भर्खरै सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ महाधिवेशनबाट उपाध्यक्ष र सदस्य निर्वाचित हुन सफल उदयपुरका ३ पत्रकार सम्मानित भएका छन्। गत पुस २६ देखि २८ सम्म मोरङको पथ्रीमा आयोजित फोनिज महाधिवेशनबाट उपाध्यक्ष भएका राजेन्द्र दुष्ट र अप्सरा समाल तथा लेखा समिति सदस्य सञ्चार किरातीलाई फोनिज उदयपुरले सोमबार बधाई सम्मान दिएको हो।
सदरमुकाम गाईघाटस्थित होटल कन्चनजंघामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले उनीहरुलाई पगरी गुथाउँदै खादा लगाएर बधाई सम्मन दिए। सो कार्यक्रममा अध्यक्ष मगरले आदिवासीहरु अहिलेसम्म हरेकक्षेत्रमा पिछडिएको स्थितिमा रहेको भन्दै अघि बढ्नका लागि एकजुट भएर लाग्नुपर्ने बताए।
संविधानसभा सदस्य तथा आदिवासी जनजाति महासंघका पूर्व महासचिवसमेत रहेका मगरले आफु आदिबासी आन्दोलनमा लामो समयसम्म लडेर नै अहिले आयोगको अध्यक्षजस्तो संवैधानिक आयोगको प्रमुख हुन सफल भएको बताए। मगरले आदिबासी जनजातिको धेरै अधिकारलाई अहिलेको संविधानले समेटेको तर, आफ्नो अधिकार आफैले नचिनेर उपभोग गर्न नपाएकोृ बताए। आदिबासीहरुको पहिचान, उत्थान र विकासमा आयोगले अग्रणी भूमिका खेल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
अध्यक्ष मगरले फोनिजमा आबद्ध पत्रकारहरुले आदिवासी जनजातिहरुको लुकेको प्रतिभा, पहिचान र संस्कार संस्कृतिको पक्षमा डटेर कलम चलाउन आग्रह गरे। उनले अरुबेला सबै मिलेर काम गर्ने आदिवासीहरु चुनावका बेला भने अरुकै पक्षमा मत दिने गर्दा अधिकार सुनिश्चित गर्न गाह्रो भईरहेको बताउँदै अरु बेलाजस्तै निर्वाचनमा पनि बिबेक प्रयोग गर्न आग्रह गरे।
कार्यक्रममा आदिबासी जनजाति महासंघ उदयपुरका अध्यक्ष गौरीशंकर उदास, फोनिज केन्द्रीय सदस्य विश्वराज तामाङ, नेपाल पत्रकार महासंघ प्रदेश पूर्व सचिव हरिकुमार राई, उदयपुरका पूर्व अध्यक्ष महेश्वर चामलिङ, पूर्व उपाध्यक्ष भोटराज राई र सम्मानित पत्रकारहरुले आदिबासीको हक अधिकार प्राप्तीका निम्ति अझै एकताबद्ध भएर अभियान छेँड्नुपर्ने मत जाहेर गरे।
उनीहरुले १० वर्षे जनयुद्धदेखि जनआन्दोलन हुँदै २०७० सम्म भएका बिभिन्न पहिचानकेन्द्रित आन्दोलन दबाउन राज्यले वार्ताको नाटक गर्दै छानविन समिति गठन गरेर बनेका प्रतिबेदनहरु कुनै कार्यान्वयन नभएको बताए। ती प्रतिबेदनहरु कार्यान्वयन गर्नसके आदिवासीहरुको आधाभन्दा बढी अधिकार सुनिश्चित हुने भन्दै त्यसका लागि राज्यलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: ३ माघ २०७८ १५:२५ सोमबार