coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ज्यानमारा बन्दै बैतडीका सडक

देहीमाण्डौ–गिरेगाडा सडक स्तरोन्नती गरिँदै। तस्बिरः बिरा/नागरिक

मंसिर २० गते पाटनबाट कैलपाल जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए भने ५ जना घाइते भए। सिमसिम पानी परिरहेको साँझको समयमा कच्ची बाटोमा उकालोमा रोकेको जिप चिप्लिएर तल खस्दा दुर्घटना भयो। मंसिर ५ गते सदरमुकाम गोठालापानी नजिकै जन्ती बोकेको जिप खस्दा ६ जनाले ज्यान गुमाए। 

चालकले मदिरा सेवन गरेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरी रिपोर्टले देखाएको छ। यि दुवै सडक दुर्घटनामा परी एक महिनाको अवधिमा ११ जनाले ज्यान गुमाए। एक महिनाको अवधिमा ४ वटा सडक दुर्घटनामा परी १६ जना घाइते भएका  छन्।

जिल्लामा अधिकांश दुर्घटना कच्ची सडकमा हुने गरेका छन्। बिना स्टमेट डोजरले खनिएका ज्यानमारा बन्दै गएका छन्। ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार बैतडीमा चालु आर्थिक वर्षको अहिलेसम्म सडक दुर्घटना परेर १५ जनाले ज्यान गुमाएका छन्। जोखिमयुक्त ग्रामीण सडकमा चालकले जबरजस्ती गाडी चलाउँदा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका थिए। ती सवारी दुर्घटनामा परेर ७८ जना घाइते भएका छन्। गत आर्थिक वर्षमा भएका १४ वटा सवारी दुर्घटना मध्ये ११ वटा कच्ची सडकमा भएका प्रहरी निरीक्षक खड्काले जानकारी दिए। ग्रामीण कच्ची सडकहरु गुणस्तरीय नहुनु, मोडहरुमा समस्या हुनु, अनुभवी चालक नहुनु लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएको छ। ग्रामीण कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण पनि सडक दुर्घटना बढ्दै गएको हो।

जोखिमपूर्ण सडक, चालकले मादक पदार्थ सेवन गर्नु, तीव्र गतिमा सवारी साधन हाक्नु, ट्राफिक नियमको उल्लंघन गर्ने लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। कतिपय ठाउँमा चालकको लापरबाहीले सडक दुर्घटना भएका छन् भने कतिपय ठाउँमा सडकका कारण दुर्घटना भएका छन्। कच्ची सडकहरुमा ग्रेड नमिलेका, मोड सुधार नभएकाले पनि सवारी दुर्घटना बढी हुने गरेको उनले बताए।

बिना नापनक्सा तथा डोजर अपरेटरको भरमा निर्माण गरिएका बैतडीका दर्जनौं ग्रामीण सडकमा बर्सेनि दुर्घटना बढदै गएको छ। धुलो, हिलो र साँघुरा सडक ज्यानमारा बन्दै गएका छन्। जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थालेको छ। जिल्ला प्रशासन कार्यालयले सडकको अवस्था बारे अध्ययन थालेको छ। 

रोड परमिट नभएका जोखिमयुक्त सडकमा सवारी साधन चलाउन बन्द गरे मात्र दुर्घटनामा कमी आउने अधिवक्ता लक्ष्मीदत्त पाण्डेयले बताए। नियमन गर्ने निकायले पनि जोखिमयुक्त सडकमा यातायातका साधन चलाउन रोक्नुपर्ने स्थानीय बताउँछन्। जोखिमयुक्त सडकमा चालकले जबरजस्ती गाडी गुडाउँछन् भने यात्रु पनि आफ्नो सजिलोको लागि गाडीमै यात्रा गर्ने गरेकाले पनि दुर्घटना बढ्दै गएको पुर्चौडी नगरपालिका–१ का गणेश धामी बताउँछन्। स्थानीय तहहरुले जथाभावी खनेका सडकहरु स्तरोन्नती नहुँदा सवारी दुर्घटना बढ्दै गएको हो।

प्रकाशित: २ पुस २०७८ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App