७ वैशाख २०८१ शुक्रबार
समाज

नौ बलात्कारी २४ घण्टाभित्रै प्रहरीको नियन्त्रणमा

काठमाडौको गोंगबुमा एक महिलालाई बलात्कार गरेको आरोपीलाई प्रहरीले २४ घण्टाभित्रै पक्राउ गरेको छ। सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी एक महिला सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएको २४ घण्टाभित्र उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सोमबार साँझ काठमाडौ आएकी महिलालाई १२ मंगलबार दिउँसोसम्म नियन्त्रणमा लिई बलात्कार गरिएको थियो। प्रहरीले बलात्कारमा संलग्न ९ जनालाई मंगलबार साँझ र बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो।

सोमबार साँझबाट मंगलबार दिउँसोसम्म आफूलाई बलात्कार गरेको भन्दै मंगलबार दिउँसो एक महिलाले महानगरीय प्रहरी गोंगबु प्रभागमा उजुरी दिएपछि प्रहरीले आरोपीहरूको खोजी कार्य गरेको थियो। प्रहरीको खोजी अभियानअनुसार गोंगबु क्षेत्रको सबै सिसी टिभी फुटेज हेरेपछि ती महिला बसेको होटल र उनलाई पछ्याएका व्यक्तिहरू नियाल्दै जाँदा उनीहरू पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

‘हामीले थाहा पाएको केही समयमै गोंगबु क्षेत्रका गेष्ट हाउसहरूमा छापा मारेका थियाैँ, त्यसपछि त्यहाँको सिसी टिभी फुटेज हेर्दै जाँदा अरोपीसम्म पुग्न सफल भयौ’, एसपी मैनालीले भने। उनीहरू पक्राउ परेपछि पीडित भनिएकी महिलालाई देखाएर प्रहरी सनाखत गरेपछि मंगलबार साँझ सार्वजनिक गरेको थियो।

उनीहरूले विभिन्न गेष्ट हाउसमा लैजाँदै बलात्कार गरेका थिए। ‘एउटै गेष्ट हाउसमा चार पाँच जना बसेको देखिन्छ केहीले अर्को गेष्ट हाउसको पनि प्रयोग गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न रहेका एक प्रहरीले बताए। उनका अनुसार फरकफरक ठाउँमा लैजान आफ्नै साथीहरूले सहयोग गरेका थिए।

एसपी मैनालीका अनुसर पक्राउ पर्ने आठजना मुगुको छायाँनाथ नगरपालिकाका स्थायी बासिन्दा हुन्। हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउदलाई प्रहरीले मंगलबार एकै साथ पक्राउ गरेको थियो। बुधबार विहान अर्का आरोपी गोपालकुमार शिरिष पक्राउ परेका थिए। उनी अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको बुद्धभूमि बस्दै आएका थिए।

उनी केही दिनपछि वैदेशिक रोजगारीका लागि जाने तयारीमा थिए। बलात्कारपछि स्वास्थ्यमा समस्या देखिएका कारण प्रहरीले उनलाई अस्पताल भर्ना गरेको थियो। ती महिलाको स्वास्थ्य अवस्था अहिले ठिकै रहेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती महिलालाई सोमबार साँझ ८ बजेदेखि मंगलबार दिउँसो १२ बजेसम्म नियन्त्रणमा राखेर बलात्कार गरेका थिए। ‘हामीलाई आएको उजुरीमा सोमबार साँझ ८ बजेदेखि मंगलबार दिउसो १२ बजेसम्म भन्ने उल्लेख छ,’ एसपी मैनालीले भने। प्रहरी कार्यालयमा भने ती महिला साढे ३ बजेतिर पुगेकी थिइन्। प्रहरीले सो विषयको जानकारी पाउनसाथ खोजी कार्यका लागि टोली परिचालन गरेको थियो।

एसपी मैनालीका अनुसार पक्राउ परेका सबै व्यक्तिले आरोप स्वीकार गरेका छन्। ‘आज सार्वजनिक बिदा भयो भोलिदेखि थप अनुसन्धान हुनेछ, आरोपी र महिलाको चिनजान नभएकाले उनीहरूले काठमाडौंमा आएपछि नै भेट भएको देखिन्छ,’ एसपी मैनालीले भने। उनका अनुसार सामूहिक बलात्कार भएको र काठमाडौमा यति विध्न संवेदशील घटनाभएपछि प्रहरी तुरुन्तै परिचालन भएको थियो। ‘यो सामान्य घटना नै होइन यत्रो संवेदनशील विषय भएपछि सबैतिरबाट प्रहरी परिचालन भयो,’ एसपी मैनालीले भने।

पक्राउ परेका सबै वैदेशिक रोजगारीका लागि भनेर काठमाडाैँ आएका थिए। ‘कोही विदेश जान लागेका रहेछन् कोही पासपोर्ट बनाउन भनेर काठमाडौं आएका रहेछन्,’ एसपी मैनालीले भने। एउटै महिलामाथि यतिधेरै व्यक्तिले बलात्कार गरेको पहिलोपटक भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

सो घट्नापछि प्रहरीले गेष्ट हाउसबाट हुनसक्ने अपराधिक गतिविधिमाथि निगरानी पनि सुरु गरेको छ। ‘एउटै कोठमा सामूहिक रूपमा महिला पुरुष बसेपछि गेष्टहाउस सञ्चालकले पनि शंका गर्नुपर्ने हो तर उसले वास्ता गरेको देखिँदैन हामीले गेष्ट हाउस सञ्चालकलाई पनि सचेत गराउँदैछांै साथै उसको मिलेमतो देखिएमा कारबाही हुन्छ,’ एसपी मैनालीले भने। गोंगबुमा भएको सो घटनापछि प्रहरीले त्यस क्षेत्रका सबै होटल, गेष्टहाउस र रेष्टुरेण्टमा निगरानी बढाएको छ।

प्रकाशित: १६ पुस २०७८ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App