८ वैशाख २०८१ शनिबार
समाज

सडक मिच्दै, संरचना बनाउँदै

कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक मिच्दै संरचना बनाउँदै गरेको भेटिएको छ। सडक खण्डको शून्य प्वाइन्टमै झण्डै २ दर्जन बढी संरचना निर्माण गरेको भेटिएको हो। सडक डिभिजन कार्यालय जुम्लाले चिन्ह लगाएर छोडेको जग्गामा समेत स्थानीयले अतिक्रमण गरेर घर, टहरा, पर्खाल, सेफ्टीट्यांकी लगायतका संरचना निर्माण गरेको भेटिएको सडक डिभिजन कार्यालय जुम्लाका सव इन्जिनियर वीरेन्द्र रावलले जानकारी दिए।

नापी कार्यालय र सडक डिभिजन कार्यालयले सडकको क्षेत्र नाप जाँच गर्दा सडक अतिक्रमण गरेर घरटहरा जस्ता संरचना बनाएको भेटिएको उनले बताए। नापी कार्यालयको नक्सा अनुसार २ वटा पक्की घर, ४ वटा जस्तावाला घर, ४ वटा पक्की सेफ्टीट्यांकी, ८ वटा तारजाली एंगलसहितका पर्खाल, १ वटा ढुंगाको पर्खाल र ५ वटा टहरा गरी २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएको भेटिएका हुन्।  

सडक अतिक्रमण गरी निर्माण भएका २ वटा पक्की घर र ४ वटा सेफ्टीट्यांकीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टीमेटम दिइएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए। ‘पक्की घर मालिक र सेफ्टी मालिकलाई अतिक्रमण हटाउन पत्र थमाएका छौँ,’ कार्यालय प्रमुख श्रेष्ठले भने,‘कतिपयले पत्र लिन मानेका छैनन्। पत्र लिन नमान्नेको घरमै सूचना टाँस गरेका छौं। १५ दिनसम्म नहटाएको र सम्पर्कमा नआएको खण्डमा डक ऐन २०३१ अनुसार घर भत्काइने छ। घरको आँगन, निर्माण सामग्री भत्काउने र हटाउन काम जारी छ।’

सडक अतिक्रमण गरि बनाइएका जस्तावाला घर हटाउन ७ दिनको समय दिइने छ। सो अवधिमा नहटाए डोजर प्रयोग गरि हटाइने छ। तारजाली पर्खाल, ढुंगाको पर्खाल र टहरालाई शुक्रबार डोजर प्रयोग गरेर हटाइने प्रमुख श्रेष्ठले जानकारी दिए।

बजार क्षेत्रपछि सडक अतिक्रमण गरेर तातोपानी २ जर्मीमा निर्माण गरिएका करिब साढे दुई दर्जन टहरा हटाइने भएको छ। सडक मिचेर घर टहरा निर्माण गरेका जर्मीका २८ जनालाई चाँडै हटाउन समेत पत्राचार गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ।

यता बसपार्क क्षेत्रमा सडकको क्षेत्र नाप्ने क्रममै अमिनलाई एकजना घरधनीले ज्यान मार्ने धम्की दिएका छन्। सडक अतिक्रमण हटाउन जुटेका कर्मचारी माथि दिएको धम्कीप्रति नागरिक समाज, प्रहरी प्रशासन, सडक डिभिजनले खेद प्रकट गरेको छ। नापी नक्साप्रति चित्त नबुझे कानुनी बाटो हुँदाहुँदै पनि अतिक्रमण पनि गर्ने, कर्मचारीलाई उल्टै धम्काएर घरधनीले देखाएको गलत व्यवहारप्रति सरोकारवालाको ध्यानाकर्षण भएको छ। बढ्दै गएको अतिक्रमण हटाउन तथा सडकको क्षेत्र नापिरहेका अमिनलाई एक घरधनीले ज्यान मार्ने धम्की दिएका हुन्।

व्यापारी प्रयोजनका लागि सडक प्रयोग गर्ने तर अतिक्रमण हटाउन खटिएका कर्मचारीलाई धम्की दिनु स्वभनीय नभएको नागरिक अगुवा राजबहादुर महतको भनाइ छ। कसैका धम्की, अवरोधले अतिक्रमण हटाउने अभियान नरोकिने र सहमति वा बल प्रयोग गरेर भएपनि अतिक्रमण हटाएरै छाड्ने नागरिक अगुवा महतको अडान छ।

सडक डिभिजनका प्रमुख राजिव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, सुरक्षा निकाय, नागरिक अगुवा राजबहादुर महत लगायतको टोली अतिक्रमण हटाउन दैनिक आक्रामक भएर सडकमा उत्रिएपछि आम जुम्ली नागरिक खुसी भएका छन्।

प्रकाशित: २२ पुस २०७८ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App