८ वैशाख २०८१ शनिबार
समाज

आठ महिना लामो नवदुर्गा नाच सुरु

आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच (ङालाकेगु जात्रा) आइतबारदेखि भक्तपुरबाट सुरु भएको छ। प्रत्येक वर्ष भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीबाट नाच सुरु हुने परम्परा रहेको छ। जिवित देवताको रुपमा रहेको यो नाच काठमाडौं उपत्यकालगायतका उपत्यकाबाहिरका विभिन्न स्थानहरुमा प्रदर्शन हुने गर्दछ। नाच आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ।  

नाच देवगणहरुले खाली खुटामा प्रत्येक दिन फरकफरक टोलहरुमा प्रदर्शन गरिन्छ। नवदुर्गा गणका सदस्यहहरुका अनुसार नाच भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिन्छन्। भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा नाच प्रदर्शन गरिन्छन्। साथै टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गर्ने परम्परा रहेको छ।  

नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिकालगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ। साथै काठमाडौको टोखालगायतका विभिन्न स्थानमा पनि नाच देखाइन्छ। उपत्यका बाहिरको साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि नाच प्रदर्शन गरिन्छ।

नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान बनमालाका अनुसार नाचको अनौपचारिक सुरुवात भने प्रत्येक वर्ष पुसको अन्तिम दिनबाट नै हुने गर्दछ। तर औपचारिक रुपमा देखिने गरी नाच भने प्रत्येक वर्ष माघ २ गते साँंझमात्रै सुरु हुन्छ।  

नाचमा मुकुन्डो लगाएर १९ जना देवगण रहने हुन्छन्। नाचमा १३ वटा मकुन्डो रहने र मकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ। नाचमा भैरव, महाकाली, बाराही, गणेश, ब्रम्हयणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन्। नाचको क्रममा बाजा बजाउनेसमेत गरिन्छ।  

परम्परागत वेषभूषामा देवगणको प्रतिकका रुपमा सजिएका व्यक्तिले नाङ्गो खुट्टाले नै नाच प्रदर्शन गर्नुपर्छ। साथै नाचको क्रममा घरपरिवारसँंग छुटिएर वस्नुपर्ने, खानामा बार्नुपर्नेलगायतको परम्परा छ। यी लगायत आर्थिक कारणले नाच संकटमा रहेका नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्यहरु बताउँंछन्।  

नाचका लागि आर्थिकलगायतका विभिन्न समस्याहरु रहेकोले सहयोग हुनुपर्ने माग देवगणहरुले गरे। टोलटोलमा नाच देखाइने भएकाले स्थानीयस्तरका नगरपालिकाका, गाउँंपालिकाहरुले सहयोग पुर्‍याउनुपर्नेमा उनीहरुको विशेष जोड छ। नाच प्रदर्शन गर्न जाने देवगणहरु यस्तो जाडामो पनि खुला आकाशमुनि त्यतिकै सुत्नुपर्नेलगायतका बाध्यता रहेको उनीहरुले सुनाए।  

प्रख्यात मल्लकालीन नवर्दुगाको यो नाचलाई स्थानीय नेपाल भाषामा ङालाक्येगू भनिन्छ, जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भन्ने हुँंदैन। मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ। यो जात्रामा दर्शकले सिठ्ठी बजाउँंदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा...गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्दछन्। लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ। यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रुपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ। यही नै जात्राको मुख्य आकर्षणसमेत हो।

जानकारहरुका अनुसार मल्लकालबाटै सञ्चालन भएको भने तापनि यो नाच कहिलेबाट सुरु भयो यसको ठोस प्रमाण अझै प्राप्त गर्न सकिरहेको छैन। तर पनि मानव सभ्यताको मातृ सत्तात्मककालदेखि देवीहरूको समूहबाट मानव समाजको बारेमा दिशानिर्देश गराउन जात्रा सञ्चालनमा आएको अनुमान गरिएको छ।

प्रकाशित: २ माघ २०७८ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App