१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रशासनको निर्णय अटेर गरी लगाएको महोत्सव रणभूमिमा परिणत

तस्बिरः अमर/नागरिक

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सकुर्लरलाई अटेर गरी सञ्चालन गरेको बर्जु महोत्सव स्थल मंगलबार अपरान्ह रणभूमिमा परिणत भएको छ। कोरोनाको जोखिम बढेसँगै भीडभाड नियन्त्रण गर्न संघीय सरकारले गरेको निर्णयका आधारमा प्रशासन कार्यालयले महोत्सव रोक्न सकुर्लर गरेकोमा भारतीय कलाकार नआएको झोकमा आक्रोसित समूहले आगजनी र तोडफोड हुँदा रणभूमिमा परिणत हुन पुगेको हो।

‘महोत्सव स्थलमा प्रवेश मात्र गरेका थियौ, हेर्दा हेर्दै आगजनी र तोडफोड भएपछि भाग्न सफल भइयो,’ महोत्सव स्थलदेखि पाँच सय मिटर पूर्व खेतमा भेटिएकी दुहवी वडा नं. ८ की सञ्जु सरदारले गहिरो सास फेदै भनिन्, ‘धन्न ज्यान बचाइयो।’ उनको भाग्दा खेरी एउटा मोवाइल समेत हरायो।  

एक सय ५२ विघा क्षेत्रफलमा फैलिएर चराको मुख्य बासस्थान बन्दै आएको बर्जुतालको प्रचारप्रसार गर्न पुस २३ गतेबाट सुरु भएको महोत्सव मंगलबार सकिँदै थियो। महोत्सव सकिने दिन भारतीय चर्चित भोजपुरी कलाकार खेसरीलाल यादव आउने पूर्व सूचना गरे अनुसार ठूलो संख्यामा अवलोकनकर्ता सहभागी भएका थिए। सहभागीले तीन र पाँच सय रुपैयाँको टिकट काटेर बिहान ११ बजेदेखि महोत्सव स्थलमा प्रवेश गरेपनि दिउँसो ४ बजेसम्म पनि कलाकार सहभागी नभएपछि आक्रोसित समूहले अन्धाधुन्द तोडफोड गर्न थालेका थिए।  

त्यस क्रममा चारवटा भारतीय गाडी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो। आक्रोसित समूहले महोत्सवमा रहेका अन्य थुप्रै सामग्री तोडफोड गरेको प्रत्यक्षदर्सी मोरङकी हिरादेवी शर्माले बताइन्।

प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड अश्रृग्यास प्रहार गरेको छ। साँझदेखि स्थिती नियन्त्रणमा आएको छ। महोत्सव स्थलमा तोडफोड र आगजनीपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो। ‘बेलैमा प्रहरी घटना स्थलमा पुगेको भए ठूलो क्षति हुने थिएन, बेलैमा स्थिती नियन्त्रण लिन सक्ने अवस्था हुने थियो,’ महोत्सवमा सहभागी भएका दुहवी वडा नं. ७ का चन्द्रनारायण चौधरीले भने।

बर्जु महोत्सवमा थामि नसक्ने गरी लागेको भीड।

महोत्सव स्थलमा शुरुवातमा प्रहरी खटिएका थिएनन्। महोत्सव स्थलभन्दा पूर्वतर्फ एक हजार मिटरमा केही सीमित मात्र प्रहरी थिए। आगजनी र तोडफोड भएर सहभागी भागभाग भएपछि मात्र शुरुमा इलाका प्रहरी कार्यालय दुहवी र त्यसपछि चिमडी प्रहरी कार्यालयका प्रहरी पुगेका थिए।  

‘भारतीय कलाकार खेसरीलाल यादव आउने प्रचार गरेर स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुती गरि रहेका थिए,’ महोत्सवमा सहभागी भएका दुहवी वडा नं. १२ का शिवनारायण पासवानले भने, ‘भारतीय कलाकार नआएपछि कार्यक्रम सञ्चालकले आयोजकलाई झिकाए। तर कोही पनि नआएपछि एक जना पुरुष मञ्चमा गएर पैसा फिर्ता गर्नुपर्ने नत्र जे पनि हुन सक्ने भनेपछि आक्रोसित समूहले तोडफोड गर्न थाल्यो।’ पासवानका अनुसार आक्रोसित समूहले मनोरञ्जनात्मक स्थल, होटलका स्टल र प्रवेश गर्न लिएको शुल्कको पैसा पनि खोसेका थिए।  

महोत्सव स्थलमा अन्धाधुन्द आगजनी र तोडफोड हुँदा सबैभन्दा बढी समस्या स साना काँखे बालबालिका लिएर सहभागी भएकाले पीडा खेपेका थिए। ‘धन्न पूर्वतर्फ भाग्ने ठाउँ फराकिलो भएकाले गर्दा केही हुन पाएन,’ मोरङ वविर्याविर्ताबाट एक वर्षको वच्चा लिएर आएकी सुनीलादेवी शर्माले भनिन्, ‘महोत्सव आउन सारै गलत निर्णय गरिएछ।’ उनी भारतीय कलाकार आउने भएपछि सधैंभरी घर बस्दाको पट्यार कम गर्ने सोचले सहभागी भएकी थिइन्।

आगजनी र तोडफोडपछि भागदौड हुँदा थुप्रै जना घाइते पनि हुन पुगेका छन्। तर, घाइते भएकाको यकिन संख्या छैन। भाग्ने क्रममा बासको भाटाले हातमा चोट लागेका विराटनगरका एमडी अपसरले भने, ‘मजस्ता हात र शरीरका विभिन्न भागमा चोट लागेका थुप्रै छन्।’  

भारतीय कलाकार खेसरीलाल भने विराटनगरमा आएर फर्किएका छन्। जिल्ला प्रशासन कार्यालयले कुनै पनि हालतमा उनलाई आउन नदिने भनेकाले गर्दा विराटनगरबाट फर्र्किएका हुन्।  

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाको बैठक र गृह मन्त्रालयको परिपत्र अनुसार नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि भीडभाड नियन्त्रण गर्न पुस २७ गते नै सकुर्लर जारी गरिएको थियो। तर, बर्जुमा महोत्सव आयोजक समितिले अटेर गरेको सूचना पुस ३० गते आएपछि माघ १ गते बैठक बसेर बर्जु महोत्सव रोक्ने सोमबार पत्रचार गरेको थियो।  

‘महोत्सव रोक्न धेरैपटक भन्दाभन्दै पनि आयोजकले अटेर गरेर लगाउँदा दुःखद घटना हुन पुग्यो,’ प्रमुख जिल्ला अधिकारी यादवले नागरिकसँग टेलिफोनमा भने, ‘जिम्मेवारी व्यक्ति नै गम्भीर नहुँदा समस्या भयो।’ उनका अनुसार महोत्सवमा कम्तीमा सात हजार सहभागी भएका थिए। तर, सहभागीले भने कम्तीमा १५ हजार उपस्थित भएको दावी गरेका छन्। महोत्सवमा नेपालीसँगै भारतीय अवलोकनकर्ता आएका थिए।  

महोत्सव बर्जु सामूदायिक विकास केन्द्रले सञ्चालन गरेको थियो। आयोजक संस्थाका अध्यक्ष श्रवणकुमार चौधरीले आफूले घटनाबारे केही पनि बताउन सक्ने अवस्थामा नभएको प्रतिक्रिया दिए।  

बर्जु विराटनगरको बरगाछी चोकदेखि करिब ९ किमी पश्चिममा पर्छ। सुनसरीको सदरमुकाम इनरुवाबाट १० किलोमिटर दक्षिण र भारत विहारबाट १५ किलोमटर उत्तर पर्छ।

प्रकाशित: ४ माघ २०७८ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App