८ वैशाख २०८१ शनिबार
समाज

किशाेरी हत्याका आरोपी २० वर्षपछि पक्राउ

प्रहरीले किशाेरी हत्याका आरोपीलाई दुई दशकपछि पक्राउ गरेको छ। जिल्लाकै साविक पशुपतिनगर–३, जिल (हाल सूर्याेदय नगरपालिका–३)का ४१ वर्षे गोरे भनिने मनकुमार राईलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

पशुपतिनगर–३, जिल नै माइतीघर भएकी १८ वर्षीया रोजिना राईको २०५८ माघ ६ गते साँझ घाँटी रेटी हत्या गरिएको थियो। तर, उनको हत्या कसले र किन गर्‍याे भन्ने पत्ता लाग्न सकेको थिएन। अनुसन्धान गर्दैजाँदा मनबहादुरले उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। ‘आरोपीले हत्या आफूले गरेको स्वीकार गरेका छन्,’ प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले भने, ‘घटनाको प्रकृति, पहिलाको अनुसन्धान र आरोपीले गरेको बयान पनि मिलेको हुनाले हत्या उनीबाटै भएको देखिन्छ। थप अनुसन्धान भइरहेको छ।’

मनकुमारलाई गत १६ गते उनकै घरबाट पक्राउ गरी १८ गते अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी थापाले बताए। ‘अनुसन्धान करिब अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अदालतमा बुझाउने तयारीमा छौं।’

सूर्याेदय नगरपालिकाकै कन्याम घर भएकी रोजिनाको माइत गएका बेला हत्या गरिएको थियो। घटनाविवरणअनुसार २०५८ माघ ६ गते साँझ ८ बजेतिर पशुपतिनगर–३, जिलकी भीममाया राईको गाईगोठमा काम गरिरहेका बेला रोजिनासँग मनकुमारको भेट भएको थियो। रोजिनाकै दिदी चमेलीलाई खेताला बोलाउन जानेक्रममा भीममायाको गोठमा दुई जनाको भेट हुँदा भीममाया घरमा थिइनन्। प्रहरीका अनुसार रोजिनाकै घर जाने भएकाले मनकुमारले रोजिनालाई आफूसँगै जान आग्रह गरे। उनले मानिनन्। मनकुमारले जबर्जस्ती तानेर लगे।  

अलि पर पुगेपछि रोजिना सडकबाट लडिन्। अलि तल बाँसघारीमा पुगिन्। ‘रोजिना रुन, चिच्याउन थालेपछि मनकुमारले आफूमाथि गलत आरोप लाग्ने देखेर रोजिनासँगै रहेको हँसियाले उनकै घाँटी रेटेर हत्या गरेको देखिन्छ,’ डिएसपी थापाले भने, ‘त्यसबेला आफूले यौनजन्य सोचसमेत राखेको संकेत मनकुमारले बयानमा गरेका छन्।’ रोजिनाको पोस्टमार्टम रिपोर्टमा यौन गतिविधिबारे केही नलेखिएपनि घटना र शवको प्रकृति मुचुल्कामा उनको यौनांगबाट रगत आएको उल्लेख रहेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार घटनापछि मनकुमार आफूले प्रयोग गरेको हँसिया खोल्सीमा फ्याँकेर खोर्सानी र तरकारीको दाम उठाउन भारतको सुकिया बजार गए। साँझ मानेभञ्ज्याङ, गोर्खे हुँदै सानो बांगिनमा आएर आफ्नी दिदी सुकमती राईको घरमा बसेका थिए। उनी घरमा आइपुग्दा रोजिनाको शव पोस्टमार्टमका लागि लगिसकिएको र अहिलेसम्म आफूले कसैलाई केही नभनी बसेको बताएको प्रहरीले जनाएको छ।

पुराना घटनाका दोषी र आरोपी खोजी गर्दै पक्राउ गर्नेक्रममा प्रहरीले २० वर्षअघिको घटनामा सफलता हात पारेको एसपी श्रेष्ठले बताए। ‘हामी अहिले पनि पुराना मुद्दाका फरार दोषी र आरोपीको खोजीमा छौं,’ उनले भने, ‘यसक्रममा सफलता मिलिरहेको छ।’

प्रकाशित: २८ पुस २०७८ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App