७ वैशाख २०८१ शुक्रबार
समाज

डोम समुदायको लागि कहर बनेको शीतलहर

रौतहटको राजदेवी नगरपालिका वडा नम्बर १ हजमिनियाकी ६० वर्षीया कुश्मीदेवी मल्ली बाँच्नुभन्दा मरेकै राम्रो भनिरहेकी छिन्। अत्यधिक जाडोले जीवनभन्दा मृत्यु प्यारो लाग्न थालेको छ मल्लीलाई।

प्लास्टिकको पालजस्तो टाँगेर सुँगुरसँगै सुतेकी मल्लीलाई कठ्यांग्रिँदो चिसोले पारालाइसिस भएको छ। पारालाइसिसले मल्लीको आधा अंग नचल्ने भएको छ। चरम गरिबीमा जीवन बाँच्न विवश मल्लीसित उपचार खर्च छैन।

उपचारको लागि घरपरिवारले कोसिश नगरेको होइन। शिवनगरस्थित एउटा अस्पतालमा पुर्याएको पनि हो तर पैसा नभएपछि फिर्ता भएर मल्ली घरमै छटपटिएकी छिन्। आधा अंग नचल्ने अवस्थामा मल्ली भन्छिन्, ‘एहन जिएसे मरलहबे निमन’ (यसरी बाँच्नु भन्दा मरेकै राम्रो)।

दलितहरुलाई पक्की घर दिने सरकारको योजनाअन्तर्गत मल्लीको घर गत असारमै भत्काइएको हो। घर भत्काइएपछि घरको भित्ता बनाइएको छ। गर्मी र बर्खामा निकै कष्टपूर्वक मल्ली परिवारले दिन काटेको हो तर शीतलहर चल्न थालेपछि मल्ली परिवारको कहालीलाग्दो अवस्था भएको छ।

कुश्मी देवीजस्तै १४ डोम परिवारको अवस्था उस्तै छ। राति अति नै जाडो हुने र दिउँसो पनि घाम नलाग्ने समस्याले करिब ६५ जनाको जीवन कष्टकर भएको छ। सरकारले घर भत्काइदिएको तर समयमा निर्माण कार्य पूरा नगर्दा अधुरो घरमा माथिबाट प्लास्टिक टाँगेर सुँगुर राख्ने, सुँगुरसँगै सुत्ने, खाने, बस्ने गरेका छन्। मुख्यमन्त्री आवास योजनाले डोम परिवारलाई न घरको न घाटको बनाइदिएको छ।

स्थानीय नरसिंह मल्ली, छबिला मल्ली, उपेन्द्र मल्ली, गणेश मल्ली, जगदीश मल्ली, अमिन्दर मल्ली, कुश्मी मल्ली सबैको अवस्था उस्तै छ। नरसिंह मल्लीले त केही दिनदेखि बढेको चिसोले आफ्नो जीवनजीविका पनि समाप्त भएको बताएका छन्।

लगातार बढेको चिसोले दिनदिनै सुँगुर मरिरहेको बताउँदै नरसिंहले अहिलेसम्म दशवटा भन्दा बढी सुँगुर जाडोकै कारण मरिसकेको बताउँछन्। आफ्नो कमाइ खाने रोजगार नै चिसोले गर्दा समाप्त भइसकेको बताउँदै आफूसित अब केही पनि बाँकी नरहेको भन्दै आँसु चुहाउँछन्।

सरकारले घर भत्काइदियो र भगवानले सबै सुँगुर पनि लगिदियो । राजा र दैव दुवै लागेपछि डोम आफूहरुको विचल्ली भएको नरसिंह भक्कानिँदै बताउँछन्।

आकाशबाट निरन्तर चुहिरहेको थोपा थोपा पानीमा रुझ्दै डोम परिवार चरम संकटमा जीवन गुजारिरहेको देखिएको छ। अत्यधिक जाडोमा पनि कम्बल, डसना, सिरकको अभावमा डोम समुदाय विपत्तीमा जीवन गुजारिरहेको देखिन्छ।  

स्थानीय सरकारको पहुँचभन्दा टाढा रहेको डोम समुदायले कसैलाई गुहार्न कसैकहाँ जाने सामथ्र्य पनि राखेको छैन। ‘जो आए पनि फोटो खिचेर लैजान्छन्, केही दिन कोही आउँदैनन्’, उनीहरु गुनासो गर्छन्।

घर नभएका तर नभएको घर छाडेर कतै जान पनि नसकेका डोम समुदायको पीडालाई सरकारी झन्झन्ट र झमेलाले कहिलेसम्म नबुझ्ने हो? बर्खाअघि नै भत्काइएको घर समयमा बनिसकेको भए एक दर्जन परिवारको विचल्ली त हुने थिएन? त्यहाँ पुग्ने जो कोही पनि प्रश्न गर्न बाध्य हुन्छन्।

प्रकाशित: २१ पुस २०७८ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App