coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेसबुक आइडी ह्याक गर्ने गिरोह सक्रिय

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जन्मजय तिमिल्सेनाले फेसबुक म्यासेन्जरबाट बुधबार राती म्यासेज गर्दे बिहीबार बिहान ८ बजेको लागि जुम मिटिङ डाक्छन्। समस्या परेकाले जतिसक्दो नगद सहयोग गर्न उनैले आग्रह गर्छन्। नेता तिमिल्सेना म्यासेन्जर पढ्नै लाग्दा गुलरिया नगरपालिका वडा नं ६ का अध्यक्ष निरज शर्माले पनि रकम मागेको फोन आउँछ।

उनले मनमनै सोच्छन्, ‘दाइले यतिखेर जुम मिटिङ डाक्नु केही गडगडबड छ।’ त्यति बेला आएको फोनमा साथीभाइले फोन गर्दै सोध्छन्, ‘अध्यक्षज्यू! तपार्इं रकम मागेको हो र? म्यासेज गरिरहनु भएको छ।’ शर्मा अचम्मित हुन्छन्। पैसा मागेको भन्दै शर्मालाई फोन आउन थालेपछि प्रहरीलाई खबर गरेको वडा अध्यक्ष शर्माले बताए। ‘मेरो आईड ह्याक गरेर पैसा मागिरहेको पाइयो’, उनले भने, ‘धन्न! कोही फस्नु भएन, मेरो फेसबुक ह्याक भएको सामाजिक संजालमा लेखेर हल्ला गराए।’

निरज र तिमिल्सेना प्रतिनिधि पात्रमात्र हुन्। पछिल्लो समय फेसबुक ह्याक गरेर रकम माग्ने गिरोह सक्रिय भएको छ। नागरिकलाई प्राप्त रर्कडमा दर्जनभन्दा चिरपरिचित व्यक्तिको आइडीमा रकम माग्ने गरेको खुलेको छ। ह्याक भएको आइडीबाट समस्या परेको भन्दै पैसा माग्ने गरेको भेटिएको छ। अघिल्लो साता गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाको फेसबुक आइडी बनाएर पैसा मागेको विषयले चर्चा पाएको थियो।

काठमाडौँमा परीक्षा दिन गएका देवकोटाको विषयमा सामाजिक संजालमा टिका टिप्पणी भयो। परीक्षा दिन आएका बेला मेरो आइडी बनाएर पैसाको मागेकोमा म दुःखी भएको अधिकृत देवकोटाले बताए। ‘मलाई थाहा छैन, मलाई लगातार फोन आउँदा अचम्भित बने’, उनले भने, ‘सरलाई के समस्या भयो र भन्ने फोनबाट  जवाफ आउँदा दुईदिन तनाव भयो।’ पैसा मागेको विषयमा बुझ्दा नक्कली आइडी बनाएर रकम मागेको खुलेको उनले बताए। यसरी ह्याक वा नयाँ आइडी बनाएर रकम मागिरहेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

दोषीलाई कारबाही गरिदिन साइबर ब्यूरोमा जानकारी पनि गराएका छन्। दोषीलाई पत्ता लगाइदिन घटनाका बारेमा सम्पूर्ण जानकारी काठमाडौंस्थित साईबर ब्यूरोलाई दिएको तिमिल्सेनाले बताए। ‘सुरुमा मेरो मात्र हो कि भन्ने लाग्यो’, नेता तिमिल्सेनाले भने, ‘बुझ्दै जाँदा ह्याक भएर पीडित भएका धेरै जना हुनु हुँदो रहेछ।’

फेसबुकको नक्कली आइडी र आइडी ह्याक भएको उजुरी परिरहेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए। ‘प्रहरीले उजुरी संकलन गरेर साईबर ब्यूरो पत्राचार गरेको छ’ उनले भने, ‘यो विषय प्राविधिक बिषय भएकाले उपचारको लागि समय लाग्ला, तर ढिला भएपनि दुरुस्त भइहाल्छ।’ साईबर ब्यूरोको निर्देशन अनुसार जिल्लाबाट प्रहरी परिचालित भई दोषी पक्राउ पर्ने कार्कीले दाबी गरे।

प्रकाशित: १५ पुस २०७८ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App