७ वैशाख २०८१ शुक्रबार
समाज

लागुऔषधको प्रयोगले समाजमा अपराध बढ्दै

कैलाली र कन्चनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ। ब्राउन सुगरलगायतका लागुपदार्थ प्रयोग गर्ने सानो उमेरका किशोरकिशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको छ। बढ्दो लागुऔषधको प्रयोगले चोरी, लुटपात, कुटपिट, हत्या, बलात्कार जस्ता समाजमा अपराधीक घटना बढ्दै गएका छन्।

लागुऔषध प्रयोगकर्ताका कारण सर्वसधारण असुरक्षित बन्न थालेको स्थानीयको भनाइ छ। ‘केही दिनअघि म घरमा सुतिरहेको अवस्थामा राति १० बजे घर अगाडि आएर १०/१२ जनाको समूहमा रहेका युवाहरू होहल्ला गर्न थाले, ढोका बाहिर निस्केर किन हल्ला गर्छौं भनेर भन्दा मलाई सडकमा लगेर कुटपिट गरे, छिमेकी आएपछि ज्यान जोगियो,’ धनगढीका पत्रकार दिपक ओलीले भने, ‘युवाहरू लागुऔषधको प्रयोग गर्ने र अपराधमा संलग्न हुने क्रम चिन्ता जनक ढंगले बढ्दै गएको छ।’

यसै धनगढी नगर क्षेत्रका विभिन्न स्थानमा रातिसम्म लागुऔषधको दुर्व्यसनमा फसेका युवाको समूह बस्ने गरेकाले राति हिँड्डुल गर्न पनि असुरक्षित बनेको स्थानीयको भनाइ छ। लागुऔषध प्रयोग गर्ने युवाहरूकै कारण हत्या, लुटपाट, चोरी जस्ता अपराधका घटना बढ्दै गएको प्रहरीको भनाइ छ। आफ्नो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरू जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ।

लागुऔषधको बढ्दो प्रयोगले समाज नै असुरक्षित हुँदै गएकोमा स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्। राज्यका निकायले लागुऔषधको कारोबार र प्रयोगको नियन्त्रण प्रभावकारी ढंगले गर्न सकेको देखिँदैन। सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगरलगायतका लागु पदार्थ ल्याएर बिक्री गर्ने ‘गिरोह’ सक्रिय रहेको छ। लागुऔषधको कारोबार गर्ने गिरोहले किशोर किशोरी र यवायुवतीलाई बिक्री गर्ने गरेको छ।

लागु पदार्थको कारोबारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरूको संलग्नता रहेको स्रोतले बताएको छ। प्रहरीले लागुऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने मुख्य गिरोहका व्यक्तिलाई समातेर कारबाही गर्न सकेको छैन। नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले खुला सीमाका कारण भारतबाट लागुऔषध भित्रिने गरेको बताउँछन्। लागुऔषध फेला परेका कसैलाई पनि प्रहरीले समातेर कारबाही गर्ने गरेको बताउँदै कारोबार गर्ने मुख्य व्यक्ति आफू लागुऔषध नबोक्ने र पक्राउ परेका व्यक्तिले समेत उनीहरूको बारेमा जानकारी नदिने गरेकाले समस्या भएको बताए।

लागु पदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने किशोर किशोरीदेखि कलेज पढ्ने विद्यार्थीलाई समेत लतमा पारेर बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ। भारतका सिमावर्ती सहरबाट ब्राउन सुगरलगायतका लागु पदार्थ बोकेर ल्याउने र प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन। ‘प्रहरीले लागु पदार्थ प्रयोग गर्ने, बोक्नेलाई पक्राउ गरे पनि मुख्य कारोबार गर्नेलाई पक्राउ नगरेसम्म चिन्ताजनक रूपले बढीरहेको लागुऔषधको नियन्त्रण हुन नसक्ने देखिन्छ।

यहाँका युवाहरू विद्यालय तथा कलेज पढ्ने उमेरमा पनि लागु पदार्थको लतमा फसेको स्थानीयको भनाइ छ। विद्यार्थी पोशाकमै एकान्त ठाउँमा लुकेर लागु पदार्थ प्रयोग गर्ने गरेका छन्। समाजमा डरलाग्दो गरि लागुऔषधको समस्या देखिएको छ। ‘युवाहरू यसरी लागुऔषधको दुर्व्यसनमा लाग्नु समाज र हाम्रा सन्तानकै लागि ठूलो चिन्ताको विषय बनेको छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठकले भने, ‘देश विकासको आधार मानिने युवा शक्ति लागुऔषधले बर्बाद भइरहेको छ।’

अभिभावकले समयमै आफ्ना छोराछोरीप्रति निगरानी नराख्दा लागुऔषध दुर्व्यसनको दलदलमा फस्ने गरेका छन्। एकिन तथ्यांक नभए पनि लागुऔषधको दुर्व्यसनको धेरैको अकालमै ज्यान गइसकेको छ। कयौंको जीवन बर्बाद भएको छ।

प्रकाशित: ४ पुस २०७८ ०४:२६ आइतबार

लागुऔषधको प्रयोग चिन्ताजनक ढंग खुला सीमानाका