coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ललिता निवास प्रकरण: मुख्य आरोपित सुवेदी पक्राउ

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार राजधानीको कमलादी र ताहाचल क्षेत्रबाट सुवेदी दम्पतीलाई पक्राउ गरेको हो। 

‘ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियुक्त भनिएका उनीहरूलाई मंगलबार राति राजधानीको कमलादी र ताहाचल क्षेत्रबाट पक्राउ गरिएको छ,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने, ‘काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।’

मालपोत कार्यालयमा लेखनदासको काम गर्ने सुवेदी शोभाकान्त ढकाललगायत विभिन्न व्यक्तिसँग मिलेर सरकारी जग्गा व्यक्तिका नाममा सारेर किर्ते गर्ने काममा सक्रिय भएका थिए। पूर्वसचिव शारदा त्रितालको संयोजकत्वमा गठित छानबिन समितिले उनी र शोभाकान्त ढकाललाई भूमाफिया भनेर किटान गरेको थियो।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशमशेरको परिवार र नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको ब्युरोको अनुसन्धानबाट खुलेको थियो। उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो। सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।  

समितिले २०४९, २०६२, २०६६/६७ र २०६९ का विभिन्न सरकारका पालामा नेता, सरकारी कर्मचारी, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर उनीहरूले १ सय ३६ रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा सारेको जनाउँदै थप अनुसन्धानका लागि ब्युरोलाई सिफारिस गरेको थियो। त्यसलगत्तै सुवेदी दम्पती फरार थिए। 

समितिको सिफारिसका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा सरकारी जग्गा व्यक्तिका नाममा सार्ने सुवेदी दम्पतीसहित ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री र अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध बिगो कैदसहित हडपिएको जग्गा फिर्ताको मागदाबी गरी २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।  

मुख्य अभियुक्त सुवेदी दम्पती पक्राउ परेलगत्तै ब्युरोले ललिता निवास जग्गा प्रकरण मुद्दामा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको ब्युरोका प्रवक्ता महतोले जानकारी गराएका थिए। पक्राउ परेका सुवेदी दम्पतीसहितका प्रतिवादीविरुद्ध ब्युरोले मुद्दा दायर गर्ने भएको छ।

प्रकाशित: ८ पुस २०७८ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App