७ वैशाख २०८१ शुक्रबार
समाज

वडाध्यक्षको मनोमानीः कार्यकर्तालाई राहात, किसानलाई आहात

गुलरिया नगरपालिका वडा–९ का अध्यक्ष हरी पासीले मनोमानी गरेको तथ्य सार्वजनिक भएको छ। किसानले पाउने क्षतिपूर्तिका लागि गरेको सिफारिसमा वडाध्यक्षले मनोमानी गरेको खुलासा भएको हो। बाढीपीडित किसानको नाम सिफारिस गर्नु पर्नेमा अवैध असुल गरेर गैर बाढीपीडितलाई सिफारिस गरेको भन्दै स्थानीय आक्रोषित छन्।

असोज ३१ र कात्तिक ३ गते बेमौसमी बर्षाका कारण डुबानमा परेका किसानको नामावली लगत संकलन गर्दा किसानलाई दिने राहतमा कार्यकर्तालाई समावेश गरी अध्यक्ष पासीले सिफारिस गरेको भन्दै स्थानीय किसान आन्दोलनमा उत्रेका छन्।

किसानले कार्यालयमा बुझाएका निवेदनलाई लुकाएर कार्यकर्ताको नाम सिफारिस गरेकोे वडाध्यक्षलाई आरोप लागेको छ। ५ सयभन्दा बढी किसानको नामावली संकलन र निवेदनलाई लत्याएर गैर बाढीपीडित ९ सय ७६ जनाको नाम कृषि शाखालाई सिफारिस गरेको पाइएको छ।  

आक्रोषित किसानले वडाध्यक्षविरुद्धमा दिनदिनै चर्को नाराबाजी गरिरहेका छन्। आन्दोलनमा उत्रेका किसानका कारण वडा कार्यालयको कामकाज ठप्प छ। वडाध्यक्ष पासीले मनोमानी गरेको भन्दै तत्काल किसानको माग सम्बोधन गर्न पर्ने एमालेका गुलरिया नगरपालिकाका नगर अध्यक्ष अंमर खड्काले बताए। वास्तविक किसानको निवेदन लुकाएर गैर बाढीपीडितलाई राहत वितरण गर्न पाइन्छ भन्ने प्रतिप्रश्न गर्दे वास्तविक किसान राहतबाट वन्चित भए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उनले बताए।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनार समक्ष किसानको माग सम्बोधन गर्न ज्ञापन पत्र बुझाएका छन्। मंगलबार ताराबहादुर सुनारको नेतृत्वमा निस्केको आक्रोषित किसानले निष्पक्ष छानबिन गर्न दवाव सुरु प्रदर्शन गरेका थिए। प्रदर्शन गर्ने क्रममा रहेका किसानलाई अध्यक्ष पासीले धरपकड गरेको सार्वजनिक भएको छ।

निष्पक्ष छानबिनको मागका लागि आन्दोलनमा उत्रेका किसानले मंगलबार अध्यक्ष पासीको पुत्ला दहन गरेको थियो। अध्यक्ष पासी मुर्दाबाट, किसानको सिफारिसको नामावलीका निष्पक्ष छानबिन गर, लगायत माग किसानले अघि सारेका छन्। कृषि शाखामा सिफारिस भएका नामावली वास्तविक भएको अध्यक्ष पासीले बताए। ‘कर्मचारीको त्रुटिले निवेदन हराएका होलान्’, उनले भने,‘आन्दोलनकारीले भने जस्तो होइन।’

बेमौसमी बर्षाले क्षति भएको राहतका लागि गर्ने सिफारिसमा अनिमियतता भएको कुरा बाहिर आएको प्रमुख जिल्ला अधिकारी सुनाले बताए। ‘वडा कार्यालयले गरेको सिफारिसको बारेमा कुरा आएको छ, ज्ञापन पत्र पनि बुझेको छु’, उनले भने,‘सत्य तथ्य छानबिनको लागि प्रक्रिया अघि बढाउँछु।’

प्रकाशित: ८ पुस २०७८ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App