coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भुपेन्द्र हत्या प्रकरणः पुर्पक्षको लागि ९ जना थुनामा, ३ धरौटीमा रिहा

मुख्य नायकसहित ९ जना अझै फरार

लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्याको अभियोगमा पक्राउ परेका १२ जना मध्य ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। तीन जना भने धरौटीमा रिहा भएका छन्।

गत कात्तिक २३ गते टीकापुरमा दुई किलोमिटर लखेट्दै फिल्मी शैलीमा खुकुरी र चक्कु प्रहार गरेर भुपेन्द्रको हत्या गरिएको थियो। उनको हत्यामा संलग्न मध्य पक्राउ परेका १२ जनामा थुनछेक बहसपछि शुक्रबार कैलाली जिल्ला अदालतको ४ नम्बर ईजलाश (न्यायाधीश खेमराज भट्ट)ले ९ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको अदालतका श्रेष्तेदार राहिभान कुन्जेडाले बताए। ३ जनालाई धरौटीमा छोडिएको छ।

लम्की चुहा नगरपालिका, ३ का २३ वर्षीय महेश रावल, २० वर्षीय दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्की चुहा नगरपालिका १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टिकापुर नगरपालिका १ वस्ने २३ वर्षीय प्रबिण रिमाल, बर्दिया जिल्ला राजपुर नगरपालिका, ७ घर भई टिकापुर नगरपालिका १ बस्ने २१ वर्षीय रोहित आले र टिकापुर नगरपालिका १ का २५ वर्षीय सोहन शाहलाई पुर्पक्षका लागि कारागार पठाइएको छ।

यसैगरि, लम्की चुहा नगरपालिका ५ का २८ वर्षीय बिकास खड्का, बर्दगोरिया गाउँपालिका, २ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दगोरिया ठाकुरबाबा, ३ गोदानका २६ वर्षीय सन्तोष भनिने सविन जंग शाहीलाई धरौटीमा रिहा गरिएको छ। कुँवर र शाहीबाट १ लाख ५० हजार र खड्काबाट ७५ हजार धरौटी लिइएको श्रेष्तेदार कुन्जेडाले बताएका छन्। क्रुर ढंगले हत्या गरेको भन्दै मुलुकी अपराध संहिता बमोजिम जिवित रहेसम्म कैद सजाय माग दावी गरिएका खड्का सबैभन्दा कम धरौटी रकममा रिहा भएका हुन्। धरौटीमा रिहा भएका कुँवर र शाहीले भने प्रहरीले जन्म कैद सजायको माग दावी गरेको थियो।

पक्राउ परेका १२ जनाको बयान लिईसकेपछि भएको थुनछेक बहसमा बादीको तर्फबाट जिल्लाका सहायक न्यायाधीवक्ता श्रीराम ओझाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए।

कैलालीमा तीन वर्षदेखि संगठित रुपमा अपराध गरिरहेको समूहले क्रुरता पूर्वक बडुवालको हत्या गरेको थियो। यो समूहको सन्जाल काठमाडौं लगायत धेरै जिल्लामा रहेको भुपेन्द्रको हत्यापछि गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। कैलालीका प्रहरी उपरीक्षक बिश्व अधिकारीले यो समूहका व्यक्तिले यसअघि पनि ज्यान मार्ने उद्देश्यले काठमाडौं र कैलालीमा आधा दर्जन बढीलाई खुकुरी प्रहार गरेको खुलेको छ। संगठित रुपमा अपराधमा संलग्न यिनिहरुले उन्मुक्ति पाउने गरेको स्थानीयको गुनासो छ।

कैलाली जिल्ला मातहत र काठमाडौंमा समेत गरि ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना मुद्दा दर्ता भएपनि कारबाही नहुँदा निर्धक्कसँग हातहतियार बोकेर यो समूहले अपराधिक गतिबिधि गर्ने गरेको थियो।

पेस्तोल, बन्दुक, खुकुरी लगायतका हातहतियार रहेको यो समूहका सदस्यले चन्दा, फिरौती, कमिशन उठाउने गरेको स्थानीय बताउँछन्। यो समूह परिचालनकाे काठमाडौं र भारतका डन तथा अपराधिक समूहसँग समेत कनेक्सन रहेको प्रहरीको आंकलन छ। भारतको अपराधिक समूहसँग समेत सम्बन्ध भएकाले सजिलै हातहतियार भारतबाट ल्याउने गरेको प्रहरीले बताएको छ।

मुख्य नाइकेसहित ९ जना अझैं फरार

उनको हत्यामा संलग्न मुख्य नाइके नविन रावलसहित ९ जना अझैं फरार रहेको प्रहरीले बताएको छ। चिरन्जिवी जंग शाही, हिमाल शाही, जयन्द्र शाह, विकास शेरचन, रोशनबहादुर शाही र अशोक रावल फरार रहेको प्रहरीले बताएको छ। फरारहरु भारततर्फ भागेको प्रहरीको भनाइ छ। क्रुर ढंगले हत्या गर्ने रावल समूहका १५ जनालाई मुलुकी अपराध संहिता बमोजिम जिवित रहेसम्म कैद सजाय,  शाहको समूहका ४ जनासहित ६ जनलाई जन्म कैदको सजाय माग दावी गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताएका छन्।

कपिल श्रेष्ठले गाह्रो पर्यो भनेर बोलाएकाले लम्कीबाट गएका भुपेन्द्रलाई टिकापुरको जमरापुल नजिकबाट दुई किलोमिटर लखेट्दै लगेर टिकापुर सिद्धार्थ होटल नजिक कौशि बिष्टको घरको आँगनमा पेट र छातीको भागमा २ पटक, पिठ्युको भागमा ३ पटक र टाउकोको पछाडीको भागमा एक पटक धारिलो हतियार प्रयोग क्रुर ढंगले गत हत्या गरिएको प्रहरीले बताएको छ।

प्रकाशित: २५ मंसिर २०७८ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App