coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेचविखनको ‘ट्रान्जिट प्वाइन्ट’ जमुनाह

सल्यानकी २५ वर्षीय युवती नेपालगन्जस्थित जमुनाह हुँदै भारत छिरिन्। करिब भदौमा घरबाट निस्किएकी उनको अवस्था कस्तो छ र कहाँ छिन्?, आफन्तलाई अत्तोपत्तो छैन। ‘उनी बेचिइन् वा कतै दुःखमा छिन्, अहिलेसम्म सम्पर्कमा आएकी छैनन्,’ यही विषयलाई लिएर उनका आफन्त विभिन्न निकाय धाउन छाडेका छैनन्। उनी मात्र होइन, पछिल्लो तथ्यांकअनुसार नेपालगन्जस्थित जमुनाह नाका प्रयोग गरेर पाँच २५ जना महिलाहरुलाई भारत पुर्याइएको छ।

तीमध्ये दुई सय तीनजना परिवारको सम्पर्कमा आएका छन् भने तीन सय २२ जना महिलाको अवस्था अहिले पनि अज्ञात छ। माइती नेपाल नेपालगन्जले २०२१ को अन्तिम दिन अर्थात् शुक्रबार सार्वजनिक गरेको तथ्यांक हेर्दा पछिल्लो समय जमुनाह नाका मानव तस्कारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। पहाडी क्षेत्रबाट महिलाहरुलाई सहजै यो नाकाबाट भारत जान सजिलो हुँदा पनि मानव तस्करहरु यो सीमा नाका प्रयोग गर्ने गरेका छन्।

माइती नेपाल नेपालगन्जमा पाँच सय २५ जनाका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए। योबाहेक अरु धेरै महिलाहरु पनि यही नाका हुँदै भारतमा बेचिने गरेका छन्। यसमध्ये अधिकांश भारतमा रोजगारीका लागि जानेहरु नै छन्। मानव तस्करहरुले गाउँगाउँमा गएर विभिन्न प्रलोभनमा पार्ने र काम लगाइदिने भन्दै महिलाहरुलाई भारत प्रवेश गराउँछन्।

यसरी भारत गएका महिलाहरु सम्पर्कविहीन हुने गरेको प्रहरीले जनाएको छ। नेपालगन्जस्थित जमुनाह नाकाबाट भारत तथा तेस्रो मुलुकमा पुगेका नेपाली महिला घर परिवारको सम्पर्कमा नआउने गरेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए। ‘प्रायः वैदेशिक रोजगारमा गएकाहरु फर्केर नआएको, धेरै समयसम्म सम्पर्कमा नभएको वा अति नै दुःख पाएको भन्दै रोएर फोन गरेपछि हामीलाई खोजतलास र उद्दारका लागि निवेदन दिने गरिन्छ,’ कोइरालाले भने, ‘हामीले सकेसम्म उद्दार गर्छौं।’ खोजतलासका लागि निवेदन दिएकामध्येमा फेला परेका दुई सय तीनजना भने भारत र नेपालमै फेला परेका उनले जनाए।

माइती नेपाल नेपालगन्जका प्रमुख कोइरालाका अनुसार खोजतलासका लागि निवेदनलाई हेर्दा बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, सल्यानका बढी छन्। त्यसमध्ये पछिल्लो तथ्यांकमा सबैभन्दा बढी जोखिम सुर्खेतमा रहेको कोइरालाले बताए। माइती नेपालको तथ्यांकमा यसरी हराउने ब्राम्हण क्षेत्री अगाडि छन्। त्यसपछि दलित, जनजाति र आदिवासी छन्। उमेर समूहका अनुसार १८ वर्षभन्दा मुनिका दुई सय ५५ जना छन्। मानव बेचविखनका लागि नेपालगन्ज र बर्दिया नाकालाई दलालले प्रयोग गर्ने गरेको पाइन्छ।

कोइरालाका अनुसार, जोखिमपूर्ण यात्रामा निस्केका चार सय ३४ जनालाई माइती नेपालले नाकाबाट फिर्ता गरेको छ। बेचविखनविरुद्धमा कानुनी कारबाही भने कमै हुने गरेको छ। जोखिममा परेका पीडितले नै प्रलोभनमा परेर दलाललाई बचाइदिने गरेको पाइन्छ।

दलाललाई कारबाही गर्छु भनेर लाग्ने पीडित अन्तिममा आएर बयान फेर्ने गरेको कोइरालाले जानकारी दिए। यो वर्ष तीनजना पुरुषको समेत उद्दारका लागि उजुरी आएको उनले बताए।

प्रकाशित: २८ पुस २०७८ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App