८ वैशाख २०८१ शनिबार
समाज

सिडिओ र एसपीको नागरिकमाथि सरकारी तुजुक

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र सिरहाका एसपी हिराबहादुर पाण्डेले सरकारी बर्दीको आडमा गरेको व्यवहारले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवै आलोचित बनेका छन्।

प्रमुख जिल्ला अधिकारी तामाङले बढी मूल्य लिई र गणस्तरहीन माछा बेचेको आरोपमा व्यवसायीलाई धम्क्याउनु र सिरहाका एसपी बर्दीमा पेस्तोलसहित कांग्रेस सभापतिको घरमा गएर धम्क्याउनुले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवैलाई आलोचित बनेका हुन्। ‘सरकारी गाडीको दुरूपयोग गरी माछा किन्न जानु र माछा किन्दा बढी मूल्य लिएको भन्दै कानुनी कारबाहीमा जोड दिनुपर्नेमा व्यवसायीलाई धम्क्याउनु तथा एसपीले नागरिकको घरमा गएर ज्यान मार्ने धम्की दिनु दुवै विषय सरकारी निकायका लागि उपयुक्त विषय होइन, त्यसकारण एसपीलाई निलम्बन गरी कारबही प्रक्रिया अघि बढाइएको छ र सिडिओ तामाङको बारेमा पनि हामी अनुसन्धानमा लागेका छौं,’ गृह मन्त्रालयका एक अधिकारीले भने। एसपी पाण्डेलाई भने त्यही आरोपमा प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयमा पठाएको थियो।

गृह मन्त्रालयले त्यसलाई कार्यान्वयन गरेको छ। तर श्रीमतीसहित माछा व्यवसायीलाई धम्क्याउने सिडिओ तामाङका बारेमा भने मौन रहेको छ। ‘उहाँको विषयमा केही जानकारी आएको छैन तथ्य र प्रमाणसहित त्यो विषयमा जानकारी आए मन्त्रालयले ध्यान दिनेछ,’ गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले भने। उनका अनुसार चितवनको सो घटनाबारे मन्त्रालयलाई कुनै जानकारी छैन।

तर त्यहाँ सिडिओले धेरैपटक आफूलाई माछा चाहियो भन्दै कहिले प्रहरीलाई पठाउने गरेको र कहिले सरकारी गाडी लिएर माछा किन्न जाने गरकी थिइन्। प्रहरीले पनि बजार रेटभन्दा कम मूल्यमा माछा लिएर जाने गरेको तथा श्रीमतीले पनि आफू सिडिओको श्रीमती भएको भन्दै सस्तोमा उपलब्ध गराउनुपर्ने दबाब दिने गरेकी थिइन्। तर गृह मन्त्रालयले यो विषयलाई सामान्य मान्दै आएको छ।

‘जानकारी नभएको विषयमा हामीले चर्चा नै गर्नु पर्दैन,’ गृहप्रवक्ता कोइरालाले भने। यसैगरी सिरहाका एसपी निलम्बनको सवालमा पनि उनले कुनै धारणा दिन अस्वीकार गरेका छन्। तर लामो समय गृह मन्त्रालय बसेका पूर्वगृहसचिव डा. गोविन्द कुसुमले सरकारी निकायमा रहेका व्यक्तिहरूले ध्यान दिनुपर्ने बताएका छन्। ‘कानुन कार्यान्वयनको तहमा रहेका व्यक्तिहरूले संयमता अपनाउनुपर्छ, सिडिओ भनेको संस्था हो व्यक्ति होइन, जिल्लाको एसपी भनेको पनि संस्था हो तर उहाँहरूको विषयमा जे कुरा बाहिर आएको छ त्यो सरकारी निकायलाई बदनाम गराउने गरिएको जस्तो आभाष हुन्छ,’ डा. कुसुमले भने।

सात महिनामै सिरहाबाट प्रहरी प्रधान कार्यालय सरुवा भई निलम्बनमा समेत परेका एसपी पाण्डेले जिल्लाकै शान्ति सुरक्षाको जिम्मेवारी लिएको भए पनि उनी आफैं कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवको घरमा पुगेर ज्यान मार्ने धम्की दिएका थिए। उनलाई त्यही आरोपमा निलम्बन गरिएको थियो। ‘जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी लिएको हुन्छ तर आफै कानुनविपरीतका कार्य गर्न जानुहुन्छ भने त्यो युक्तिसंगत होइन,’ डा. कुसुमले भने। उनका अनुसार सरकारी कर्मचारीलाई त्यसमाथि पनि गृहका अधिकारीहरूलाई प्रशिक्षणको अभाव रहेको छ।

‘गृहका कर्मचारीले संयमता अपनाउनुपर्छ आवेश आउने होइन सिडिओको जिम्मेवारी जे हो त्यो गर्नुपर्छ तर चितवनमा जे भयो त्यो प्रक्रियासंगत भएन,’ डा. कुसुमले भने। एसपी पाण्डेको विषयमा प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले प्रहरी आचारसंहिताविपरीत कार्य गरेकाले उनलाई निलम्बन गरिएको बताए। ‘प्रहरी नियमवालीविपरीत कार्य गरेका कारण निलम्बन गरिएको हो,’ एसएसपी कुँवरले भने। कांग्रेस सिरहाका सभापति यादवसँग उनको पहिलादेखि नै विवाद थियो तर उनी आफै ज्यान मार्ने धम्की दिएर घरमै जानुपर्ने हो कि होइन भन्ने प्रश्नले झस्काएको पनि प्रहरी अधिकारीहरूले बताएका छन्।

‘एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको छ, उनको विषयमा एक समिति बनाएर छानबिन हुन्छ,’ एसएसपी कुँवरले नागरिकसँग भने। प्रदेश २ का जिल्लाहरूमा सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन गरिहरेको छ। सिरहामा केही समयदेखि उनीहरूले राजमार्ग बन्द गरेर सवारी साधन जलाएका थिए त्यसबेला प्रहरी मुख दर्शक भएको भन्दै उनको आलोचना भएको थियो।

सिके राउतका कार्यकर्ताले शान्ति सुरक्षामा चुनौती दिइरहेका बेला आइतबार सिरहाका एसपी पाण्डेको प्रहरी प्रधानकार्यालयमा सरूवा भएको थियो। प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टर तानेर सिरहामा अर्जुन तिम्सिनालाई पठाएको छ।

गत कात्तिकमा किशन धामीको गोली हानी हत्या भएको थियो। हत्या आरोपमा प्रहरीले दुईजना व्यक्तिहरू सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेपछि एसपी र यादवबीच विवाद सुरु भएको थियो। तर त्यही विषयलाई लिएर एसपी पाण्डेले उनको घरमा गएर ज्यान मार्न धम्की दिएका थिए। उनी यादवको घरमा पुगेपछि सशस्त्र प्रहरीका एसपी र प्रमुख जिल्ला अधिकारी पुगेर उनलाई क्वार्टर फर्काएका थिए।

तर चितवनको भने फरक विषय रहेको छ। व्यवसायीले मूल्यवृद्धि गरेको विषयमा सिडिओ प्रमाण जुटाएर कारबाही गर्नुपर्नेमा आफ्नै श्रीमतीलाई माछा किन्न पठाएर माछा व्यवसायीको प्रेस हाउसमा ताला लगाउन जानु आफैंमा विवादास्पद भएको छ। उनले कानुनी प्रक्रिया नपु¥याई त्यसो गर्दा व्यवसायीहरूले आन्दोलनसमेत गर्नुपर्ने बाध्य भएका थिए। सिडिओ तामाङले माछा व्यवसायी धम्क्याउन सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई समेत दुरूपयोग गरेका थिए।

सञ्चार माध्यममा समाचार आएपछि सिडिओले यसलाई मत्थर पार्न खोजेका छन्। माछा व्यवसायीलाई कुराकानी गर्न आउन भनेका छन्। तर व्यवसायीहरूले पनि जे हुनुभयो भन्दै सिडिओसँग कुराकानी गर्न जान चाहेका छन्। ‘अहिले सिडिओ आफैँले सो घटना लम्ब्याउन चाहेका छैनन्,’ स्रोतले भन्यो ‘व्यवसायीहरूलाई कुराकानी गर्न आउन भनेका छन्।’

प्रकाशित: २२ पुस २०७८ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App