१० माघ २०७८ सोमबार
समाज

मान्छे खाने बाघलाई नियन्त्रणमा लिन खेलाची गरेको आरोप

बाँकेको राप्तीसोनारी १ गाभरमा केही महिनाअघि फेला परेको पाटेबाघ। फाइल तस्बिर

बाँकेको राप्तीपारी दिनहुँ आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिन ‘खेलाची’ भइरहेको छ। बाघले दुई दिनको फरकमा राप्ती सोनारी गाउँपालिकामा दुई महिलाको ज्यान लिनुका साथै थुप्रै व्यक्तिलाई आक्रमण प्रयास गरेपनि नियन्त्रणमा लिन खेलाची गरिएको स्थानीय बासिन्दा बताउँछन्।

बाघले शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो। बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ। यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक÷एक जनाको मृत्यु भएको थियो।

बाघले विगत एक हप्तादेखी भने राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथी निरन्तर आक्रमण गर्दै आएको छ। बाघको श्रृंखलावद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय अहिले निकै त्रसितमा छन्।  

बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखि राप्तीपारी क्षेत्रमा दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ। बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्र अन्र्तगत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन्।

तर, बाघ नियन्त्रणका लागि अहिलेसम्म कुनैपनि निकायले गम्भिरता नदेखाएको स्थानीय बासिन्दाको आरोप छ। राप्ती सोनारी ३ का स्थानीय सन्तोष चौधरीले सरकारी निकाय कसैले पनि बाघलाई नियन्त्रणमा लिन चासो नदेखाएको बताए। उनले भने, ‘सम्बन्धित निकाय कसैले पनि बाघलाई नियन्त्रणमा लिन चासो देखाएनन्, बाघले दिनहुँ मान्छे मारिरहेको छ, यसरी जनताहरु कति दिनसम्म त्रसित भएर बसिरहने?’  

राप्ती सोनारी ५ का वडाअध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा लिनु नै सबैभन्दा उत्तम उपाय भएको बताउँछन्। ‘निकुञ्ज र वन कार्यालयले वन जंगलभित्र प्रवेश नगर्नुस् मात्रै भनेको छ, तर मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिन चासो देखाएका छैनन्,’ उनले भने। अधिकांस जनता कृषि पेशामा आवद्ध रहेकाले वन, जंगलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाअध्यक्ष थारु बताउँछन्।  

राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बाघलाई चाडोभन्दा चाडो नियन्त्रणमा लिएर जनतालाई त्रासबाट मुक्त गर्न आफुले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताए। ‘बाघलाई नियन्त्रणमा लिएर अन्यत्र नलैजादाँसम्म यो ठाउँमा यस्ता घटना दोहोरिरहन्छन्,’ उनले भने,‘सम्बन्धित निकायले तत्काल बाघलाई नियन्त्रणमा लिने काम गरुन्, जनताहरु सधैँभरी यसरी त्रासमा बस्न सक्दैनन्।’ जनताको जीवनसँग जोडिएको विषयलाई गम्भिरताका साथ लिनुपर्नेमा चासो नदेखिएको हो कि भन्ने शंका जागेकोे गाउँपालिका अध्यक्ष थारु बताउँछन्।  

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण गर्ने तयारी भएपनि प्राविधिक टोली आउन ढिलो भएको बताए। बाघलाई नियन्त्रण गर्नका लागि चितवन र बर्दियाबाट दुई वटा टोली आइतबार नै बाँके आइपुग्नुपर्ने हो, तर प्राविधिक टोली त्यता पनि बाघ सम्बन्धी काममै ब्यस्त भएको हुँदा समयमा आउन सकेनन्,’ उनले भने।

बाघले मानवीय र पशु चौपायामा निरन्तर क्षति गर्न थालेपछि कार्यालयले माइकिङ र स्थानीय एफ.एम. रेडियोमार्फत प्रचार प्रसार गरिरहेको बताए। यस्तै निकुञ्जबाट ल्याइएका हात्ती र कर्मचारी टोलीले नियमित गस्ती गरिरहेको जानकारी दिए। ‘जनतामा सचेतना फैलाउने र हात्तीमार्फत गस्ती गर्ने काम भइरहेको छ, वन प्रवेशलाई निषेध गर्ने कुरामा सबै पक्षबाट सहयोग भइरहेको छ,’ उनले भने, ‘बाघ नियन्त्रण र ब्यवस्थापन गर्ने काम प्राविधिक टोली आएपछि हुनेछ।’  

बाघलाई नियन्त्रण र व्यवस्थापन गरिदिन संघीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष लगायत निकायसँग आग्रह गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रकाशित: २५ पुस २०७८ १९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App