१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेलवे ट्रयाक निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग

रौतहटको सन्तपुरमा निर्माण भइरहेको रेलवे ट्रयाकमा व्यापक मात्रामा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको छ। लामा गोल्डेनगुड बिरुवा जेभीले निर्माण गरिरहेको रेलवे ट्रयाकमा गुणस्तरहीन सामग्रीको प्रयोग हुनुको साथै नियमविपरीत काम भइरहेको देखिएको छ।

आवश्यक मात्रामा मिक्स ग्रावेल र रोलिङ दुवै नभएको स्थानीयको आरोप रहेको छ। रेलवे ट्रयाकको निर्माण सुरु भएदेखि नै निर्माण कम्पनीले मिक्स ग्रावेल र माटो राखेर हरेक १५ सेन्टिमिटरमा रोलिङ गर्नुपर्नेमा नियमानुसार रोलिङ नगरेको स्थानीयको आरोप छ। यसैगरी मिक्स ग्रावेल र माटोको ठाउँमा कम्पनीले पाँगो बालुवा प्रयोग गरेर ट्रयाकबेड निर्माण गरेको पाइएको छ।

पूर्व–पश्चिम रेलमार्गको बर्दीबास–निजगढ खण्डअन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा निर्माण भइरहेको रेलवे ट्रयाकमा व्यापक अनियमितता भएको स्थानीय विजय कार्कीको आरोप रहेको छ। रौतहट सदरमुकाम गौर–चन्द्रपुर राजमार्गको दुवैतिर निर्माण गरिरहेको रेलवे ट्रयाकको अनुगमन गर्ने कोही नहुँदा जथाभावी गुणस्तरहीनको सामग्री प्रयोग गरिएको काकी बताउँछन्।

रेलमार्गको निर्माणको अनुगमन रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बदीबास खण्ड साइट कार्यालय लालबन्दीले गर्नुपर्ने हो। तर साइड कार्यालयका प्राविधिक अनुपस्थित रहँदा निर्माण कम्पनीले कमसल सामग्रीको प्रयोग गर्दै काममा लापरवाही गरेको पाइएको छ।

माटो पुर्ने, ब्लांकेटिंग, लिंक निर्माण, पर्खाल तथा कल्भर्ट निर्माणमा कम्पनीले सम्झौता विपरीत काम गरिरहेको छ। सम्बन्धित निकायले समयमा अनुगमन नगर्दा रेलवे ट्रयाकको निर्माणमा खुल्लमखुल्ला गुणस्तरहीन काम भइरहेको स्थानीय सुबास कोइरालाको भनाइ छ।

रेलवे ट्रयाकको यति महत्वपूर्ण काममा व्यापक लापरवाही भइरहँदा पनि सम्बन्धित निकायले अनुगमनमा वेवास्ता गरेको पाइएको छ। समयमा अनुगमन नहुँदा कमसल सामग्रीको प्रयोग गर्ने तथा निर्माणको लागि सम्झौताका अन्य शर्तहरु पनि पालन नभएको देखिएको छ।

आयोजनाको सुरुदेखि नै सन्तपुरमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको विषयमा स्थानीयले गुनासो गर्दै आएका छन्। गुनासो बढेपछि रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दीबास खण्ड साइट कार्यालय लालबन्दीका इन्जिनियर बोध भन्डारीले निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि हटाएर पुनः सम्झौताअनुरुप राख्न निर्देशन दिएको बताएका छन्।

प्रकाशित: १ माघ २०७८ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App