितिले प्रशासन कार्यालयको निर्णयलाई अटेर गरि मंगलबार  भारतीय चर्चित भोजपुरी कलाकार खेसरीलाल यादव आउने सूचना गरेर अवलोकनकर्तासमक्ष तीन सय र पाँच सयको प्रवेश शुल्क लिएपनि अन्तिममा नआएको झोकमा आक्रोशित समूहले आगजनी र तोडफोड गरेको थियो।  

जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्की, सशस्त्र प्रहरी वल ४ नंं. गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको समिति गठन गरेको हो। समितिले पाँच दिनभित्रमा छानविन गरेर प्रतिवेदन पेस गरेपछि दोषीलाई कारबाही गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।  

पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले छानविन समितिले अध्ययन गरेर तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्ने र आगजनी तथा तोडफोड गर्नेको पहिचान गरि कारबाही गर्ने बताए। उनले जिल्ला प्रशासन कार्यालयले पटकपटक ध्यानाकर्षण गराउँदा पनि गाउँपालिकाले त्यसलाई रोक्न पहल नगरेको जनाए।

प्रमुख जिल्ला अधिकारी यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको कोरोना महामारीका बेला गाउँपालिकाले पूर्ण जिम्मेवारी लिने गरि जिल्ला सुरक्षा समितिले पुस २३ गतेको निर्णयबाट तोकिए बमोजिमको मापदण्ड पूरा गर्ने सर्त र अधिनमा रही महोत्सव सञ्चालन गर्न अनुमति दिएको हो।’ पुस २६ गते गृह मन्त्रालयलको सर्कुलर अनुसार जिल्ला सुरक्षा समन्वय समितिलाई कोरोना मापदण्ड पालना सम्बन्धी निर्देशन भए बमोजिम पुस २७ गतेको निर्णय बमोजिम भोलिपल्ट फेरि स्थानीय तहलाई निर्णय कार्यान्वयन गर्न पत्रचार गरिएको थियो।  

निरन्तर महोत्सव सञ्चालन भएपछि माघ २ गते महोत्सव सञ्चालन गर्न दिइएको अनुमति खारेज गरि तत्काल रोक्न बर्जु गाउँपालिकालाई पत्रचार गरिएपनि अटेर गरेको प्रमुख जिल्ला अधिकारी यादवको दावी छ। ‘यो घटना हुनुमा मुख्य दोष गाउँपालिकाको हो,’ यादवले भने, ‘पटक पटक महोत्सव रोक्न पत्रचार गर्दा पनि अटेर गरियो।’  

प्रमुख जिल्ला अधिकारी यादवले महोत्सव आयोजक गर्न गाउँपालिकालाई अनुमति दिएकाले गर्दा अरु त सहयोगी मात्र भएको बताए। ‘महोत्सव आयोजना गर्न हामीले गाउँपालिकालाई अनुमति दिएको हो, ब्यानरमा अरु कसैको सहयोग होला, त्यो अलग कुरा हो,’ उनले भने, ‘यसको जवाफदेही गाउँपालिका नै हो।’

गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले भने जिल्ला प्रशासन कार्यालयले गरेको सर्कुलर अनुसार आयोजक समितिलाई रोक्न पत्रचार गरेकाले गर्दा दोष आयोजकले लिनुपर्ने बताए। ‘जिल्ला प्रशासन कार्यालयले माघ २ गते गाउँपालिकालाई सर्कुलर गरेपछि हामीले माघ ३ गते पत्रचार गरेका छौं,’ उनले भने, ‘सिडिओले कुरा बुझ्नुपर्छ।’

उनले घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताए। गाउँपालिकाले भने बिहीबार बैठक बसेर घटनाको बारेमा निर्णय गर्ने अध्यक्ष चौधरीले बताए। जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिको छानविनप्रति चित नबुझे गाउँपालिका स्तरबाट अलग्गै गर्न सक्ने पनि उनले संकेत गरे।  

उनले महोत्सवमा आगजनी र तोडफोड हुनु भत्सर्नायोग्य र निन्दनीय भएको बताए। ‘आगो लगाएको र तोडफोड गरेको घटनाको छानविन गरेर घटनालाई सेफ ल्याण्डिङ गर्नुपर्छ,’ उनले भने।  

महोत्सव बर्जु सामूदायिक विकास केन्द्रले सञ्चालन गरेको थियो। महोत्सव आयोजक समितिले भने आगजनी र तोडफोडको विषयमा कुनै प्रतिक्रिया दिन चाहँदैन।  

एक सय ५२ विघा क्षेत्रफलमा फैलिएर चराको मुख्य बासस्थान बन्दै आएको बर्जुतालको प्रचारप्रसार गर्न पुस २३ गतेबाट सुरु भएको महोत्सव मंगलबार सकिदै थियो। महोत्सव सकिने दिन भारतीय चर्चित भोजपुरी कलाकार खेसरीलाल यादव आउने पूर्व सूचना गरे अनुसार ठूलो संख्यामा अवलोकनकर्ता सहभागी भएका थिए। सहभागीले बिहान ११ बजेदेखि प्रवेश शुल्क तिरेर महोत्सव स्थलमा प्रवेश गरेपनि दिउँसो ४ बजेसम्म पनि कलाकार सहभागी नभएपछि आक्रोशित समूहले आयोजकले ठगी गरेको भन्दै अन्धाधुन्द आगजनी र तोडफोड गरेको थियो। भारतीय कलाकार खेसरीलाल भने विराटनगरमा आएर फर्किएका थिए।  

कलाकार यादव नआएको झोकमा आक्रोशित समूहले चारवटा भारतीय गाडी आगजनी भएको थियो। आक्रोशित समूहले महोत्सवमा रहेका अन्य थुप्रै सामग्री तोडफोड गरेको थियो।

प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड अश्रृग्यास प्रहार गरेको थियो। महोत्सव स्थलमा तोडफोड र आगजनीपछि मात्र प्रहरी घटनास्थल पुगेकाले पनि बढी क्षति भएको थियो।

प्रकाशित: ५ माघ २०७८ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App