७ वैशाख २०८१ शुक्रबार
समाज

वैदेशिक रोजगारसँगै सिर्जित समस्याबारे चिन्ता

वैदेशिक रोजगारका कारण समाजमा विभिनन समस्या देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारले विप्रेषण, सीप र अनुभव भित्र्याए पनि सामाजिक असर पारिरहेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका हुन्।

सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक रितुराम सोतीले वैदेशिक रोजगारका कारण परिवार तथा बालबच्चाबाट टाढा हुने, बालबच्चा र वृद्धा सदस्यको हेरचाहमा कमी, पारिवारिक बेमेल, विखण्डन, छोडपत्र र सामाजिक लाञ्छना, मानसिक तनावजस्ता समस्या निम्तिएको बताए। वैदेशिक रोजगारीका कारण ऋण, ठगी, कारागार, शोषण, अलपत्र, अंगभंग र मृत्युसम्मका घटना भएका प्रशस्त उदाहरण रहेको जनाउँदै सोतीले यसलाई न्यूनीकरण गर्नतर्फ लाग्नुपर्ने बताए। हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)को आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक समस्याबारे कार्यपत्र प्रस्तुत गर्दै सोतीले वैदेशिक रोजगारीका कारण सामाजिक विकृति बढ्दै गएको बताए। 

त्यस्तै, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले वैदेशिक रोजगारीले आर्थिक अवस्था सबल बनाए पनि सामाजिक लागत एवं विकृति निम्त्याएको बताए। उनले त्यस्ता घटना कम गर्नतर्फ समाजमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए। वैदेशिक रोजगारबाट पाएको सीप, अनुभव र रेमिट्यान्सको सही सदुपयोग गर्नुपर्ने भन्दै आलेले शिक्षा नै समुन्नत समाजका लागि मागदर्शन भएकाले सबैलाई वैदेशिक रोगजारीबारे सही जानकारी दिनुपर्ने बताए।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले अहिले चेतनास्तर वृद्धि हुँदै गएको बताउँदै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको सुधार गर्दै गइयो भने लैंगिक विभेद एवं लाञ्छना कम हुने बताए। हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले समाज विस्तारै परिवर्तन हुँदै गइरहेको बताउँदै सबैको सहयोगले सभ्य र सुसज्जित समाजको निर्माणमा जुट्नुपर्ने उल्लेख गरे।

प्रकाशित: ४ पुस २०७८ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App