१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक सिँगार्ने अभियान

विराटनगरको हिमालय रोडलाई सौन्दर्यीकरणको संरचना तयार गर्दै। तस्बिरः चुमन/नागरिक

विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्रका महत्वपूर्ण सडकहरुलाई सिँगार्ने अभियान सुरु गरिएको छ।

विराटनगरको मुख्य बजार क्षेत्रभित्र रहेको हिमालय रोडलाई सौन्दर्यीकरण गर्ने अभियानअन्तर्गत कन्स्ट्रक्सनको काम धमाधम भइरहेको छ। हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोड जस्तै बनाउनका लागि विराटनगर महानगरपालिकाले काम थालेको हो। निर्माण संरचनालाई कुनै किसिमको क्षति नपुग्ने गरी कूल १ सय ४० मिटरको लम्बाइ र नाला बाहेक ११.६ मिटरको चौडाइमा सौन्दर्यीककरण (ब्युटिफिकेसन)को काम भइरहेको महानगरले जनाएको छ। फुटपाथसमेत अतिक्रमण नहुने गरी आकस्मिक वाहनको आवागमनका लागि पर्याप्त ठाउँ छुट्याएर निर्माण कार्य थालनी गरिएको हो।

विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोक जोड्ने सडकलाई ४ भागमा वर्गीकरण गरेर निर्माणको काम थालिएको छ। सडकको पश्चिमतर्फ सेक्सन ‘ए’मा खुल्ला क्षेत्र र विभिन्न कार्यक्रम सञ्चालनका लागि स्टेज, सेक्सन ‘बि’मा हरियाली पार्क, सेक्सन ‘सी’मा फाउन्टेन वाटरपार्क र जनचेतनामुलक तथा सडक नाटकलगायतका कार्यक्रम सञ्चालनका लागि एमफी थिएटर तथा सेक्सन ‘डि’मा २ चक्के सवारीसाधनका लागि पार्किङ क्षेत्र बनाउने योजनासहित काम भइरहेको महानगरका इन्जिनियर सुजनराज श्रेष्ठले बताए। उनले विराटनगरकै कला बिल्र्डसले ३७.५३ प्रतिशत कम कबोल अंकमा योजनाको ठेक्का सम्झौता गरी काम अघि बढाएको जानकारी दिए।

महानगरले १ करोड ६१ लाख ४२ हजार १ सय ८३ रुपैयाँको लागत अनुमान गरे पनि कला बिल्र्डसले १ करोड ८३ हजार २ सय ७२ रुपैयाँमा योजनाको ठेक्का सम्झौता भएको हो। सडकको दुवैतर्फ रहेको पसल व्यवसायलाई कुनै अवरोध सिर्जना नहुने गरी रोडको सौन्दर्यीकरण गरिएको महानगरको दाबी छ। मालसामान ओसारपोसारका लागि सेक्सन बि, सि र डिसम्मको क्षेत्रमा सवारीसाधन लैजान पाइने कुरालाई दृृष्टिगत गर्दै निर्माण प्रक्रिया थालेको महानगरले जनाएको छ।

महानगरका अनुसार ४ चक्के सवारीसाधन पार्किङका लागि सडकको पश्चिमतर्फ ८ सय स्क्वायर फिटको पार्किङ क्षेत्र निर्माण गरिने छ। आर्थिक वर्ष २०७५/०७६ मै विराटनगरको हिमालय रोडलाई सौन्दर्यीकरण गर्दै सिक्किमको एमजी रोडको स्तरमा लैजाने निर्णय गरेको थियो। तर, कोभिडको महामारीलगायतका कारणले उक्त योेजना कार्यान्वयनमा ढिलाई भएको हो। २०७८ असार २२ गते अन्तिम डिपिआरसहितको डिजाइन स्वीकृत भई काम गर्ने सम्झौता भएको थियो।  

विराटनगरको ऐतिहासिक महत्व बोकेको तथा जनआन्दोलन रोडका रुपमा समेत पहिचान बनाएको उक्त रोडको गरिमा अझ बढ्ने गरी सौन्दर्यीकरण थालेको महानगरको भनाइ छ। ‘स्थानीय घरधुरीसँग निर्माणका विषयमा गुरुयोजना बनाउँदै सहमति गरिएको, स्थानीयको सुझावका आधारमा निर्माणका कार्यहरु समाविष्ट गरिएको हो,’ महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने, ‘रोड ब्लक नहुने गरी आवागमन व्यवस्थित गर्न लागिएको, रथयात्रामा समस्या नपर्ने, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक आवागमन नरोकिने र पार्किङको समेत व्यवस्थापन हुने गरी ब्युटिफिकेसन गर्ने काम थालिएको हो।’

बन्न लागेको सडकमा घुम्न आउनेलाई बस्ने ठाउँ, स्ट्रिट फुडका स्टल, सडकको दुवै किनारमा आकर्षक रंगरोगनका साथै फूलका सजावट गरिने महानगरले जनाएको छ।

हिमालय रोडमा घुम्न आउनेका लागि सुरक्षाको व्यवस्था, सिसी क्यामेराबाट २४ सै घण्टा निगरानी, विद्युत् नियमित हुने, आकर्षक मूर्तिहरु राखिने छ।  

हिमालय रोडमा एउटा नमुना सडक पार्क बनाउने महानगरको योजना धेरै राम्रो छ,’ इन्जिनियर राजु तामाङले भने, ‘यस योजनालाई नगरवासीले गौरवमका रुपमा लिनु पर्छ। यहाँका व्यवसायीलाई समस्या नहुने गरी निर्माण गर्ने सडक पार्कलाई विरोध होइन सहयोग गर्नुपर्छ।’ हामी नै साँझ परेपछि एकछिन रमाइलो गर्न जाँऊ भन्दा कही छैन। तर, महानगरले यो नमुना काम गरेको छ। बाहिरबाट आउने पाहुनालाई घुम्न जाउन न भन्दा घुमाउने ठाउँ नै थिएन। विराटनगरको बीच भागबाट जाने ६ लेन सडकमा ठूला मालवाहक सवारीका कारण जाम र दुर्घटनाको जोखिम हुने भएकाले, त्यसको विकल्पमा रिङ रोडबाट बाइपास गराउनु पर्छ तामाङले भने।  

सडक सौन्दर्यीकरणको विरोध

विराटनगरका बुद्धिजीवीका नाममा केही व्यक्तिहरुले सडक सौन्दर्यीकरणको विरोध गरेका छन्। उनीहरुले मुख्य लोकमार्गसँगको जोड्ने सडक चोकमा सौन्दर्यीकरण गर्न नहुने भनेर महानगरको विरोध गर्दै आएका छन्। व्यस्त सडक र व्यवसायीलाई ठूलो असर पुग्ने दाबी गर्दै। उनीहरुले यस योजनालाई अन्यत्र लैजानु पर्ने माग राखेका छन्। यस अघि पनि यहाँका केही बुद्धिजीवी वर्गले महानगरले ल्याएको योजना विरोध गरेका थिए। महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल रेग्मीले नगर क्षेत्रभित्र रहेका साँघुरो सडकलाई चौडा बनाउने योजनाको समेत विरोध गरेका थिए।  

विराटनगरमा हुने विकास निर्माणका काममा सधैँ विरोध र अवरोध हुने गरेको छ। फोहोर मैला व्यवस्थापनका लागि व्यवस्थित डम्पिङ साइड निर्माणदेखि लिएर आकासे पुल निर्माणसम्मका धेरै योजना सुरुवात गर्नु अघि नै विरोध भएपछि अघि बढ्न सकेनन्। २ महिना अघि ४ वटा आकासे पुल निर्माणका लागि जग खन्ने क्रममै स्थानीयले अवरोध गरे। ठेक्का लागी सकेको आकासे पुलको काम भौतिक निर्माण सुरु नहुँदै अलपत्र परेको छ। विराटनगरको रिङ रोड निर्माणको काम ३ दशक पुग्न लाग्दासमेत विभिन्न ठाउँमा स्थानीयको अवरोधले ट्याकसमेत पूरा हुन सकेको छैन।

प्रकाशित: १२ पुस २०७८ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App