१५ चैत्र २०८० बिहीबार
समाज

जनमतको उग्रतालाई दल र प्रशासनको धाप

दलको चेतावनीपछि हटाइयो निषेधाज्ञा, छुटे पक्राउ परेकाहरु

छ दलले जारी गरेको चेतावनीसहितको विज्ञप्ती। छ दलको विज्ञप्तीपछि पछि हट्दै सिरहा प्रशासनले हटाएको निषेधाज्ञा सम्बन्धी सूचना।

सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि सिरहा प्रशासनले दुई दिनको लागि जारी गरेको राजमार्ग क्षेत्रमा निषेधाज्ञा ६ दलको चतावनीपछि हटाइएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा(एस), माओवादी केन्द्र, जसपा र लोसपा सिरहाले संयुक्त रुपमा चेतावनी दिएको केही घण्टामै सिरहा प्रशासनले निषेधाज्ञा फिर्ता लिएको छ। प्रशासनले निषेधाज्ञा फिर्तासँगै पक्राउ परेका सबैलाई छाडिदिएको छ।

जनमत पार्टीले चक्काजामसहितका आन्दोलन थालेपछि प्रशासनले मंगलबार बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा (चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबायाँ लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो।

प्रशासनकाअनुसार निषेधित क्षेत्रमा समूहमा हिँड्डुल गर्न नपाइने, पाँच जनाभन्दा बढी भेला हुन पनि नपाइने थियो भने सभा तथा जुलुस गर्न नपाउने आदेश थियो। यद्यपी उक्त आदेश अवज्ञा गर्दै जनमत कार्यकर्ता सवारी अवागमन अवरुद्ध पार्नेदेखि प्रदर्शन समेत गरेका थिए।

मंगलबार दिउँसो छ दलले संयुक्त रुपमा सिरहा जिल्लाका छ दलले जनमत पार्टीले पछिल्लो समय बन्द, हडताल, सवारी साधन तोडफोड र आजगनी गरीएको घटनाप्रती ध्यानाकर्षण भएको जनाएको छ। यस गतिविधिमा संलग्नहरु प्रहरी नियन्त्रणमा रहेको उल्लेख गर्दै छ दलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रहरीले विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेका सम्पूर्ण व्यक्तिलाई अबिलम्ब थुनामुक्त गरोस्। प्रशासनले जारी गरेको निषेधाज्ञा आदेश समेत फिर्ता लिन हामी जोडदार माग गर्दछौ विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हाम्रो माग बेवास्ता गरि अगाडि बढे यसबाट उत्पन्न हुने परिस्थिति र परिणामको जिम्मा प्रशासन नै हुने चेतावनी दिन चाहन्छौं।’

दलहरुको यो विज्ञप्ती जिल्ला प्रशासन कार्यालयको आधिकारिक फेसबुक पेज हेल्लो जिल्ला प्रशासनमा समेत पोष्ट भएको थियो। प्रशासनले आफै दलको विज्ञप्ती पोष्ट गरेर केही घण्टापछि हटाएका थिए। लगत्तै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाइएको सूचना जारी गरेका थिए। र, पक्राउ परेका सम्पूर्ण व्यक्तिलाई समेत थुनामुक्त गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले नागरिकसँग भने, ‘पक्राउ परेको सबै जना आज(मंगलबार) छुटेका छन्। निषेधाज्ञा पनि हटाइएको छ।’

गत मंगलबार औरही गाउँपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा भण्डारन गरी राखिएको करिब दुई सय बोरा गहुँको बिउ लुटिएको थियो। केही उछृंखल व्यक्तिको उक्साहटमा गहुँको बिउ लुटिएपछि औरही गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी गरेको थियो। उजुरीको आधारमा प्रहरीले औरही गाउँपालिका–३ का मिथलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रोअन्तर्गत मुद्दा दर्ता गरी कारवाही चलाएका थिए।

पक्राउ परेका यादवको रिहाइका लागि जनमत पार्टी दबाव स्वरुप औरही गाउँपालिका कार्यालयमा तालाबन्दी गरे। पक्राउ परेका यादवलाई प्रहरीले नछोडेपछि जनमत पार्टीले आइतबार सिरहा जिल्ला आमहड्तालको घोषणा गरे। सो क्रममा एउटा मालबाहक ट्रकमा आगजनीसँगै १५ वटा निजी तथा सार्वजनिक सवारी साधनमा तोडफोड भएको थियो। तोडफोड र आगजनीमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

औरही गाउँपालिकाले आफ्नो भौगोलिक सीमाभित्रका किसानलाई पूर्ण अनुदानमा वितरण गर्न गौतम, विजय र एनएल–९७१ प्रजातिको गहुँको बिउ ल्याएको थियो। टेन्डर प्रक्रियाबाट गत २९ मंसिरमा दुई हजार ६ सय ४० क्विन्टल बिउ ल्याइएको थियो। किसानलाई वितरण गरेर केही बोरा पुनः वितरण गर्नका लागि गोदाममा राखिएको बिउ लुटिएको थियो।

प्रकाशित: १३ पुस २०७८ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App