१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भुपेन्द्र हत्या प्रकरणः न्यायका लागि आमाबुबाले बुझाए न्यायाधीशलाई ‘अस्तु’

धरौटीमा रिहा गरेको भन्दै अदालत अगाडि विरोध प्रदर्शन

लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्नलाई धरौटीमा रिहा गरेर बचाएको भन्दै पिडितका आफन्तले विरोध गरेका छन्। लम्कीबाट धनगढी आएर भुपेन्द्रका आफन्त तथा स्थानीयले धनगढी स्थित जिल्ला अदालतको गेट अगाडि प्रदर्शन गरेका थिए। भने धरौटीमा रिहा गरेको प्रति असन्तुष्टी व्यक्त गर्दै न्यायका लागि भनेर हत्या गरिएका भुपेन्द्रको ‘अस्तु’ लगेर आमाबुबा अदालतका मुख्य न्यायाधीश जयानन्द पनेरुको कार्यकक्षमा पुगेका थिए।

सहायक न्यायाधिवक्ता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीको समेत उपस्थितिमा भुपेन्द्रका आमाबुबाले अस्तु न्यायाधीशको टेवलमा राखेका थिए। ‘भुपेन्द्रको आत्मा हेरेर न्याय दिनुहोला, भोलिका दिनमा अरुका छोराको अवस्था भुपेन्द्र जस्तो हुन नदिन हत्यारालाई कडा सजाय हुनुपर्छ भनेर अस्तु न्यायाधीशलाई बुझाउन गएकाे हुँ, भुपेन्द्रका बुबा डम्वर बडुवालले भने,‘छोराको हत्यामा संलग्नलाई धरौटीमा रिहा गरिएकोले न्यायको माग गर्न न्यायाधीशलाई छोराको आत्मा(अस्तु) बुझाएका हौं।’

अदालतमा अस्तु सुरक्षित नहुने भन्दै न्यायाधीशले अस्तु आफन्तलाई फिर्ता लैजान लगाएका थिए। ‘न्यायाधीशले अस्तु बुझेको महसुस गरी न्यायमा कुनै कसर बाँकी नराख्ने तर अदालतमा सुरक्षित नहुने भएकाले तपाईहरु सँगै राख्नु भनेकाले हामी फिर्ता ल्याएर आएका छौं’, उनले भने,‘आवश्यक परे अझै अस्तु अदालतमा ल्याएर बुझाउने छौं।’

आर्थिक चलखेलमा हत्यामा संलग्नलाई धरौटीमा रिहा गरिएको भन्दै न्यायाधीश समक्ष पीडितका आफन्तले असन्तुष्टी व्यक्त गरेका थिए। ‘भुपेन्द्रको हत्यामा संलग्नलाई धरौटीमा रिहा गरेपछि आक्रोशित भएर विरोध प्रदर्शन गरेका हुन्’, भुपेन्द्रका ठूला बुबा तथा संविधानसभा सदस्य भगत बडुवालले भने,‘अहिले आफन्त तथा स्थानीयको आक्रोशलाई नियन्त्रण बाहिर जान दिइएको छैन यदि पीडितले न्याय नापाएमा हुने प्रति घटनाको जिम्मेवारी लिनुपर्ने छ।’

भुपेन्द्रकी आमाले हत्यामा संलग्नलाई उन्मुक्ति दिने चलखेल भएको भन्दै न्याय पाउने आशा नरहेको बताइन्। ‘मेरो छोराको हत्या गर्नेलाई सजाय भएन भने म पनि हत्या गर्नेलाई मार्न लगाउँछु मलाई पनि कारबाही हुनु भएन’, रुँदै उनले आक्रोश पोखिन्।

जिल्ला सहायक न्यायाधिवक्ता समेतको उपस्थितिमा न्यायाधीशको कार्यकक्षमा भएको छलफलमा धरौटीमा रिहा भएका ३ जनाविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा जाने र कानुनी कारबाहीको दायरमा ल्याइने कुरामा विश्वास दिलाएको बडुवालले बताए। धनगढी बजार र जिल्ला अदालतको गेट अगाडि हत्यारालाई कारबाहीको माग राखेर प्रदर्शन गरिएको थियो। धनगढीको पार्कमोडबाट चर्को नाराबाजीसहित विरोध र्‍याली सुरु भएर जिल्ला अदालत अगाडि पुगेर प्रदर्शन गरिएको थियो।

'मुख्य नाईके नविन रावललाई फाँसी दे', 'मान्छे मार्न पाइँदैन', 'न्यायलय के भन्छ, पैसामा न्याय बेच्न पाइँदैन भन्छ', 'हत्यारालाई कारबाही गर', 'फरार रहेकालाई पक्राउ गर' भन्ने नारा लगाएका थिए।

हत्यामा संलग्नको अभियोगमा पक्राउ परेका १२ मध्य ३ जनालाई शुक्रबार कैलाली जिल्ला अदालतको ४ नम्वर ईजलाश (न्यायाधीश खेमराज भट्ट)ले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। भने ९ जनालाई पुर्पक्षको लागि कारागार पठाएको छ। गत कात्तिक २३ गते टीकापुरमा दुई किलोमिटर लखेट्दै फिल्मी शैलीमा खुकुरी र चक्कु प्रहार गरेर भुपेन्द्रको हत्या गरिएको थियो।

बर्दगोरिया गाउँपालिका, २ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दगोरिया ठाकुरबाबा, ३ गोदानका २६ वर्षीय सन्तोष भनिने सविन जंग शाहीलाई १ लाख ५० हजार र लम्की चुहा नगरपालिका, ५ का २८ वर्षीय बिकास खड्कालाई ७५ हजार धरौटी लिएर रिहा गरिएको थियो। प्रहरीले खड्कालाई मुलुकी अपराध संहिता बमोजिम जिवित रहेसम्म कैद सजाय माग दावी गरिएको थियो भने कुँवर र शाहीलाई जन्म कैद सजायको माग दावी गरेको थियो।

कैलालीमा तीन वर्षदेखि संगठित रुपमा अपराध गरि रहेको समूहले क्रुरता पूर्वक बडुवालको हत्या गरेको थियो। यो समूहको सन्जाल काठमाडौ लगायत धेरै जिल्लामा रहेको भुपेन्द्रको हत्यापछि गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। यो समूहका व्यक्तिले यसअघि पनि ज्यान मार्ने उद्देश्यले काठमाडौ र कैलालीमा कयौलाई खुकुरी प्रहार, आक्रमण गरेपनि उन्मुक्ति पाउने गरेको स्थानीयको गुनासो छ।

मुख्य नाइकेसहित ९ जना अझै फरार

उनको हत्यामा संलग्न मुख्य नाइके नविन रावलसहित ९ जना अझै फरार रहेको प्रहरीले बताएको छ। चिरन्जिवी जंग शाही, हिमाल शाही, जयन्द्र शाह, विकास शेरचन, रोशनबहादुर शाही र अशोक रावल फरार रहेको प्रहरीले बताएको छ। फरारहरु भारततर्फ भागेको प्रहरीको भनाइ छ। क्रुर ढंगले हत्या गर्ने रावल समूहका १५ जनालाई मुलुकी अपराध संहिता बमोजिम जिवित रहेसम्म कैद सजाय, शाहको समूहका ४ जनासहित ६ जनालाई जन्म कैदको सजाय माग दावी गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन्।

प्रकाशित: २७ मंसिर २०७८ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App