coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बीस वर्षदेखि प्रहरीको एउटै प्रस्ताव, सरकारको बेवास्ता

नेपाल प्रहरीले सरकारसँग बीस वर्षदेखि दोहोर्‍याएर एउटै प्रस्ताव राख्दा पनि बेवास्ता गरेको छ। भारतबाहेकका अन्य मुलुकमा पनि प्रहरी सहचारी खटाउन प्रस्ताव गरेको भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको छ। नेपालीको बढी उपस्थिति रहेको मुलुकमा प्रहरीले सहचारीको व्यवस्था गर्न माग गर्दै आएको छ। २०६७ सालदेखि निरन्तर रूपमा प्रहरीले सहचारी राख्न माग गरेको हो नेपालमा अपराध गरेर विभिन्न मुलुकमा लुक्न जाने र त्यहाँबाट पक्राउ गरी ल्याउन सहज हुने भएकाले सहचारीको व्यवस्था गर्न माग गरेको हो। 

प्रहरी प्रधान कार्यालयले सो प्रस्ताव अघि बढाएको भए पनि गृह मन्त्रालय त्यसलाई प्राथमिकतामा राखेको छैन। रमेश चन्द ठकुरीकै समयमा सहचारीको माग गरिएको थियो। त्यसलाई तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पनि निकै जोड गरेका थिए। तर अहिलेसम्म सरकारले सुनुवाइ गरेको छैन।

‘हामीले अहिले पनि सरकारसँग प्रहरी सहचारी राख्न माग गरेका छौं,’ एसएसपी वसन्तबहादुर कुँवरले भने। उनका अनुसार प्रहरी प्रधान कार्यालयले अन्तरदेशीय प्रकृतिका अपराधको सहज अनुसन्धान र नियन्त्रणका लागि ६ देशमा प्रहरी कन्सुलर राख्न नेपाल प्रहरीले पुनः प्रस्ताव गरेको जनाएको हो। मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई)मा प्रहरी सहचारी खटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ। त्यस्तै, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिको कार्यालयमा पनि सहचारी खटाउन प्रस्ताव गरिएको छ। 

यसअघि एसपीलाई व्यवथापन गर्नका लागि प्रस्ताव गरिएको थियो तर अहिले एसएसपीलाई व्यवस्थापन गर्नका लागि नेपाल प्रहरीले सहचारी खटाउने प्रस्ताव गरेको हो। भारतमा अहिले नेपाल प्रहरीको एसएसपी तहको दरबन्दी रहेको छ। श्रम सहचारी भएको भए दुबई, साउदी अरब, कतारलगायत मुलुकमा लुकेर रहेका अपराधी ल्याउन सहज हुने प्रहरीको दाबी छ। केही दिनअघि मात्रै युइई लुकेर बसेका सुन तस्करमा संलग्न रहेका कृष्णगोपाल अग्रवाल, पोखरामा हत्या अभियोग लागेको एक व्यक्ति पक्राउ गरेर नेपाल ल्याएको थियो।

प्रहरीका अनुसार अपराध गरेपछि विश्वका जुनसुकै कुनामा पुगे पनि उन्मुक्ति पाउन सम्भव हुँदैन भन्ने कुरालाई स्थापित गराउन पनि प्रहरी सहचरीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको प्रहरी प्रवक्ता कुँवरको भनाइ छ। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेर प्रहरीले अपराधमा संलग्न नेपाल ल्याएको बेला प्रहरी प्रधानकार्यालयले त्यहाँ परेको अप्ठेरोसहित मन्त्रालयमा सहचरीको व्यवस्था गरेको हो।

प्रहरीका अनुसार धेरै अपराधी नेपाल ल्याइएको भएपनि इन्टरपोलको सहयोग मात्रै रहेको तर नेपाल प्रहरीको उपस्थिति त्यहाँ भए झन् चाँडो हुने भएकाले पनि सहचारीको व्यवस्था गर्न लागेको हो। ‘तत्कालीन समयमा सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने सुटर सञ्जय स्माइली मगरलाई साउदी अरेबियामा पक्राउ गरेर ल्याइएको थियो। त्यस्तै, गैँडाको खाग तस्करी गिरोहका नाइके राजकुमार प्रजालाई मलेसियाबाट पक्राउ गरी ल्याइएको थियो। उनीहरू लुक्नकै लागि अरूको नामको पासपोर्टमा विदेश गएका थिए, हामीले यो विषयलाई पनि ध्यान दिनुस भनेका छौं,’ प्रहरी प्रवक्ता कुँवरले भने। 

प्रहरीका अनुसार ३३ किलो सुन तस्करीमा संलग्न भएबाहेक पनि अन्य व्यक्तिलाई विदेशमा पक्राउ गरी नेपाल ल्याइएको छ। त्यसकारण नेपालीहरूको जनघत्व भएका मुलुकमा सहचारीको आवश्यकता रहेको उनको भनाइ छ। प्रहरीले सन् २०१७ मा अमेरिकादेखि युएईसम्म लुकेर बसेका चारजनालाई ल्याएको थियो। हत्या मुद्दामा फरार भई अमेरिका पुगेका जीवनबहादुर अधिकारी, ३३ किलो सुन तस्करी मुद्दामा युएईमा लुकेका गुप्तलाल भुसाल र राजनप्रसाद पन्त तथा प्रेमिकालाई अपहरण गरी हत्या गर्ने प्रकाश लामिछानेलाई नेपाल ल्याइएको थियो।

त्यसैगरी हत्या मुद्दामा फरार तुलबहादुर सिँजालीलाई कतारबाट ल्याइएको थियो। त्यस्तै, हत्या मुद्दाकै फरार अभियुक्त मुखिया गुरुङलाई भारत र एमडी सकिल हुसेनलाई कतारबाट ल्याइयो। वन्यजन्तु तस्करीका कुख्यात अभियुक्त लोडु डिमेलाई पनि भारतबाटै ल्याइएको थियो। 

कुवेतमा बसेर मानव तस्करी गर्ने गिरोहका मीना लामा र उनका श्रीमान् श्याम लामालाई पनि नेपाल ल्याइएको थियो। ‘यसरी नेपाल प्रहरी र इन्टरपोलको सहकार्यमा धेरै अपराधीहरूलाई ल्याइएपनि अझै केही लुकेर बसेका छन्, कतिपय अपराधीहरू खुला रूपमा हिडेका छन् त्यस्ता अपराधी हुने मुलुक भनेकै मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई) हुन त्यसकारण पनि प्रहरीले सहचारीको व्यवस्था गर्नुपर्छ भनेको हो,’ प्रहरी प्रवक्ता कुँवरले भने।  

प्रहरीलाई आधुनिक बनाइने

नेपाल प्रहरीलाई विश्व प्रहरीसामु प्रतिस्पर्धी र विश्वासिलो बनाउन प्रहरी आधुनिकीकरण योजना बनाएको छ। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीलाई आधुनिकीकरण र साधनस्रोत सम्पन्न बनाउन ‘नेपाल प्रहरी आधुनिकीकरण योजना २०७८’ गृह मन्त्रालयमा पेस गरेको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई आवश्यक आधुनिक उपकरण आवश्यकता, तालिम, जनशक्ति, प्रविधिको उपयोग र खरिद तथा प्रयोगलगायतका विषय समेटिएको सो योजना पेस भएको हो।

प्रहरी प्रवक्ता कुँवरले आधुनिकीकरण योजना कार्यान्वयनका लागि मन्त्रालयमा पेस गरिएको जानकारी दिएका छन्। यसैगरी प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षत्रीले संगठनको दुरगामी लक्ष्यसहित आधुनिकीकरण अवधारणा पेस गर्न अतिरिक्त महानिरीक्षक (एआइजी) प्रद्युम्न कार्कीको संयोजकत्वमा समिति गठन गरेका छन्। समितिको सिफारिसका आधारमा आधुनिकीकरण अवधारणा ल्याइने प्रहरी प्रवक्ता कुँवरको दाबी छ। यस्तै प्रधान कार्यालयले ‘प्रहरीमा युवा आकर्षण’ र विश्वसनीयतासम्बन्धी अध्ययन गर्न पनि फिल्डमा केन्द्रबाट टोली खटाइएको जनाएको छ । टोलीले दिने रिपोर्टका आधारमा संगठनले आवश्यक कार्ययोजना र नीति तर्जुमा गर्ने प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए।

एसपीसहित ११ सय प्रहरी कारबाहीमा

नेपाल प्रहरीको नियमावली उल्लंघन गर्ने तथा आर्थिक कारोबारमा समेत मुछिएका १हजार १ सय प्रहरी कर्मचारीहरू कारबाहीमा परेको नेपाल प्रहरीले जनाएको छ। संगठनभित्रै महिला हिंसामा संलग्न रहेको तथा अन्य आँचार सहिंता उल्लंघन गरेको आरोपमा एसपीसहित कारवाहीमा परेका हुन्। नेपाल प्रहरीले पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ को साउन महिनादेखि मंसिर मसान्तसम्म ११ सय ४५ प्रहरी अधिकारी कारबाहीमा परेका हुन्। 

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार कारबाही पर्नेमा प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन्। प्रहरी नीरिक्षकदेखि एसपीसम्मका १९ जना अधिकारीहरू कारबाहीमा परेका छन्। तर प्रहरी प्रधानकार्यालयले उनीहरूलाई ठूलो कारबाही भने गरेको छैन। 

एसएसपी कुँवरका अनुसार एसपी ३ जना, डीएसपी ४ जना र इन्स्पेक्टरको संख्या १२ जना रहेको छ। प्रवक्ता समेत रहेका एसएसपी कुँवरले दिएको जानकारी अनुसार , प्रहरी नायब निरीक्षक (सई) ४६ जना, प्रहरी सहायक निरीक्षक (असई) ८६ जना, हवल्दार ३०५ जना, जवान ६ सय ७५ जना र कार्यालय सहयोगी १४ जना गरी जम्मा ११ सय ४५ प्रहरीलाई प्रहरी नियमावली अनुसार कारबाही गरिएको छ। उहाँहरूले प्रहरी आचरण तथा प्रहरी नियमावली विपरीत काम गरेकाले कारवाही गरिएको छ,’ एसएसपी कुँवरले भने।  

प्रहरी नियमावली विपरित कार्य गर्नेहरूलाई कारवाही गरिएको उनका भनाइ थियो। उनका अनुसार १९ सय ८० प्रहरीलाई पुरस्कार समेत दिइएछ। उत्कृष्ट काम गरेको भन्दै पुरस्कार पाउनेमा १ डिआइजी, ६ एसएसपी, २१ एसपी, ७७ डिएसपी, १ सय ६४ इन्स्पेक्टर छन्। त्यस्तै, २ सय ६४ सई, २ सय ८८ असई, ४ सय ४१ हवल्दार, ७ सय ३३ जवान र ३ कार्यालय सहयोगीलाई पुरस्कार दिइएको छ। गत आर्थिक वर्षको यही अवधिमा १ हजार ६ सय ९० जनाले पुरस्कार पाएका थिए भने ९ सय ४४ जनाले प्रहरी नियमावलीविपरीत कार्य गरेको भन्दै सजाय पाएका थिए। पुरस्कार पाउनेको संख्या १७.१६ प्रतिशतले बढेको छ भने सजाय हुनेको संख्या २१.२९ प्रतिशतले बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

बैंकिङ कसुरका उजुरी बढे

हत्या, बलात्कार जस्ता जघन्य प्रकृतिका घटनामा कमी आउँदा बैंकिङ कसुरका घटना भने डरलाग्दो गरी बढेको पाइएको छ। प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७८/७९ को पाँच महिने प्रगति विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो। प्रहरी प्रवक्ता एसएसपी कुँवरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म जघन्य प्रकृतिका घटनाहरू (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग) बढेका छन्। 

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा कर्तव्य ज्यानको मुद्दा १५.१७ प्रतिशतले घटेको छ। ज्यान मार्ने उद्योगको घटना पनि ३.९२ र आत्महत्या ११.१६ प्रतिशतले घटेको छ। तर, चोरी, ठगी, आपराधिक विश्वास घात, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर र बैंकिङ कसुरको घटना बढेको छ।

आर्थिक वर्ष ०७८÷७९ मा अनुसन्धान गरेको आर्थिक अपराधसम्बन्धीका विभिन्न मुद्दाहरू ६ अर्बभन्दा बढी रकम असुल्न गर्न बाँकी रहेको छ। आर्थिक अपराधअन्तर्गत चोरी (विद्युत पोल), सहकारी ठगी र बैकिङ कसूरमा ६ अर्ब , तीन करोड, चार लाख, ५८ हजार, तीन सय १८ रूपैयाँ बिगो रकम असुल्न हुन बाँकी रहेको तथ्यांकले देखाएको छ। जसमध्ये सहकारी ठगीबाट पाँच अर्ब, ८० करोड, ९८ लाख, दुई हजार सात सय ५९ रूपैयाँ, बैकिङ कसूरबाट २१ करोड, ९० लाख, ८७ हजार ९३६ रूपैयाँ र चोरी (विद्युत पोल)बाट १५ लाख, ६७ हजार ६१९ रूपैयाँ बिगो रकम असुल गर्न बाँकी रहेको छ। 

चालु आर्थिक वर्ष ०७८/७९ मा बैकिङ कसूरअन्तर्गतका दुई मुद्दामा ९ जना, सहकारी ठगीको एक मुद्दामा १२ जना र चोरी (विद्युत् पोल)को एक मुद्दामा ९ गरी ३० जना अभियुक्त पक्राउ परिसकेका छन्। ठगी १६.४१ र बैंकिङ कसुरको घटना १०५.३४ प्रतिशतले बढेको एसएसपी कुँवरले बताए। अघिल्लोपटक लकडाउनका कारण मानिसहरू घरमै भएका कारण चोरीको घटना कम भएकोमा अहिले भने उक्त घटना बढेको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा ५३.०४ प्रतिशतले चोरी बढेको छ।

प्रकाशित: १५ पुस २०७८ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App