६ वैशाख २०८१ बिहीबार
समाज

१० लाख लिएर कनकासुन्दरी गाउँपालिकाको जम्बो टोली भ्रमणमा

जुम्ला कनकासुन्दरी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको टोली १० लाख रुपैयाँ लिएर एक हप्ते भ्रमणमा निस्केको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत नै भ्रमणमा निस्केपछि गाउँपालिका सुनसान छ। गाउँ कार्यपालिका सदस्य र विभागीय शाखाबाट १/१ जना गरेर २० जनाको टोली भ्रमणमा निस्केपछि स्थानीय आक्रोशित छन्।

जनप्रतिनिधिले अन्तिम कार्यकालको फाइदा उठाउँदै गाउँपालिकाको बजेटको दुरुपयोग गरेको भन्दै भ्रमण उपलब्धिविहीन हुने स्थानीयले बताएका छन्। पूर्वाञ्चल क्षेत्रका गाउँपालिकाले गरेका राम्रा कामका अनुभव आदान प्रदान गर्ने, नमुना पालिकाले स्वास्थ्य ,शिक्षा ,कृषि ,पशु तथा कानुन निर्माण, आन्तरिक आय वृद्धिका क्षेत्रमा गरेका उदाहरणीय कामहरुको अनुसरण गर्ने लक्ष्यले भ्रमण अवलोकनमा गएको कनकासुन्दरी गाउँपालिकाका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन्। तर कार्यकाल सकिने बेला गरिएको यो भ्रमणले बजेटको मात्र सत्यानाश गर्ने स्थानीय बताउँछन्। 

उपाध्यक्ष भण्डारीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १० लाख रुपैयाँ भ्रमणको लागि छुट्याइएको थियो। कोरोना महामारीका कारण गतवर्ष पूर्वनिर्धारित भ्रमण रोकिएको थियो। यो पटक जनप्रतिनिधि र कर्मचारी मिलेर ७ दिने भ्रमणमा निस्केको उनले बताइन्।

जम्बो टोलीसहित जनप्रतिनिधि भ्रमणमा गएपछि गाउँमा स्थानीय सरकारका प्रतिनिधिले कार्यकालको अन्तिम समयको सदुपयोग गर्न थालेको आरोप लगाएका छन्। अहिले गाउँपालिकाको कार्यवहाक अध्यक्षको जिम्मेवारी कनकासुन्दरी २ का वडाध्यक्ष शेरबहादुर रावतलाई दिइएको छ।

कार्यवहाक अध्यक्ष रावतले आफूलाई टोली भ्रमणमा गएको बारेमा जानकारी नभएको बताए। उनले भने,‘पहिले एक पटक मलाई पनि भ्रमणमा जानु पर्यो भनेर भनिएको थियो। मैले वडामा मेरो काम छ। गाउँबस्तीमा पुगेर जनताको सेवा गर्नुपर्छ जान पाउँदैन भनेँ,' उनले थपे,‘टोली त हिँडिहालेछ। मलाई थाहा भएन। एक्कासी कार्यवहाकको चिठ्ठी हातमा आएपछि मात्र थाहा भयो। टोली भ्रमणमा निस्किएछ।'

आफ्नै वडाको काममा व्यस्त रहेको कार्यवहाक नदिनु भन्दा भन्दै नसोधी कार्यवहाक थमाउँदा निकै कठिन भएको उनले बताए।  प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका छन्। नयाँ प्रमुख प्रशासकीय अधिकृत आइपुगेका छैनन्। निमित्त प्रमुख प्रशासकीय अधिकृत भ्रमणमा निस्केका छन्।

कार्यकाल सकिने बेला भ्रमणमा गएर गाउँठाउँको विकास निर्माण गर्छु भन्नुको औचित्य नरहेको नागरिक अगुवाको भनाइ छ। कार्यविधि सकिन करिब ३/४ महिना मात्रै बाँकी रहँदा भ्रमणमा जानु, नयाँ कुरा सिकेर गाउँको विकास गर्ने नाममा बजेट मात्रै स्वाह बनाउने मेसो हो, एक स्थानीयले भने,‘हालसम्म कुनै पनि स्थानीयतहका जनप्रतिनिधिले भ्रमणमा गएर आफ्नो गाउँठाउँमा सुधार ल्याएको जुम्लामा रेकर्ड छैन। भ्रमण अवलोकन औपचारिकतामा सीमित र राज्य कोषको दोहन मात्रै हुने गरेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए।

भ्रमण जानु नराम्रो कुरा पनि हैन। तर अहिले सम्मका भ्रमण अवलोकनले हाम्रो गाउँठाउँको विकासमा सुधार हुन सकेको छैन। यो बजेट मात्रै सकाउने प्रवृत्ति हो। अध्यक्ष महतले भने,‘अनावश्यक रुपमा कार्यकाल सकिन लाग्दा गरिएको भ्रमणको कुनै औचित्य छैन। जनप्रतिनिधिले अन्तिम मौकाको रुपमा गरिने सबै खाले भ्रमण रोकिनुपर्छ।’

भ्रमणको लागि टोली सुर्खेत नेपालगञ्ज तिर झरिसकेको छ। सारा टोली भ्रमणमा गइसक्यो। सिफारीस दिने मान्छे पनि हुने अवस्था छैन। १० लाख रुपैयाँ खर्चेर भ्रमण नगर्न पटक पटक आग्रह गरिएको भएपनि नमानेको स्थानीय अगुवाहरु बताउँछन्।

प्रकाशित: २४ पुस २०७८ १५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App