१५ माघ २०७८ शनिबार
स्वास्थ्य

‘ओमिक्रोन’ त्रास बढ्दो, तर तयारी सुस्त

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास सर्वत्र छ। नेपालमा पनि संक्रमण पुष्टि भइसकेको छ। सरकारले नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिन बस्न अनुरोध गरिसकेको छ। तर, प्रदेश तहका स्वास्थ्य निकायमा भने नयाँ भेरियन्टलाई लिएर खासै गतिलो तयारी भएको छैन। कोरोनाको दोश्रो लहरको भोगेको सकसलाई बिसर्दै जाँदा नयाँ चुनौती थपिने त्रास रहेको स्वास्थ्यकर्मीको चिन्ता छ।  

गण्डकी प्रदेशको सबैभन्दा ठुलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले कोरोनाका ७ जना मात्र बिरामी छन्। १० जना भन्दा कम बिरामी भएमा यो अस्पतालको आइसोलेसन बन्द गर्ने योजना बनाईरहँदा अस्पताल प्रशासनले भने नयाँ भेरियन्टको जोखिम देखाउँदै बन्द गरेको छैन। तर, प्रदेश सरकारले पठाएका स्वास्थ्यकर्मीको भने करार नथप्दा अहिले क्षेत्रीय अस्पतालको कोभिड यूनिटलाई जनशक्ति अभाव छ।  

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. शरदचन्द्र बराल भन्छन, ‘हामीले यो बीचमा खराब अवस्था भोगेका हौ। तर, अहिले बिर्सेका छौ। अहिले संक्रमण कमजोर भएको भनेर सबैतिर बेवास्ता भएको छ। फेरि पुरानै अवस्था नआउला भन्न सकिन्न।’ उनका अनुसार आइसोलेसनमा १० जना भन्दा कम बिरामी भएमा आइसोलेसन केन्द्र बन्द गर्ने निर्णय पुरानै थियो। तर नयाँ भेरियन्ट आउने त्रास बढेपछि त्यो आइसोलेसन बन्द नगरि तयारी अवस्थामा बसेको उनले बताए।  

‘तालुकदार निकायको अवस्था उत्तिसारो अब्बल छैन। तर, हामी भने तयारीमा छौ। नयाँ जोखिम निम्तिन आइसोलेसनका शैया मर्मत गरेका छौ। बरु झनै तयारी गरेका छौ,’ बरालले भने, ‘भविश्यमा अप्ठेरो अवस्था आएमा ह्याण्डल गर्नेगरि तयारी अवस्थामा छौ। हामीले आफ्नो तयारी गरिरहेका छौ।’

 उनका अनुसार अस्पतालले तयारी गरेपनि जनशक्ति अभाव छ। प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा पठाएको नर्सिङ स्टाफको म्याद नथपेपछि स्वास्थ्यकर्मी अभाव भएको हो। ‘प्रदेश स्वास्थ्य निर्देशनालयले पठाएका कर्मचारीको करार थपिएन। त्यसपछि यहाँ जनशक्ति  अभाव छ। तर, अस्पताल आफैले जनशक्ति थप्ने प्रक्रिया अघि बढाएको छ,’ उनले भने।  

बरालका अनुसार अस्पताल आफैले नर्सिङ स्टाफका लागि प्रक्रिया अघि बढाएको छ। १२ जना नर्सिङ स्टाफ थप्नका लागि प्रक्रिाय अछि बढाएको उनले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयले १० जनामात्र नर्सिङ स्टाफ पठाएको थियो। त्यसबाहेक अस्पताल आफैले उपकरणको व्यवस्थापन गरिरहेको पनि बरालले बताए। ‘उपकरण तयार अवस्थामा राखेका छौ। कुनै पनि बेला स्वास्थ्यका उपकरण चाहिनसक्छ,’ उनले भने। क्षेत्रीय अस्पतालभित्रको ५० शैया कोरोना विशेष अस्पताल हो। ‘स्वास्थ्यमा ढिलाई गर्ने हो भने जे पनि हुनसक्छ। हामीले मात्र तयारी गरेर पुग्दैन । प्रदेश सरकारले पनि त्यही अनुुसार योजना बनाउनुपर्छ,’ उनले भने।  

यो बीचमा क्षेत्रीय अस्पतालमा अक्सिजनका २ वटा प्लान्ट थपिएका छन्। दुईवटा प्लान्टबाट दैनिक करिब एकसय सिलिन्डर अक्सिजन उत्पादन भईरहेको छ। त्यो अक्सिजन पाइपमार्फत बिरामीको शैयासम्म पु¥याउने व्यवस्था पनि भएको उनले बताए । ‘एक्लो अस्पतालको मात्र तयारीले पुग्दैन । सिंगो प्रदेश सरकार नै सक्रिय हुनुपर्छ। निजी अस्पताललाई पनि तयारी अवस्थामा राख्नुपर्छ,’ उनले भने, ‘हामीले मात्र तयारी गरेका छौ। अरुको तयारी छैन। बरु भएका संरचना पनि कमजोर भईसकेका छन् । निजी अस्पताल पनि निस्कृय बनेका छन्।’

लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथका निर्देशक डा.विकास गौचन पनि अहिलेको तयारीबाट सन्तुष्ट छैनन्। अस्पतालमा जनशक्ति अभाव सबैभन्दा बढी समस्या भएको उनले सुनाए। ‘अहिले जनशक्ति अभाव छ। आधारभूत र न्यूनतम सेवा दिन पनि चुनौती छ,’ गौचनले भने। उनका अनुसार कोरोना कोषबाट कर्मचारी भर्ना भएकोमा उनीहरुको कात्तिक मसान्देखि करार नवीकरण भएको छैन। त्यसको असर आकस्मिकदेखि आइसोलेसन संचालनमा पनि चुनौती छ। करारका ६५ जना स्वास्यकर्मी रहेकोमा उनीहरु हटेपटि जनशक्ति अभाव भएको उनले बताए। अहिले यो अस्पतालमा जम्मा ४१ जना मात्र स्वास्थ्यकर्मी छन्।  

‘एकसिफ्टमा १० जना नर्स हुन्थे र काम सहज भएको थियो। अब एकजना राख्न पनि सकस भएको छ,’  गौचनले भने, ‘अहिले अस्पतालभर चारजना मात्र स्टाफ नर्स छन्। बिरामीलाई सेवा दिन पनि सकस भएको छ।’ ५० बेड भएको यो अस्पतालमा अहिले कोरोनाका ८ जना मात्र बिरामी छन्। यो अस्पतालको क्षमता ६० जनासम्म बिरामी राख्ने छ। थप क्षमता बढाउन प्रिफ्याबको २५ बेड थप्ने योजना रहेपनि सरोकारवाला चुपचाप रहँदा काम अघि बढेको छैन।  

‘सरकारी अस्पताल कमजोर हुँदा धनीवर्गलाई खासै असर पर्दैन। तर, गरिब जनलाई मार पर्ने हो। गाउँका बिरामी आइसियुका लागि आएमा उनीहरुलाई सेवा दिन गाह्रो भएको छ,’ उनले भने, ‘हामीले सेवा दिन नसक्दा बिरामीले खेतबारी बेचेर निजी अस्पतालमा गएर उपचार गराउन बाध्य हुनेछन। त्यसले आर्थिक रुपमा गरिब जनतालाई झनै गरिब बनाउनेछ।’ एकवर्षमा आमजनताको कम्तिमा ५० करोड रुपैयाँ रकम बचाएको उनले सुनाए। ‘निजी अस्पतालमा जानुपरेको भए धेरैजना गरिब हुन्थे,’ उनले भने।  

प्रदेश सरकारसँग मातहतका अस्पताल, शैया र चिकित्सक कति आवश्यक भन्ने नै तयारी नभएको उनले सुनाए। ‘उच्च गुणस्तरको सेवा दिन जनशक्ति आवश्यकताबारे सरोकारवालालाई नै थाहा छैन। २५ लाख जनसंख्या भएको ठाउँमा कति चाहिने भन्ने योजना छैन। उपकरण भएर मात्र भएन प्रभावकारी जनशक्ति चाहिन्छ,’ उनले भने।  उनका अनुसार ओमिक्रोन विरुद्ध लड्ने तयारी खासै भएको छैन। कामचलाउ प्रवृत्ति मात्र छ। उनले अस्पतालमा अक्सिजन सिलिन्डर, कन्सन्टे«टर, आइसियुका उपकरण छन। तर बेड राख्नका लागि ठाउँ छैन। ‘सामाग्रीको हिसाबले सबल छौ तर, जनशक्तिमा चुनौती छ। जनशक्तिमा बहस आवश्यक छ। नर्सिङ टिम अब्बल चाहिने रहेछ भन्ने सिकाई भएको छ,’ उनले भने, ‘क्षमता अनुसार हामीले काम गर्न पाएनौ। योग्यतालाई पनि उपयोग गर्न सकेनौ।’ 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्का संघीय स्वास्थ्य मन्त्रालयले गरे अनुसारको निर्णय गर्ने बताए। ‘हामी सचेत छौ। तर, अझै अवस्था डरलाग्दो छैन,’ उनले भने, ‘अहिले त चाँसो पनि कम छ।’ उनले जनशक्तिको हिसाबले दोश्रो पिकमा बढी खटिएमा उनीहरुको करार कात्तिक मसान्तदेखि सकिएको बताए। अब ३५० जना स्वास्थ्यकर्मी थप्नका लागि स्वीकृति पाएको उनले बताए। पहिला ४४४ जना स्वीकृत भएको थियो। जिल्लास्थित सरकारी अस्प्तालले आफैले आवश्यक अनुसार स्वास्थ्यकर्मी नियुक्त गर्नेछन्। ‘हामीले २÷३ महिना सहजै धान्छौ। त्यसपछिको अवस्थाका लागि सचेत छौ,’ खड्काले भने।

प्रकाशित: २० मंसिर २०७८ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App