भक्तपुरको चाँंगुनारायण नगरपालिकामा चराहरुको गणना सुरु भएको छ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा विगत लामो समयदेखि चराको अध्ययन गरिरहेका कमलराज गोसाईको नेतृत्वमा गणना सुरु भएको हो।
नगरपालिकाको मुहानपोखरी क्षेत्रमा गरेको अवलोकनमा जम्मा ५३ बढी चराहरुको प्रजाति भएको बताइएको छ। सारौं, बक्कुल्ला, भंगेरा, उलजस्ता चरा प्रजातिको संख्या सबैभन्दा धेरै भएको अनुसन्धानको नेतृत्वकर्ता उपप्राध्याक गोसाईले बताए। अवलोकन कार्यक्रममा केन्द्रीय वातावरण विज्ञान विभाग(त्रिभुवन विश्वविद्यालय), गोल्डेन गेट इन्टरनेशनल कलेज काठमाडौंका स्नातकोत्तर तह र विध्यावारिधि तहका विद्यार्थीहरु एवं पंक्षी संरक्षण संघका प्रतिनिधिहरु पनि सहभागी रहेको बताइएको छ। यही क्रममा मुहानपोखरीमा एक अनुसन्धानमुलक कार्यक्रमको आयोजन समेत भएको छ।
सो नगरपालिकामा बढ्दै गएको विकास, वायु, माटो तथा जल प्रदूषण, जङ्गलको कमी जस्ता कारणले गर्दा चराको प्रजाति र तिनका संख्या कम हुँदै गएको तीतो सत्य उपप्राध्यापक गोसाई पोख्छन्।
अन्य जैविक बिबिधता जस्तै चरा पनि पर्यावरणको निम्ति निक्कै महत्वपूर्ण छ। परापूर्वकालदेखि चरा र मानिसबीच गहिरो नाता रहँदै आएको छ। हाम्रो वरिपरि गौथली, परेवा, भङ्गेरा, हाँस, बकुल्ला जस्ता अनेकन चराहरु उडेको देखेका छौं। तर हिजोआज यी चराहरु निक्कै कम हुँदै गएको आभास हुन थालेको छ, यो चिन्ताको विषय हो, अनुसन्धानमा सहभागी टोली एकै स्वरमा नागरिकसँंग चिन्ता व्यक्त गर्छन्।
चराको संख्या कम हुनुमा हामी आफै दोषी छौं। बद्ढो अनियन्त्रित विकास, मानव वस्तीको विस्तार, मानव वस्तीबीच रहेका उध्यान र बगैंचाको कमी, बढ्दो प्रदूषण, जङ्गलको बिनाश जस्ता अनेक कारणहरुका कारणले गर्दा चराहरुको संख्या द्रुत गतिमा कम हुँदै गएको छ उनीहरु थप्छन्।
चरा रहे मात्रै मानवको अस्तित्व रहने भएकोले यस विषयमा सबैजना गम्भीर हुनुपर्ने उनीहरुको ध्यानाकर्षण छ। त्यसैले सहरहरुमा चराको अवस्था कस्तो छ? संख्या घटिरहेकै हो त? भन्ने प्रश्नको उत्तर थाहा पाउन पंक्षी संरक्षण संघले केही वर्षअघिदेखि सहरी चराको अवलोकन र अनुसन्धान कार्यको थालनी गरेको जनाइएको छ। यस क्रममा भक्तपुरको चाँंगुनारायणमा पनि सुरु भएको जनाइएको छ। सो सहरी चरा गणना काठमाडौं उपत्यकाभरि हुने जनाइएको छ। आउँदो शनिबार यो कार्यक्रम सम्पन्न हुने छ।
प्रकाशित: २३ पुस २०७८ १४:३१ शुक्रबार