७ वैशाख २०८१ शुक्रबार
समाज

निर्मला हत्या प्रकरणः प्रहरी अनुसन्धान निष्कर्षमा अझैं पुगेन

सोधपुछका लागि भारतीय नागरिक प्रहरी नियन्त्रणमा

कंचनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन वर्ष भैसक्दा पनि घटनाको रहस्य अझैं खुल्न सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले लगातार अनुसन्धान जारि गरेको छ। निर्मलाको हत्याको अनुसन्धानका क्रममा प्रहरीले भारतीय नागरिकलाई सोधपुछका लागि नियन्त्रण लिएको कुरा बाहिरिएसँगै पुनः सबैको चासो बढाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले साढे तीन वर्षदेखि निरन्तर अनुसन्धान भैरहेकोमा अहिले सम्म निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको बताएका छन्। पर्याप्त सबुत प्रमाण नहुँदा हत्याराको पुष्ट्याई हुन नसकेको उनको भनाइ छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीको कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिरहेको उनले बताए।

प्रहरीले शंकास्पद ठानेर केही समयअघि एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको श्रोतले बताएको छ। निर्मलाको शव फेला परेको क्षेत्र आसपासमा तरकारी खेती गर्ने भारतीय नागरिकका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको श्रोतले बताएको छ। प्रहरी उपरीक्षक चतुर्वेदीले यस बारेमा खुलाउन चाहेनन्। नियन्त्रणमा लिएका भारतीय नागरिकको डिएनए परीक्षणको लागि पठाइएको हो भनेर प्रश्न गर्दा उनले भने, ‘म यसबारेमा केही बताउँदैन।’

अहिले कुनै टुंगो लागेर कुनै व्यक्तिलाई नियन्त्रणमा नलिइएको उनले बताए। ‘विगतमा पनि हामीले कयौं भारतीय नागरिकसँग सोधपुछ गरेका थियौं। नेपाल र भारत सबै तिरका शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने, प्रमाण जुटाउन जाँच गर्ने काम निरन्तर गरिरहेका छौं’, उनले भने, ‘अनुसन्धानमा उल्लेखनिय उपलब्धि भएको छैन, हामी निरन्तर अनुसन्धानमा छौं।’

निर्मला पन्त हत्याको घटनामा अहिलेसम्म एक हजारभन्दा बढी मानिसलाई सोधपुछ गरिएको प्रहरीको भनाइ छ। ६ सय जनाको त लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ भने करिब एक सय जनाको डिएनए परीक्षण भएको छ।

घटना विवरण यस्तो थियो  

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गइन्। उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर, प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान (११ गते) नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पर्‍यो। शव फेला परेसँगै दोषीलाई पत्ता लगाउन माग गर्दै आफन्तले प्रदर्शन गरे।

राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए। साउन ११ गतेदेखि सुरु भएर एक साता रोकिएको प्रदर्शन साउनको तेस्रो साताबाट पुनः गरियो।

साउन १३ गते सिआईवीका डिएसपी अंगुर जिसी निर्मलाको बलात्कारपछि हत्या अनुसन्धान गर्न कञ्चनपुर आए। जिसीसहितको टोलीको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९ धर्मभक्त टोलका दिलिपसिंह बिष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गर्‍यो। प्रहरीले निर्मलाका बुबालाई शव फेला परेको उखुबारीमा लग्यो। उखुबारीमा कमिजको टुक्रा फेला पर्‍यो भन्दै प्रहरीले मुचुल्का बनायो। तर, उक्त मुचुल्कामा निर्मलाका बुबा यज्ञराजले हस्ताक्षर गर्न मानेनन्।

निर्दोषलाई दोषी करार गरेको भनेर स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चलेको थियो। प्रहरीको गोलीले शनी खुनाएको ज्यान गयो भने कयौ घाइते भए। डिएनए रिपोर्ट मेल नखाएको भन्दै प्रहरीले दिलिपलाई रिहा गरेका थिए।

भदौ ७ गतेका दिन नेपाल सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टिम खटायो। गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरेको थियो। अध्ययले तयार पारेको प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनु पर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएको भन्दै प्रहरीलाई दोषी देखाउँदै सरकारलाई प्रतिवेदन बुझाएको थियो।

एआइजी धीरु बस्न्यातको संयोजकत्वमा प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न विस्तृत छानविन टोली गठन गरेको थियो। उक्त टोलीको प्रतिवेदन अनुसार तत्कालीन प्रहरी उपरीक्षक दिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरेको थियो भने डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी लगायत ६ जना प्रहरीलाई निलम्बन गरेको थियो। त्यसपछि प्रमाण नष्ट गरेको भन्दै आठ जना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले उजुरी हालिन्। दिलिपका दाजु खडक बिष्टले भाइलाई प्रहरीले यातना दिएको भन्दै चार जना प्रहरीविरुद्ध उजुरी दिए।

जिल्ला अदालत कञ्चनपुरले फौजदारी अपराध संहिता अनुसार प्रमाण नष्ट गरेको अभियोग र यातनाविरुद्धको अभियोगमा प्रहरीहरुलाई धरौटीमा रिहा गरेको थियो। पछि अन्तिम सुनुवाइ गर्दै अदालतले सबै प्रहरीलाई सफाइ दियो। बर्खास्त र निलम्बनमा परेकाहरुको पुनर्वहाली र फुकुवा भएको छ। तत्कालीन आइजीपी सर्वेन्द्र खनालले डिआइजी सुरज केसीको संयोजकत्वमा गठन गरेको पुनरावलोकन छानविन समितिले तत्कालीन एआइजी धीरु बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

दिलिप बिष्टले जस्तै प्रदिप रावल र विशाल चौधरीले पनि पत्यारिलो घटना प्रस्तुत गर्दै आफूले हत्या गरेको प्रहरीलाई बयान दिएका थिए। हत्या गरेको तत्कालीन आइजिपी सर्वेन्द्र खनालकै अगाडि उनीहरुले बयान दिएका थिए। त्यही बेला उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले निर्मलाको हत्या पत्ता लागिसकेको सार्वजनिक रुपमा घोषणा गरेका थिए। पछि प्रदिप र विशालले पनि आफूहरुलाई प्रहरीले यातना दिएर घटना स्वीकार्न लगाएको बताएका थिए। दिलिपले मात्रै नभई विशाल र प्रदिपले समेत मिल्दो घटनाको विवरणसहित स्वीकारेका थिए।

प्रकाशित: १९ पुस २०७८ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App