७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तजनलाई बिहीबारदेखि मनकामना मन्दिर प्रवेशमा रोक

मनकामना मन्दिर।

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिर भित्र भक्तजन प्रवेशका लागि रोक लगाइएको छ। कोरोनाको जोखिम बढेसँगै भिडभाड नियन्त्रण गर्न मंगलबार बसेको मनकामना क्षेत्र बिकास समितिको बैठकले बिहीबारदेखि मन्दिर बन्द गर्ने निर्णय गरेको हो।  

‘नित्यपूजा, ध्यान, प्रार्थना मात्रै गर्नु र अन्य पूजापाठका काम नगर्नु भन्ने परिपत्र आएको छ’, क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले भने, ‘मन्त्रिपरिषदको निर्णयलाई हामीले बैठक बसेर कार्यान्वयन गर्ने निर्णय गरेका हौँ।’ मन्दिर खोल्ने बन्द गर्ने निर्णय क्षेत्र बिकासले नभई नेपाल सरकारले गरेको उनले बताए।  

मनकामना मन्दिरमा दैनिक अहिले एकदेखि दुई हजारसम्म भक्तजन जाने गर्छन्। बिदाको दिन यो संख्या अझै बढी हुन्छ। अत्याधिक चाप हुने हुँदा मन्दिर भित्र पूजा गर्न रोक लगाइएको हो। माघ मसान्तसम्म मन्दिरमा नित्य पूजा गर्ने निर्णय क्षेत्र बिकास समितिले गरेको छ। मनकामना पुगेका भक्तजनले मन्दिर बाहिरबाट दर्शन गर्न भने पाउनेछन्।  

मनकामना सम्म जाने मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकार भने बन्द नहुने भएको छ। ‘तत्कालका लागि केबलकार बन्द गर्ने योजना छैन’, स्टेशन म्यानेजर उज्वल शेरचनले भने। मनकामनाका स्थानीयलाई आउजाउ गर्न, मन्दिर बाहिरबाट पूजापाठ गर्ने भक्तजनको सजिलोका लागि पनि केबलकार भने नियमित चल्नेछ। मनकामनाका स्थानीय ब्यापारी व्यवसायीले बजारक्षेत्र भने चलायमान राख्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: ४ माघ २०७८ १०:४३ मंगलबार