मलको चरम अभाव भएका बेला किसानलाई केही राहत हुने सोच राखेर भारतीय नागरिकसमक्ष सुनसरी गढी वडा नं. ६ का सत्यनारायण साहले बिक्रीका लागि मल भित्र्याए। उनले किसानलाई मल बिक्री गरे। तर मल यूरियामा नुन मिसावट भएको पुष्टि भएपछि साहलाई प्रहरीले पक्राउ गरि कारबाही गर्यो।
अहिले साह कानूनी प्रक्रिया पुर्याएर छुटेका छन्। उनले भारतबाट आउने मल बिक्री गर्न छाडेका छन्। यहाँका किसानले लगाएको गहुँ, तोरी, मकैका लागि मल डिएपी र यूरिया नपाउँदा समस्यामा परेका छन्।
‘सरकारले मल दिँदैन, भारतबाट ल्याउन प्रहरीले दिँदैन, अनेक उपाय रचेर ल्याउँदा पनि यूरियामा त नुन मिसिएको पाइन्छ,’ गढी गाउँपालिका वडा नं. ३ का किसान रामदेव यादवले भने, ‘एक सातादेखि मलका लागि दौडधुप गर्दा मल पाएको छैन।’ उनले मलका लागि पटकपटक कृषि सामग्री संस्थान विराटनगरमा पनि पुगे। गाउँपालिकालाई मलका लागि पहल गर्न आग्रह गर्दै पुगे। तरपनि मल पाएका छैनन्। ‘खै यो वर्ष मलको आश गर्दागर्दै बित्लाजस्तो छ,’ उनले भने, ‘यसपटक गहँु बिग्रिएर नास हुने भो।’
सामान्य किसानमात्र होइन, पहुँचवाला र गाउँ समाजका अगुवासमेत मलका लागि कृषि सामग्री संस्थान धाउँदा मल पाएका छैनन्। ‘गहुँमा लगाउन यूरिया नपाएपछि सारै समस्या भएको छ,’ गढी गाउँपालिका उपाध्यक्ष राजकुमार चौधरीले भनिन्। उनका अनुसार कृषि सामग्री संस्थानले गाउँपालिकालाई सीमित मल उपलब्ध गराउने गरेपनि त्यो धेरै किसानलाई थोरै थोरै बाढ्दा सकिने गरेको छ।
हरिनगरका किसान छेदी यादवले खेतमा पानी लाएको तीन साता बितिसक्दा पनि युरिया र डिएपी पाएका छैनन्। सहकारी संस्था लिमिटेड हरिनगरका अध्यक्ष बद्रीप्रसाद यादवले मलखाद उपलब्ध नभएकाले किसानलाई वितरण गर्न समस्या भएको बताए।
सुनसरीका किसान मलको माग गर्दै इनरुवामामा प्रदर्शन गरेका छन्। सरकारी निकायले तत्काल मल उपलब्ध नगराए थप कडा आन्दोलन चर्काउने भएका छन्। किसान राष्ट्रिय एकता नेपालका केन्द्रीय सदानन्द साहले समयमा मलको आपूर्ति, किसान कार्डको व्यवस्था, किसान परिचय पत्र सहितका माग राखेर आन्दोलन थालेको बताए। सुनसरीमा ५५ हजार हाराहारी हेक्टर कृषियोग्य भूमि रहेको छ। मल नहाल्दा कृषि उत्पादनमा कमी आउने कृषि विज्ञ बताउँछन्।
प्रकाशित: २५ पुस २०७८ १२:५२ आइतबार