८ वैशाख २०८१ शनिबार
समाज

‘खराब भवन र संरचनाइतर उपायको अभाव भूकम्पमा बढी क्षति हुने कारण’

ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयमा भूकम्प सुरक्षा सम्वन्धी सचेतना कार्यक्रम मनाइँदै। तस्बिर: नागरिक

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले खराब भवन र संरचनाइतर उपायको अभावलाई भूकम्पबाट हुने प्रमुख क्षतिका कारण औंल्याउँदै यस्ता असुरक्षित प्रचलनबाट सचेत रहन आग्रह गरेको छ।  

२४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सार्वजनिक अपिल गर्दै प्रशासन कार्यालयले प्राकृतिक रुपमा भूकम्प जानुबाट आफैंमा जनधनको क्षति नहुने भएकोले खराब भवन र संरचनाइतर उपायको अभावलाई हटाउन सबैमा अपिल गरेको हो। 

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भूकम्पको बेला खस्ने बस्तुहरु मृत्यु अथवा चोटपटकका मुख्य कारण हुने औंल्याउँदै यस्ता बस्तुहरुलाई हतपत खस्न नदिने गरी संरक्षण गर्नु हरेक परिवारको दायित्व हुने बताए।  

भूकम्प आएको बेला सुरक्षित रहने सबैभन्दा उत्तम उपाय भनेकै घुँडा टेकेर गुडुल्किने र ओत लागेर बस्ने रहेको समेत प्रशासन कार्यालयले बताएको छ। ओत लाग्ने ठाउँ नभएको अवस्थामा टाउको र घाँटीलाई सुरक्षित गर्न, भूकम्प आएको बेला शान्त रहन र चिच्याउने र ठूलो आवाजले कराउने कार्य नगर्न समेत प्रशासन कार्यालयले आग्रह गरेको छ। 

बढी कोलाहल र चिच्याहटले मानिसको शरीरमा भएको उर्जा कम गराउने तथा अक्सिजनको मात्रा समेत बढी रुपले खर्च हुने भएकोले शान्तपूर्वक सुरक्षित उपायको खोजीमा लाग्न समेत प्रशासनले आग्रह गरेको छ। 

भूकम्प रोकिएपछि त्यसको क्षतिबाट नयाँ जोखिमहरु उत्पन्न हुन सक्ने भएकोले जोखिम कम गर्नका लागि मानिसले सावधानी अपनाउनुपर्ने, चर्किएका एवम् भत्किएका घरसहितका संरचना भित्र बस्न नहुनेतर्फ समेत प्रशासनले सबैलाई सचेत गरेको छ।

प्रकाशित: २ माघ २०७८ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App