६ वैशाख २०८१ बिहीबार
समाज

भक्तपुर दरबार क्षेत्रको ‘नाक’ ठडियो

२०७२ वैशाख १२ गतेको भूकम्पले अन्य ठाउँमा जस्तै भक्तपुर दरबार क्षेत्रका सम्पदा पनि ढले।   दरबार क्षेत्रको आकर्षक मानिने नृत्य वत्सला मन्दिर पनि पूर्ण क्षति भयो। नौवटा सुनको गजुरसहितको यो मन्दिर ढल्दा दरबार क्षेत्रको नाकै नभएको जस्तो देखिन्थ्यो। नगरपालिकाको निरन्तर मेहेनतपछि नगरको यो नाक झनै बलियोसंग ठडिएको छ।

बासुरीको मिठो लय, धिमेको सुमधुर धुन र नृत्यागंनाको सानदार नृत्यसंगै भक्तपुरको दरबार क्षेत्र (लायकु) मा अवस्थित ‘नृत्य वत्सला मन्दिर’ को  शनिबार एक समारोहबीच उद्घाटन हुँदा नगरवासी निकै हर्षित भए। २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण क्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको हो।

तीनवटा भूकम्पले लगातार भत्काएको भक्तपुर दरबार क्षेत्रको मुटुमा रहेको वत्सला मन्दिरको भित्रि संरचनामा केही परिवर्तन गरेसँगै झनै मजबुत बनेको छ। भक्तपुरका अन्य थुप्रै मन्दिर जोगिए पनि ढुंगाले बनेको यो मन्दिर १८९१, १९९० र २०७२ सालको भूकम्पले भत्काएको थियो। पछिल्लो भूकम्पमा पनि मन्दिरको भाग पूरै भत्किएपछि यसको बनावट वा जगबारे अध्ययन गरेर निर्माण कार्य सम्पन्न गरिएको हो।

भक्तपुरस्थित ख्वप इन्जिनियरिङ कलेज र भक्तपुर नगरपालिकाले गरेको अध्ययनले यसमा रहेको मूल कमजोरी पत्ता लगाएको हो। ‘ढुंगैढुंगाबाट बनेको यो मन्दिरभित्र कुनै सपोर्ट नरहेको भेटियो,’ वास्तुशास्त्रकी जानकार समेत रहेकी उपमेयर रजनी जोशी भन्छिन्, ‘मन्दिरभित्र काठको फ्रेम राखेसँगै यो बलियो बन्न पुगेको छ।’ काठको फेम प्रयोग गर्दा यसको परम्परा र मौलिकपनमा कुनै असर नपुर्‍याइएको उनको भनाइ छ।

संस्कृतिविद् आम धैभडेलका अनुसार भक्तपुरका राजा जितामित्र मल्लले ने.सं. ७९८ मा बनाएको यो मन्दिर जताबाट हेरेपनि उस्तै सुन्दर लाग्ने गर्छ।

२०७३ कात्तिकबाट १ करोड २८ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सुरु भएको यस मन्दिरको निर्माण कार्य ७७ लाख रुपैयाँको हाराहारीमा सम्पन्न भएको नृत्य वत्सला मन्दिर उपभोक्ता समितिका अध्यक्ष रामहरि गोराले जानकारी दिए।

जताबाट हेरे पनि उस्तै राम्रो  

संस्कृतिविद् आम धैभडेलका अनुसार भक्तपुरका राजा जितामित्र मल्लले ने.सं. ७९८ मा बनाएको यो मन्दिर जताबाट हेरे पनि उस्तै सुन्दर लाग्ने गर्छ। यो मन्दिर बनाउन लगाउँदा पाटनको प्रसिद्ध कृष्ण मन्दिरको शैली अपनाइएको थियो। नौवटा सुनको गजुरसहितको यो मन्दिरको मूल गर्भगृहमा पूर्णकलशमाथि श्रीयन्त्र कुँदिएको धौभडेल बताउँछन्।

मन्दिरमा ढुंगाका अत्यन्त राम्रा–राम्रा नवदुर्गा, अष्टमातृका एवं भैरवका मूर्ति चारैतिर देखिनुका साथै असल ढुंगाका खम्बा यस मन्दिरका आकर्षणका रूपमा रहेको उनले बताए।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले मन्दिर उद्घाटन गर्दै ढुंगै ढुंगाले बनेको शिखर शैलीका वत्सला मन्दिर पुनःनिर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको  बताए। भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको उनले सुनाए।

नेपालका प्राचिन र ऐतिहासिक सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन भएको बताउँदै अध्यक्ष बिजुक्छेँले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको खण्डमा स्थानीय जनताको मर्मअनुरुप काम गर्न सहज हुने सुनाए।

नेपालका सम्पदाहरु अध्ययन अनुसन्धानमा विदेशीहरुको रुची हुनु स्वाभाविक भएको बताउँँदै अध्यक्ष बिजुक्छेँले नेपाली विद्यार्थीहरुलाई नै यहाँका सम्पदाहरुको विषयमा अध्ययन अनुसन्धान गराउनेतर्फ प्रेरित गर्नुपर्नेमा उनको जोड थियो।

नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले भक्तपुरको सम्पदा संरक्षण भक्तपुरवासी जनताले आफ्नो साझा दायित्वको रुपमा लिएको बताउँदै मन्दिर पुनःनिर्माण गर्ने भक्तपुर नपा, उपभोक्ता समिति र पुनःनिर्माणमा आबद्ध कालीगढ सबै धन्यवादका पात्र भएको बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत वत्सला मन्दिर पुनःनिर्माण गरेको स्मरण गरे। 

वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. १ करोड २८ लाख ६२ हजार लगत इस्टमेट पारित गरेको र उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी राखी काम गर्दा रु. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले जानकारी दिए।

संस्कृतविद् तेजेश्वरबाबु गोंगले सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुरका कालीगढको उत्कृष्ट सीप सम्मानजनक भएको बताउँदै वत्सला मन्दिरबारे सूक्ष्म रुपमा अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताए। इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण गर्ने सीप अहिले पनि जीवित रहनु सुखद् पक्ष भएको बताउँदै वत्सला सम्बन्धी प्रकाशित पुस्तकले अध्ययन अनुसन्धान गर्ने विद्यार्थी तथा अनुसन्धाताहरुलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित: ११ पुस २०७८ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App