७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाल जेसीजको ४८ औं महाधिवेशन पोखरामा

नेपाल जेसिजको यहि पुस १ गतेदेखि ३ गतेसम्म पोखरामा हुने राष्ट्रिय महाधिवेशनबारे जानकारी गराउँदै आयोजक। तस्बिर: सन्देश/नागरिक

नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ। नेपाल जेसीजको ४८ औं राष्ट्रिय सम्मेलन मूल आयोजक समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जेसिजको ४८ औं सम्मेलन यहि पुस १ गतेदेखि ३ गतेसम्म ‘मानव विकासका लागि नेतृत्व विकास’ (लिडरसीप प्राक्टिसेज फर ह्यूमन डेभलपमेन्ट) मूल नारासहित पोखराको प्रदर्शनी केन्द्रमा हुने जानकारी दिएको हो।

यसअघी पोखरामा दुई पटक जेसिजको महाधिवेशन सम्पन्न भइसकेको छ। तेश्रो पटक हुन लागेको जेसिजको राष्ट्रिय महाधिवेशन पोखरामा २९ वर्षपछि हुन लागेको हो। यसअघी पोखरामा पहिलो पटक १९८४ मा एघारौं महाधिवेशन र १९९२ मा दोश्रो पटक १९ औं महाधिवेशन सफलता पूर्वक सम्पन्न भएको थियो।

जेसिजको राष्ट्रिय सम्मेलनमा देशभरका १६१ शाखाका १ हजार ३ सय प्रतिनिधि सहभागि हुने जनाइएको छ। त्यसबाहेक पर्यवेक्षक तथा परिवारका सदस्यसहित झण्डै चार हजार जना पोखरा आउने नेपाल जेसिजका ४८ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका महाधिवेशन निर्देशक जेसीआई सिनेटर ईश्वरप्रसाद कर्माचार्यले जानकारी दिए।

तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन पुस १ गते उद्घाटन शत्र चल्नेछ। महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने जेसिजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले जानकारी दिए। समुद्घाटन पश्चात उक्त दिन नेपाल जेसिजको प्रथम वार्षिका साधारण सभा र प्रकरण गोष्ठी हुनेछ।

महाधिवेशनको दोश्रो दिन पुस २ गते महाधिवेशनमा सहभागि तथा प्रतिनिधिहरुलाई पोखराका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गराइनुका साथै तालिम, सिनेटर बैठक, फेलोसिपका कार्यक्रमहरु, राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता तथा नेपाल जेसीजको दोश्रो साधारण सभा अन्तर्गत वर्ष २०२२ का राष्ट्रिय अध्यक्षलगायत पदाधिकारीहरुको उम्मेदवार प्रतिबद्धता (ककस) कार्यक्रम हुने अध्यक्ष खनालले बताए। महाधिवेशनको तेश्रो दिन पुस ३ गते तेश्रो साधारण सभा हुने र सो साधारण सभाले ४० औं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने टुंगो लगाउनेछ। साथै सोहि दिनको चौथो वार्षिक साधारण सभामार्फत नया नेतृत्व चयन गर्ने कार्यतालिका रहेको उनले बताए।

जेसिजमा राष्ट्रिय अध्यक्ष एक, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष चार र राष्ट्रिय उपाध्यक्ष १२ जना रहने व्यवस्था छ। बाँकी पदाधिकारी भने निर्वाचित अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको अध्यक्ष खनालले जानकारी दिए।

जेसिजको राष्ट्रिय महाधिवेशनले पोखराको पर्यटनलाई राहत मिल्ने विश्वास लिइएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण थलिएको पोखराको पर्यटनलाई गतिशिल बनाउन जेसिजको राष्ट्रिय महाधिवेशनले सञ्जीबनीको रुपमा काम गर्ने नेपाल जेसिजका ४८ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका महाधिवेशन निर्देशक जेसीआई सिनेटर ईश्वरप्रसाद कर्माचार्यले बताए। ‘पोखरा मात्र होईन, गण्डकी प्रदेशको प्रोडक्ट भनेको पर्यटन नै हो, हामी बेस्ट प्राइसमा जेसिसहरुलाई स्वागत गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा पोखरा खुल्यो भन्ने सन्देश दिन चाहन्छौं’, उनले भने।

पोखरा जेसिजका अध्यक्ष जेसी किरण केसीले पोखराको संस्कृति र पर्यटन झल्किनेगरी महाधिवेशन स्थललाई सिंगारिने बताए। उनले भने,‘पोखरा आएका जेसिस ज्यूहरुले आ–आफ्नो गृहजिल्ला फर्केपछि पोखराको पर्यटनको प्रवद्र्धन गर्नुहुनेछ र त्यसले पोखराको पर्यटनलाई उकास्न सघाउनेछ भन्ने विश्वास लिएका छौं।’

नेपाल जेसिजले महाधिवेशनमा कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७८ १४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App