coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निर्मला हत्या प्रकरण: अझै निष्कर्षमा पुगेन अनुसन्धान

एक सय बढीको डिएनए परीक्षण, शंकास्पदलाई सोधपुछ र डिएनए परीक्षण जारी

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन वर्ष बितिसक्दा पनि घटनाको रहस्य अझै खुल्न सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले लगातार अनुसन्धान जारी गरेको भए पनि अहिलेसम्म अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन। निर्मलाको हत्याको अनुसन्धानका क्रममा प्रहरीले भारतीय नागरिकलाई सोधपुछका लागि नियन्त्रण लिएको कुरा बाहिरिएसँगै पुन: घटनामा सबैको चासो बढेको हो।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले साढे ३ वर्षदेखि निरन्तर अनुसन्धान भइरहेकोमा अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको बताएका छन्। पर्याप्त सबुत प्रमाण नहुँदा हत्याराको पुष्ट्याइँ हुन नसकेको उनको भनाइ छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीको कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिरहेको उनले बताए। ‘हामीले अनुसन्धानका लागि दैनिकजसो मानिसलाई समातिरहेका छौँ,’ उनले भने, ‘सोछपुछ गर्ने र शंकास्पद व्यक्तिको डिएनए परीक्षण गर्ने क्रम जारी नै छ।’ पछिल्लो समयमा पनि केही व्यक्तिको डिएनए परीक्षणका लागि पठाइएको उनले बताए। ‘डिएनए परीक्षण कसको गरायौँ भन्ने कुरा गोप्यताका कारण भन्न मिल्दैन,’ उनले भने, ‘शंकास्पद व्यक्ति लागेमा उसको अनुमति लिएर डिएनए परीक्षण गराउने गरेका छौँ।’

* शंकास्पद भारतीय नागरिक समातिएपछि सर्वत्र चासो 

* एक हजारभन्दा बढीलाई सोधपुछ, एक सय बढीको डिएनए परीक्षण 

* शंकास्पदलाई सोधपुछ र डिएनए परीक्षण जारी छ : प्रहरी   

प्रहरीले शंकास्पद ठानेर केही दिनअघि एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको स्रोतले बताएको छ। निर्मलाको शव फेला परेको क्षेत्र आसपासमा तरकारी खेती गर्ने भारतीय नागरिकका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले बताएको छ। प्रहरी उपरीक्षक चतुर्वेदीले भने यस बारेमा खुलाउन चाहेनन्।

नियन्त्रणमा लिएका भारतीय नागरिकको डिएनए परीक्षणका लागि पठाइएको हो भनेर नागरिककर्मीले प्रश्न गर्दा उनले भने, ‘म यसबारेमा अहिले केही बताउँदिन।’ नेपाली नागरिक मात्रै नभई कञ्चनपुरमा बसोबास गर्ने भारतीय नागरिकलाई पनि शंका लागेमा पहिलेदेखि नै समातेर सोधपुछ गर्ने र छाड्ने गरेको उनले बताए। ‘हामीले विगतमा पनि कयौ भारतीय नागरिकसँग सोधपुछ गरेका थियौं,’ प्रहरी उपरीक्षक चतुर्वेदीले भने, ‘नेपाल र भारत सबैतिरका शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने, प्रमाण जुटाउन जाँच गर्ने काम निरन्तर गरिरहेका छौं।’ अहिलेसम्म अनुसन्धानमा उल्लेखनीय उपलब्धि केही नभएको बताउँदै उनले भने, ‘हामी निरन्तर अनुसन्धानमा छौं।’

निर्मला पन्त हत्याको घटनामा अहिलेसम्म एक हजारभन्दा बढी मानिसलाई सोधपुछ गरिएको उनले बताए। ‘हामीले साढे तीन वर्षको अवधिमा एक हजार बढी मानिसलाई समातेर सोधपुछ गर्दै छाडेका छौँ,’ उनले भने, ‘त्यसमा शंका लागेका एक सय बढीको डिएनए परीक्षण पनि गरेका छौं, डिएनए म्याच नभएपछि उनीहरूलाई पनि रिहाई गरेका छौं, यो क्रम अहिले पनि जारी नै छ।’ निर्मला हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म ६ सय जना बढीको लिखित कागजात बनाएरै सोधपुछ गरिएको प्रहरीले बताएको छ।  

यस्तो थियो घटना

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गएकी थिइन्। बेलुकी अबेरसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर, प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान (११ गते) नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पर्‍यो। शव फेला परेसँगै दोषीलाई पत्ता लगाउन माग गर्दै आफन्तले प्रदर्शन गरे।

राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए। साउन ११ गतेदेखि सुरु भएर एक साता रोकिएको प्रदर्शन साउनको तेस्रो साताबाट पुन: गरियो। साउन १३ गते सिआईवीका डिएसपी अंगुर जिसी निर्मलाको बलात्कारपछि हत्या अनुसन्धान गर्न कञ्चनपुर आए। जिसीसहितको टोलीको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९ धर्मभक्त टोलका दिलिपसिंह बिष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गर्‍यो।

प्रहरीले निर्मलाका बुबालाई शव फेला परेको उखुबारीमा लग्यो। उखुबारीमा कमिजको टुक्रा फेला पर्‍यो भन्दै प्रहरीले मुचुल्का बनायो। तर, उक्त मुचुल्कामा निर्मलाका बुबा यज्ञराजले हस्ताक्षर गर्न मानेनन्। निर्दोषलाई दोषी करार गरेको भनेर स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चलेको थियो। प्रहरीको गोलीले शनी खुनाको ज्यान गयो भने कयौ घाइते भए। डिएनए रिपोर्ट मेल नखाएको भन्दै प्रहरीले दिलीपलाई रिहा गरेका थिए।

भदौ ७ गतेका दिन नेपाल सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टिम खटायो। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरेको थियो। अध्ययले तयार पारेको प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनु पर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएको भन्दै प्रहरीलाई दोषी देखाउँदै सरकारलाई प्रतिवेदन बुझाएको थियो।

एआइजी धीरु बस्न्यातको संयोजकत्वमा प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न विस्तृत छानबिन टोली गठन गरेको थियो। उक्त टोलीको प्रतिवेदनअनुसार तत्कालीन प्रहरी उपरीक्षक दिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरेको थियो भने डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठीलगायत ६ जना प्रहरीलाई निलम्बन गरेको थियो। त्यसपछि प्रमाण नष्ट गरेको भन्दै आठ जना प्रहरी विरुद्ध निर्मलाकी आमा दुर्गादेवीले उजुरी हालिन्।

दिलीपका दाजु खडक बिष्टले भाइलाई प्रहरीले यातना दिएको भन्दै चार जना प्रहरीविरुद्ध उजुरी दिए। जिल्ला अदालत कञ्चनपुरले फौजदारी अपराध संहिता अनुसार प्रमाण नष्ट गरेको अभियोग र यातनाविरुद्धको अभियोगमा प्रहरीहरूलाई धरौटीमा रिहा गरेको थियो। पछि अन्तिम सुनुवाइ गर्दै अदालतले सबै प्रहरीलाई सफाइ दिएको थियो। बर्खास्त र निलम्बनमा परेकाहरूको पुनर्वाहली र फुकुवा भइसकेको छ।

तत्कालीन आइजीपी सर्वेन्द्र खनालले डिआइजी सुरज केसीको संयोजकत्वमा गठन गरेको पुनरावलोकन छानबिन समितिले तत्कालीन एआइजी धीरु बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।  

दिलिप बिष्टले जस्तै प्रदीप रावल र विशाल चौधरीले पनि पत्यारिलो लाग्ने घटना प्रस्तुत गर्दै आफूले हत्या गरेको तत्कालीन आइजिपी सर्वेन्द्र खनालकै अगाडि बयान दिएका थिए।

प्रकाशित: २० पुस २०७८ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App