९ माघ २०७८ आइतबार
समाज

फेवाताल जोगाउन ‘साबो ड्याम’

अँधेरीमा बनाइएका ‘साबो ड्याम’ले दुईवर्षमै एकलाख क्यूबिक मिटर नदीजन्य सामाग्री रोक्यो

फेवाताल सिरानको अँधेरी खोलामा बनाइएको ड्याम। यो ड्यामका कारण फेवातालमा ढुंगा, गिट्टी मिसिनबाट रोकिएको। तस्बिरः नागरिक

अघिल्लो वर्ष वर्षायाममा फेवातालको सिरान क्षेत्रमा एकैपटक ३२ ठाउँमा पहिरो झ¥यो। ती मध्ये अधिकांश पहिरोसँगै बगेका ढुंगा, गिट्टी बालुवा सिधै फेवातालमा मिसियो। तर, अँधेरी खोलाको सिरान क्षेत्रबाट बगेर आएको नदीजन्य सामाग्री भने बीचैमा रोकिन पुग्यो।  

सबैतिरको नदीजन्य सामाग्री तालसम्म मिसिन आइपुग्दा अँधेरी खोलामा बगेको सामाग्री भने सिरानक्षेत्रमै रोकिन सक्यो। पहिरोस्थलमै नदीजन्य सामाग्री रोकिनुमा कारण थियो–त्यही वर्ष अँधेरी खोलामा निर्माण भएका चेकड्याम। एउटै खहरेमा चेकड्याम बनाउँदा विगत दुईवर्षदेखि अँधेरी खोलाको सिरान क्षेत्रबाट बगेर फेवातालमा मिसिने ढुंगा, माटो, गिट्टी सिरानमै रोकिएको छ।  

करिब एकलाख क्यूबिक मिटर नदीजन्य सामाग्री अँधेरीको सिरानमै रोकिएको प्राविधिकहरुको अनुमान छ। खासमा अँधेरी खोलामा चेकड्यामको आवश्यकता २०७२ को बाढीपछि महसुस गरिएको थियो। २०७२ साउन १४ मा भीषण बाढी आउँदा कास्कीको लुम्ले र फेवाताल सिरान क्षेत्रमा ठुलो मानवीय सहित भौतिक क्षति पुगेको थियो। त्यो वर्ष सिरान क्षेत्रबाट बगेको ठुलो परिमाणको नदीजन्य सामाग्री तालमा मिसिएको थियो।  

त्यही पहिरोको क्षतिपछि तत्कालिन जल उत्पन्न प्रकोप व्यवस्थापन विभागले अँधेरी खोलामा चेकड्याम बनाउने महसुस गरेर अध्ययन थालेको थियो। विभागको अध्ययनपछि खोलामा चेकड्याम बनाउन थालिएको थियो। त्यसपछिका वर्षायाममा अँधेरीको माथिल्लो क्षेत्रबाट बगेर आउने बढेमानका ढुंगा, गिट्टी सिरान क्षेत्रमै रोकिएको छ। चेकड्यामभन्दा तल्लो भेगबाट बगेको पहिरोको ढुंगा, गिट्टी मात्र तालसम्म बग्न पाएको छ।  

एउटै खोलामा चेकड्याम बनाएकोले दुइवर्षको अवधिमा करिब एकलाख क्यूबिक मिटर नदीजन्य सामाग्री माथि नै रोकिएको प्राविधिकहरु बताउँछन्। पोखरा महानगरपालिकाले दुईवर्ष अघि नै अँधेरीकै पुछारमा सिल्टेसन ड्याम बनाएपनि त्यसले बाढी रोक्न नसक्दा भेलबाढीमा बगेको सामाग्री सिधै तालमा मिसिएको थियो। महानगरले बनाएको ड्यामले त वर्षाको भेलको भारसमेत थाम्न सकेको थिएन।  

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा रहेर अँधेरीको पहिरो अध्ययन गरेका र हाल सिंचाई तथा जनश्रोत विभाग अन्तर्गतको जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनामा रहेका सिनियर डिभिजनल इन्जिनियर श्रीकमल द्विवेदीका अनुसार फेवातालको सिरान क्षेत्रको एउटै खहरेमा चेकड्याम बनाउँदा ठुलो परिमाणमा ढुंगा, गिट्टी तिालमा मसिन रोकिएको थियो। ‘लुम्लेको पहिरोपछि हामीलाई अँधेरी खोला आसपासको पहिरो रोक्न सिरान क्षेत्रमै चेकड्याम आवश्यक महसुस भएको हो,’ द्विवेदीले भने, ‘अँधेरी खोला फेवातालको मानवीय जीवनसँग सम्बन्धित छ। सिरान क्षेत्रबाट जति बढी ढुंगा, गिट्टी तल झ¥यो, तालको आयु उत्ति कम हुन्छ भन्ने सोचेर सिरानमै चेकड्याम बनाएका हौ।’ त्यो समयमा अँधेरीको ढुंगा, गिट्टी पनि बगेर तालमा मिसिन दिएको भए सायद तालको आयु अझै कम हुने उनको भनाई छ।  

उनका अनुसार यस्तो ड्यामले ढुंगा र गिट्टी मात्र बग्नबाट रोक्छ, पानी भने रोक्दैन। विभागले त्यो बेला अँधेरीमा ३ मिटर उचाँइका ३० मिटर लामो चारवटा ड्याम बनाएको थियो। ‘ड्याम भरिएर पनि दुईमिटर माथिसम्म ढुंगा अडिएका छन। त्यो बेला नरोकेको भए तालको आयु झनै कमजोर हुने रहेछ,’ उनले भने, ‘खोलाको सतह माथि आउन पनि दिन हुँदैन र गहिरिन पनि दिनुहुन्न भनेर हामीले त्यो बेला ड्याम बनायौं। त्यसले गर्दा ताललाई केही राहत भयो।’ उनका अनुसार २ सय मिटरको दूरीमा ती चारवटा ड्याम छन। ती सबै ड्याम भरिएका छन। करिब दुईकरोड रुपैयाँ खर्चेर त्यो बेला ड्याम बनाएको उनले बताए। द्विवेदीका अनुसार यस्तो विधिलाई ‘साबो ड्याम’ भनिन्छ। जापानमा बढी प्रयोगमा ल्याइएको यो विधि फेवाताल जोगाउने उत्तम औषधि सरह मानिने उनले बताए।  

‘फेवातालको जलाधार क्षेत्रमा वर्षेनी पहिरोको समस्या छ । जलाधार क्षेत्रका सबैजसो खहरेमा यस्तै ड्याम बनाउने हो भने यसले तालको आयु केहीवर्ष बढाउन सघाउँछ,’ उनले भने, ‘यस्ता ड्याम सिरानमै बनाउने हो। खोलाको पुछारमा बनाएर खासै अर्थ राख्दैन।’ 

उनका अनुसार ड्याम बनाएपछिका वर्ष त्यो क्षेत्रमा अझै भीषण पहिरो झरेको थियो। ‘ड्यामभन्दा करिब ५ सय मिटर माथिसम्म ढुंगा, गिट्टी रोकिएको छ। ड्याम मुनिको सामाग्री भने तल बगेको छ’ उनले भने, ‘अब ती ढुंगा निकालेर कतै उपयोग गर्नेबारे स्थानीय तहले सोच्न सक्छन।’  

अहिले भरिएको सामाग्रीलाई निकालेर वर्षायामसम्म खाली गर्ने हो भने आगामि दिनमा पहिरो झर्दा पुन माथि नै रोक्न सकिने उनले बताए। ‘यस्ता संरचना जलाधार क्षेत्रमा आवश्यक पर्छ। तर, यसमा ध्यान दिइएको छैन,’ उनले भने। पहिरो झर्ने सम्भावित ठाउँमा पनि यस्ता संरचना निर्माण गर्नुपर्ने उनले सुझाए। ‘अहिलेसम्म पहिरो झरेपछि रेस्पोन्समा गएका छौ। तर अब डुंगा, गिट्टी उत्पत्ति हुने ठाउँ पहिचान गरेर त्यही माथि रोक्ने पहल गर्नुपर्छ,’ उनले भने।  

ड्याम बनाएको ठाउँ अन्नपूर्ण गाउँपालिका–३ मा पर्छ । गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार फेवातालको जलाधार क्षेत्रमा यस्ता ड्याम आवश्यक पर्ने भएपनि त्यसतर्फ ध्यान नदिइएको बताए। ‘जलाधार क्षेत्रको खहरेमा सयौं ड्याम आवश्यक पर्छ। किनकी यस्ता ड्यामले गर्दा फेवातालको आयु लम्ब्याउन सघाउँछ भन्ने पुष्टि भएको छ,’ कुँवरले भने, ‘कम चर्चा पाएको एउटै खोलाको यो संरचनाले ताललाई राहत दिएको छ।’ 

यस्ता प्रकृतिका ड्याम तालको जलाधार क्षेत्रमा अरु ठाउँमा नरहेको पनि उनले बताए। उनका अनुसार अहिलेसम्मको अभ्यासमा पहिरो रोक्न फलामे जाली मात्र लगाउने गरिएको छ। तर, अँधेरीको यो विधि पहिरो रोक्न र ढुंगा, गिट्टी तालमा मिसिन नदिन निकै नै गजबको विधि रहेको पनि अध्यक्ष कुँवरले बताए। अहिले ड्याममा संकलित ढुंगा, गिटी गाउँपालिकाले निकालिरहेको पनि अध्यक्ष कुँवरले जानकारी दिए।

प्रकाशित: ३० पुस २०७८ १५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App