७ वैशाख २०८१ शुक्रबार
समाज

हिमपातले रोकिएको नाग्म गमगडी सडक खुलेन

भारी हिमपातका कारण रोकिएको नाग्म गमगडी सडक अझै खुल्न सकेको छैन। सडक नखुल्दा खाद्यन्न ढुवानी अनिश्चित बनेको छ।

मुगु र जुम्लाको सीमा क्षेत्र डाब, घुच्ची, बुलबेल, सातमोड लगायत सडक क्षेत्रमा बाक्लो हिउँ जमेर सवारी साधन चल्न कठिनाइ भएपछि खाद्यान्न ढुवानी गर्न मुस्किल भएको व्यापारीहरु बताउँछन्।

सडकमै बाक्लो हिउँ जमेपछि सवारीसाधन चल्न सकेका छैनन्। हिमपातले गर्दा खाद्यान्न ढुवानी रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए। उनले भने,‘गोदाममा खाद्यन्न सकिँदै जान थालेको छ। हिमपातले सडक खुल्न सकेको छैन। समयमै सडक खुलाउने प्रयास हुन नसकेको खण्डमा खाद्यन्न अभाव हुन सक्ने देखिन्छ।’

हाल गमगढीस्थित मुख्य कम्पनीको गोदाममा पाँच सय क्वीन्टल चामल मौज्दात रहेको उनले जानकारी दिए। भारी हिमपातले गर्दा जिल्लामा खाद्यान्न अभावको संकेत देखा पर्न थालेको व्यापारी बताउँछन्।  

सुर्खेत‚ नेपालगञ्ज‚ बर्दिया‚ राजपुरदेखि सतहमार्गबाट मुगुमा खाद्यान्न ढुवानी गरिँदै आएको भए पनि दुई पटकको हिमपातले गर्दा ढुवानी गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाए।

हिमपातले खाद्यान्न मात्र नभएर व्यापारीका अन्य माल सामान ढुवानीमा समेत कठिनाइ भएको छ। सडक अवरुद्ध हुँदा नेपालगञ्ज‚ सुर्खेतदेखि व्यापारीलाई खाद्यान्न लगायत सामग्री जिल्लासम्म पुर्‍याउन गाह्रो भएको छ। बजारमा खाद्यन्न अभाव हुन थालेको छ। व्यापारीहरु कृत्रिम अभाव देखाएर मूल्यवृद्धि गर्न सक्ने देखिएको छ। जसको मार उपभोक्तालाई परिरहेको छ।  

सडक डिभिजन कार्यालयसँग समन्वय गरी हिमपातले अवरुद्ध भएको गमगढी नाग्मा सडक खण्ड डोजर स्काभेटर लगाएर बिहीबार अपराह्नदेखि सडक खुलाइसकेको प्रमुख जिल्ला अधिकारी महतले बताए। तर सडक खुलेको भनिएपछि सवारी साधन चल्न सकेका छैनन्। अहिले नै जिल्लामा कुनै खाद्य वस्तु र सामग्रीको अभाव नभएको‚ सडक सुचारु गर्न डिभिजन कार्यालयले डोजर तयारी अवस्था राखेको प्रमुख जिल्ला अधिकारी महतले बताए।

हिमपातका कारण जुम्लाको गुठिजीउला र कालिकोट जिल्लाको नाग्म बजारमा सवारी साधन रोकिएका छन्। हिउँ पग्लेर जुम्ला तिरको सडक हिलाम्य छ। मुगु जिल्ला तिरको खण्ड हिउँले ढाकिएको छ। हिउँदमा हिउँ र बर्षायाममा हिलोले सडकमा समस्या हुने भएकोले सडक पिच गरेर यात्रा सहज बनाउन स्थानीयले आग्रह गरेका छन्।  

यो समयमा हिमपातका कारण नाग्म गमगडी सडक हुँदै राराताल भ्रमण गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक आउजाउ गर्न सकेका छैनन्।

प्रकाशित: २३ पुस २०७८ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App