घुम्दै गरेको चक्रबाट बन्दै गरेका माटाका भाडाहरु आफैमा अनुपम कला हुन्। यहि कलामा जब कलाकारको हात पर्छ, तब सुनमा सुगन्ध थपिन्छ। भक्तपुरको पोर्टरी स्क्वायरमा राष्ट्रिय अन्तराष्ट्रिय कलाकारले काँचो माटोबाट आकर्षक सामग्री तयार गर्दे गर्दा धेरैको मन तान्यो।
बंगलादेशबाट आएका सेरामिक कलाकार मोहम्मद अनिसुल हकले मन्दिरको पेटीमा बसेर मन्दिरकै आकृतिको भाँडो तयार गर्दे गर्दा धेरैले रमाइलो माने। ‘भक्तपुरको यो माहोलमा माटो मल्दै गर्दा मन्दिर नै तयार हुँदो रहेछ,’ हकले हाँस्दै भने, ‘यहाँको वास्तुकला र वातावरणले नै मानिसलाई कलाकार बनाउँदो रहेछ।’
चीनमा गएर सेरामिक कलाको अध्ययन गरेका हकले यहाँ आएर प्राचिन कला नियाल्न पाउँदा खुसी लागेको बताए। ‘मैले जानेको कला यहाँ केही सिकाएँ,’ उनले भने, ‘मैले यहाँ थुप्रै सिक्दै छु।’ माटोबाट बन्ने कलाले मनलाई छुने भन्दै पोर्टर स्क्वायर निकै मनमोहक रहेको हकले सुनाए।
परम्परागत सामग्री मात्र बनाएर प्रजापति समुदायको आर्थिकस्तर सुधार नहुने भन्दै त्यसलाई आधुनिकीकरण गर्नुपर्ने कतिपयले सुनाए। ‘खुत्रुके मात्र बनाएर खुत्रुकेमा पैसा भरिन्न,’ भक्तपुरकी कलाकार सम्बिका बासुकलाले भनिन्, ‘यही आकृतिलाई कलात्मक ढंगबाट निर्माण गर्दा यसले राम्रो बजार पाउने छ।
प्रजापति समुदायलाई पनि आधुनिक कलाको ज्ञान दिने उदेश्यले मंगलबारदेखि शुक्रबारसम्म तीनदिने कार्यशाला पनि राखिएको उनले बताइन्। ‘यो सीपको आदानप्रदान पनि हो,’ उनले भनिन्, ‘यसको उद्देश्य कलालाई संसारभर फैलाउनु हो।’
हातको सहाराले सुन्दर, कलात्मक र बान्कीपूर्ण माटाका भाँडा बनाउने प्रजापति समुदायले माटामा कोरिएका रङ र कला रुचीपूर्व नियालेको कलाकार सुशिला सिंहले सुनाइन्। ‘माटोको आकृतिमा चित्र पनि कोरिदा यसको महत्व झनै बढ्छ,’ सुशिलाले भनिन्, ‘यसले समुदायको आय बढ्ने मात्र हैन कलाको प्रचार प्रसार पनि हुन्छ।’
कसरी बन्छ माटोबाट भाँडा ?
खानीबाट ल्याइएको माटोलाई ढडाएपछि मुंग्रोका सहायताले नरम तुल्याइन्छ। पछिल्लो समय त माटो पेल्ने मेसिन नै धेरैले उपयोग गर्न थालिसकेका छन्। त्यसपछि उक्त मुलायम माटोको ढिक्कालाई चक्रमा राखिन्छ। त्यसलाई घुमाउँदै हातको सहायताले निश्चित आकारमा ढालिन्छ। छोटो समयमा सिद्धहस्त कुमालेले चाहेजस्ता भाँडा बनाइसक्छन्।
प्रकाशित: २१ पुस २०७८ ११:४३ बुधबार