८ वैशाख २०८१ शनिबार
समाज

सीमादेखि सहरसम्म तस्करको रजगज

फाइल तस्बिर

पुस १२ गते बिहान करिब १ बजे चिनीले भरिएको भारतीय पिकअप जिपलाई भन्सार कार्याल ठाढी, सिरहाको टोलीले झाझपट्टी सीमा नाकाअन्तर्गत कुसन्डीबाट नियन्त्रणमा लियो। पारिबाट तस्करीको चिनीको बोराले भरिएको बिआर ३२ जिबी १९१५ नम्बरको पिकअप जिप लहानस्थित तस्करको गोदामतर्फ आउँदै थियो।

भन्सार कार्यालयका प्रमुख ध्रुवप्रसाद महतोका अनुसार जिप चालक भारतको मधुवनी जिल्ला घर भएका दुखीकुमार साफीलाई असोज १२ गते ८ लाख २५ हजार धरौटीमा छाडिएको छ। ‘उनले तत्कालै धरौटी बुझाएपछि हामीले छाडेका हौं,’ महतोले भने। तस्करीका चिनी र गाडी भन्सार कार्यालय ठाढीकै नियन्त्रणमा रहेको उनले बताए।

पुस १८ गते प्रहरीले तस्करी गरी ल्याएको औषधिजन्य सामग्रीसहित पर्साको वीरगन्ज महानगरपालिका–८ घण्टाघरबाट ना६ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लियो। ट्रक चालकसहित तस्करीका सामान बोकेको ट्रकलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

पुस १७ गते प्रहरीले बिल बिजकभन्दा बढी मालवस्तु तथा औषधिले भरिएको प्रदेश २–०३–००१ ख ०१२९ नम्बरको ट्रकलाई वीरगन्ज महानगरपालिका–२१ परमानीपुर चोकबाट नियन्त्रणमा लियो। ट्रक चालकसहित मालसामानसहित ट्रकलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

देशकै प्रमुख भन्सार नाकाबाट भइरहेको अवैध आयात (तस्करी) को फेहरिस्त लामै छ। माथिका यी प्रतिनिधिमूलक घटना मात्र हुन्। पछिल्लो समय प्रदेश २ मा तस्कर राज चलेको छ। वीरगन्ज, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको सीमा क्षेत्रबाट अवैध कारोबार फस्टाएको छ। कारोबारीका अनुसार भारतबाट न्यून बिजकीकरण र भन्सार राजस्व छली भित्रिएका वस्तु सीमावर्ती गाउँसहर हुँदै मुख्य सहरमा ल्याएर अन्य सहरमा पठाउने गरिएको छ। ‘अवैध रूपले भित्रिएका वस्तुको बिलबिजक काटेर सपोर्टिङमा पुरानो प्रज्ञापनपत्र राखेर विभिन्न सहर पठाउन थालिएको छ,’ एक कारोबारीले भने।

पछिल्लो समय सिरहाको झाझपट्टी सीमा नाकाअन्तर्गत कसन्डी क्षेत्रमा तस्करको राज छ। जहाँ सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा बोर्डर आउटपोस्ट छ। सईको कमान्डमा नेपाल प्रहरीको चौकी छ। मध्य रातदेखि बिहान ५ बजेसम्म भारतीय र नेपाली पिकअप जिपमा तस्करले मालसामान तस्करी गरेको दृश्य बस्तीका सबैले देख्छन् तर तस्करी नियन्त्रणका लागि तैनाथ सशस्त्र र नेपाल प्रहरी भने तस्करीबारे अनभिज्ञता प्रकट गर्छन्।

भन्सार कर्मचारीले तस्करीका चिनीले भरिएको भारतीय पिकअप जिप नियन्त्रणमा लिएको घटनाबारे बोर्डर आउटपोस्ट झाझपट्टीका इन्सपेक्टर प्रकाश पाण्डेले अनभिज्ञता प्रकट गरे। उनले भने, ‘यस नाका क्षेत्रबाट तस्करी भएकै छैन। भन्सारले अन्यत्रबाटै तस्करीका सामानसहित गाडी नियन्त्रणमा लिएको होला।’

सीमा नाकामा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति हुँदासमेत तस्करीका सामान बोकेको भारतीय जिपको बेरोक प्रवेशले सेटिङ प्रस्ट हुन्छ। भन्सारले तस्करको एउटा जिप नियन्त्रणमा लिए पनि यो नाकाबाट तस्करी रोकिएको छैन। स्थानीय देवनारायण यादवका अनुसार रातभर यस नाकाबाट बेरोकटोक तस्करीका सामान आरपार हुन्छन्। ‘भन्सार, प्रहरी र सशस्त्र प्रहरीसँग सेटिङ नमिलाई सीमाबाट सामान भित्र्याउँछु भन्ने सोच्नु सपनासरह नै हो,’ यादवले भने, ‘यहाँ सरकारका निकाय सबै मिलेपछि को बोल्न सक्छ।’

ठाढी भन्सार कार्यालयका अनुसार मंसिर महिनामा ४७ लाख ४० हजार २३ रूपैयाँ राजस्व संकलन भएको छ। जब कि उठ्नुपर्ने राजस्व १ करोड २५ लाख ९५ हजार रूपैयाँ थियो। चालु आवको मंसिर महिनासम्म १ करोड ६४ लाख ८६ हजार ४ सय ९८ रूपैयाँ राजस्व उठेको भन्सार प्रमुख महतोले बताए। उठ्नुपर्ने राजस्व ५ करोड ३ लाख ४ हजार हो। राजस्व असुली घट्नुमा लहान–ठाढी सडकको भगवानपुर खण्ड बिग्रनुलाई कारण मान्छन् महतो।  

जिल्ला भन्सार कार्यालयअन्तर्गत तीनवटा भन्सार कार्यालय सञ्चालनमा छन्। ठाढी र माडर मुख्य भन्सार हुन् भने बरियारपट्टी छोटी भन्सार। यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छ। सँगै जनपद प्रहरी पनि, सिरहाको तीनवटा नाकामा भन्सार कर्मचारी भएको कार्यालय सञ्चालनमा भए पनि अरू नाकामा सशस्त्र र जनपद प्रहरीको उपस्थिति छ।

सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर सबै ठाउँमा सुरक्षाकर्मीको पोस्ट छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणमा तस्करीको समान वारि छिराउन बिनासेटिङ सम्भव नभएको सीमावर्ती गाउँका स्थानीय बताउँछन्।

तस्करीका लागि अर्को चम्केको नाका हो–बरियारपट्टी। यहाँ भन्सार कार्यालयसँगै सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी) छ। अगाडि जनपद प्रहरीको चौकी। पारि लदनिया बजार छ। यो बजारबाट दैनिक उपभोग्य सामानसँगै सुर्ती तस्करी बढेको एक स्थानीयले बताए। यो नाका क्षेत्रबाट तस्करी हुने मालसामान सुखिपुर, गोलबजार पुग्ने गरेको स्रोतले बतायो। यहाँको मुख्य भन्सार माडर। यहाँ भन्सार कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीको बिओपी छ। जहाँ इन्स्पेक्टरको कमान्डमा सशस्त्र प्रहरी चोरी निकासी पैठारी नियन्त्रणका लागि उपस्थित छ। तर यो नाका क्षेत्रबाट तस्करी रोकिएको छैन। दैनिक उपभोग्य वस्तुदेखि चाँदीका तयारी गहनासम्म तस्करी हुने भनी चिनिएको छ यो नाका। लत्ताकपडा, मोटरपार्ट्स, खाद्य सामान तस्करले सेटिङमा भित्र्याउँछन् यो नाकाबाट।

यहाँबाट सुनचाँदीदेखि दैनिक उपभोग्य सामान सबै वारपार हुने स्थानीय बताउँछन्। ‘सबै मिलेका छन् हजुर, हामी काम गरेर खानेको नाम बाहिर आए गाँस खोसिन्छ,’ उनले नाम बाहिर नल्याइदिन आग्रह गरे।  

‘हामी एक लिटर तेल लिएर आउँदा दश पटक जाँच हुन्छ तर तस्कर बेरोकटोक लग्छन्,’ उनले थपे, ‘काहीँ रोकावट हुँदैन।’

प्रकाशित: २० पुस २०७८ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App