१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बहराइनमा महिला बेच्ने बीस वर्षपछि पक्राउ

बहराइनको एक अस्पतालमा जागिर लगाइदिने भन्दै महिलालाई घरेलु कामदारका रूपमा बेचेको आरोपमा एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन्।

सोलुखुम्बुकी दुर्गामाया राईलाई बहराइनको अस्पतालमा जागिर लगाइदिने भन्दै घरेलु कामदारका रूपमा बेच्ने खोटाङका चन्द्रदीप राई पक्राउ परेका हुन्। नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले उनलाई बिहीबार पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। दुर्गामायालाई बहराइनमा बेचेपछि उनका पति भूपध्वज राईलाई समेत चन्द्रदीपले मार्ने प्रयास गरेका थिए।

प्रहरीले चन्द्रदीपलाई पक्राउ गरेपछि आइतबार पीडित दुर्गामाया र भूपध्वजबाट सनाखत गराइसकेको छ। प्रहरीले चन्द्रदीपलाई सार्वजनिक भने गरेको छैन। ‘मानव बेचबिखन मुद्दामा अनुसन्धान हुँदैछ। वैदेशिक रोजगारीमा पठाएर अलपत्र पारिएको रहेछ’, ब्युरो प्रमुख एसएसपी दुर्गा चन्दले बताइन्।

चन्द्रदीपले २०५८ माघमा झुक्याएर दुर्गामायालाई घरेलु कामदारका रूपमा बहराइन पठाएका थिए। त्यति बेला बहराइनलगायतका खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा जान प्रतिबन्ध थियो। चन्द्रदीपले बहराइनको अल हुब्बेन मेनपावर कम्पनीसँग पैसा लिएर घरेलु कामदारका रूपमा दुर्गामायालाई पठाएका थिए। ‘मलाई अस्पतालमा काम मिलेको छ, तपाईं नगए म अर्को मानिसलाई पठाउँछु भनेका थिए।

तर त्यहाँ पुग्दा आफूलाई बेचिएको पाएँ’, दुर्गामायाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ। बहराइन पुगेपछि आफूलाई घरेलु कामदारको रूपमा एक निजी घरमा लगिएको र त्यहाँ कुटपिट तथा यौन दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ।

उनले आफूलाई दुव्र्यवहार गरिएपछि घरमा श्रीमान्लाई खबर गरेकी थिइन्। त्यसपछि परराष्ट्र मन्त्रालयमार्फत दूतावासको सहयोगमा उनको उद्धार गरी नेपाल ल्याइएको थियो। नेपाल आएपछि उनले वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीमा उजुरी गरेकी थिइन् तर चन्द्रदीप पक्राउ पर्न सकेका थिएनन्।

चन्द्रदीपका मान्छेले दुर्गामायासँग मेलमिलापको प्रस्ताव राखेको स्रोतले जनाएको छ। तर दुर्गामायाले आफूलाई बिक्री गरेको र नेपालमा श्रीमान्लाई समेत मार्न खोजेकाले दुवै कसुरमा सजाय हुनुपर्ने माग गरेकी छन्।‘मेरी श्रीमतीलाई म नभएको बेला झुक्यानमा पारी बहराइन पुर्‍याएर बेचेको र नेपालमा मलाई समेत आक्रमण गरी मार्ने प्रयास गरिएको थियो।प्रहरीले बीस वर्षपछि पक्राउ गरेको छ। अब त कानुनी कारबाही हुन्छ कि भन्ने आश गरेका छौं’, भूपध्वजले भने।

काठमाडौंको ज्ञानेश्वरमा चिया पसल गर्ने राईको पसलमा चिया खाजा खाने निहुँमा पुगेका चन्द्रदीपले दुर्गामायालाई ८ सय डलर लिएर बेचेका थिए। बहराइनमा पुगेपछि दुर्गामायाले आफूलाई अस्पतालमा काम गर्न ल्याएकाले घरमा काम नगर्ने भन्दा कुटपिट गरिएको थियो। त्यहाँको मेनपावर कम्पनीले ८ सय डलरमा किनेको प्रमाणसमेत देखाएको थियो।

जुन प्रमाण तत्कालीन समयमा राजदूतावासले दुर्गामायालाई उपलब्ध गराएको थियो। प्रहरीलाई दिएको जाहेरीमा सो प्रमाण पनि पीडितले पेस गरेकी छन्। प्रहरीले यी सबै विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। ‘हामी अनुसन्धान गरिरहेका छौं। बाँकी केही समयमै बताउछौं’, एसएसपी चन्दले भनिन्।

दुर्गामायालाई बहराइनबाट फर्काउन लागेको थाहा पाएपछि चन्द्रदीपले भूपध्वजलाई कुटपिट गरी हत्या प्रयास गरेको उजुरी प्रहरीमा छ। २०५९ साउन ४ गते चन्द्रदीपले एक समूह नै लगी भूपध्वजलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।

उनीमाथि धारिलो हतियार प्रयोग गरी बेहोस बनाएको अवस्थामा आफन्तले शिक्षण अस्पताल पुर्‍याएका थिए। ‘मेरी श्रीमतीलाई बहराइनमा बेचेको थाह पाएपछि मैले श्रम विभागमा उजुरी दिएको थिएँ। सो कुरा थाहा पाएपछि मलाई ज्यान मार्ने धम्की दिँदै आएको चन्द्रदीप र उसका केटाहरूले मेरो होटलमा आएर ममाथि खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए’, भूपध्वजले भने। चन्द्रदीपले गरेको अन्यायविरुद्ध धेरै ठाउँ गए पनि प्रहरीले पहिला बेवास्ता गरेको भूपध्वजको गुनासो छ।

प्रकाशित: २७ पुस २०७८ ००:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App