अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भएको आर्थिक अनियमितताको अनुसन्धान थालेको छ।
आयोगको केन्द्रबाट खटिएको टोलीले महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। अख्यिार केन्द्रीय कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले अनियमितता भएको उजुरी परेपछि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए।
विशेषगरी स्वास्थ्य र शिक्षामा बढी मात्रमा भोक्राहा(नरसिंहमा अनियमितता भएको उजुरी परेको आयोगले जनाएको छ। गाउँपालिका प्रशासनका अनुसार आर्थिक प्रशासन र खरीद प्रक्रियासँग सम्बन्धित कागजात अख्तियारको टोलीले नियन्त्रणमा लिइएको छ। अख्तियारमा गाउँपालिकाले ५ लाखभन्दा माथिको खरीद र भुक्तानीमा अनियमितता गरेको उजुरी परेको थियो।
पछिल्लोपटक अख्तियारमा भोक्राहा नरसिंहसँगै भक्तपुरको चागुनारायण र कपिलवस्तुको बुधभूमि नगरपालिकामा पनि आर्थिक अनियमितता भएको उजुरी परेको छ। उजुरी परेका तीनवटै स्थानीय तहको अनुसन्धान गरिने सहायक प्रवक्ता भण्डारीले जनाए।
प्रकाशित: २९ मंसिर २०७८ १०:४६ बुधबार