७ वैशाख २०८१ शुक्रबार
समाज

रोचक र अनौठो जात्रा: घरबाट माइत झरिन् त्रिपुरासुन्दरी माई

त्रिपुरासुन्दरी भगवतीलाई माइत झारिदै पुजारीहरु। तस्बिर: सरिता/नागरिक

हातमा नाङगो खुडा, खुकुरी र तरबार बोकेका युवाहरु। अनि दियो, कलश, शंख, घण्ट सहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेरा। त्यहि घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति। पन्चेबाजाको रौनकमा नाच्दै गरेका स्थानीय। सयौं मानिस बाटोको दायाँवायाँ बसेर पुजापाठ र अविर जात्रा गर्दै थिए। प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नु पर्छ। तर यहाँ बाटोमै बसेर भक्तजनहरु त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्दै थिए। पहाडि क्षेत्रको रोचक र अनौठो परम्परा बोकेको त्रिपुरासुन्दरीको मुर्ति सोमबार बिहान त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानकोटबाट आगिन्चोकमा रहेको मन्दिरमा झारिदाको दृश्य हो यो।

अघिल्लो दिन रातभर पुजा पाठ गरेर बिहानै पुजारीहरुले बोकेर सुन्दरीको मूर्तिलाई गाउँको मन्दिरबाट बेशीको मन्दिर झारेका हुन्। देवीको दर्शन गर्न सयौंको संख्यामा रहेका भक्तजनहरुले मध्यराती देखि नै बाटो ढुकेर बसेका थिए। मुर्ति देख्न र छुन नपाएपनि गल्लीगल्लीमा जम्मा भएका भक्तजनले टाढैबाट दर्शन गरि रहेका थिए। रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीहरुले त्रिपुरा सुन्दरी भगवतीमाइको मूर्तिलाई आफ्नो पिठ्युमा बोकेका थिए। वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने गरिन्छ। त्रिपुरासुन्दरीको मुर्तीलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न र छुन नपाउने प्रचलन छ।

यस समयमा देबीलाई तामझामका साथ माईत सारिने गरिन्छ। त्यस पछि फागुनको अन्तिमतिर वा चैते दशैँ भन्दा अगाडि विशेष साईत हेरेर फेरि कोटकै मुल मन्दिरमा लगेर भित्राउने प्रचलन रहिआएको छ। देवीलाई कोटमा लैजाने क्रममा पनि सोही प्रक्रियाद्धारा लैजाने गरिएको छ। देवीलाई घर फिर्ता गराउने समयमा भने कम मात्रामा भक्तजनको उपस्थिति हुने गरेको पाईन्छ।

विवाहित नेपाली नारीले धेरैजसो समय आफनो कर्मघरमा बिताउनुपर्ने, दशैंतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकोले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईलाई तुलना गरिएको पुरोहित अर्जुन सापकोटाले जानकारी दिए। सोही परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ।

जुन मामाघरको रुपमा प्रसिद्ध छ। मंसिर देखि चैत्रसम्म भगवतीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा राखिन्छ। जुन भगवतीको माइतीको रुपमा चिनिन्छ। सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिने स्थानियबासीले जानकारी दिए।

कुनैपनि मन्दिरमा पुजारी हुन्छ, भक्तजन जान्छन्, दर्शन गर्छन्, पुजा गर्छन् अनि मुर्ति छोएर पाउ पर्छन् तर धादिङको त्रिपूरासुन्दरी गाउँपालिकास्थित सल्यानकोटमा रहेको त्रिपुरासुन्दरी भगवतीमाईको मूर्तिलाई न हेर्न पाउँछन् न छुन नै पाउँछन्। मन्दिरमा रहेको भगवती माईलाई भक्तजन त के पुजारीले समेत हेर्न पाउँदैनन्। दर्शन गर्न पुगेका भक्तजनहरुले परैबाट पुजा गर्नुपर्ने प्रचलन छ। एउटा बाकसभित्र भगवतीको देवीको प्रतिक छ भनिन्छ। तर देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन् न फोटो हेर्न पाउँछन्। पुजा गर्ने पुजारीले भने पुजाको दिन लुकाएर भगवतीलाई बोकेर भगवतीकै विभिन्न मन्दिरमा पुर्‍याउँछन्।

पृथ्वीनारायण शाहले नुवाकोट एकिकरण गर्न आउँदा यही भगवतीको पूजाआजा गरि नुवाकोट विजयको कामना गदै आशिष मागेको र त्यहीबेलादेखि शाहवंशको कुलदेवताको रुपमा मान्दै आएको किवदन्ती छ। हरेक वर्ष मंसिर महिनाको विशेष तिथिमा भगवतीको मेला लाग्ने गर्दछन्। भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टिकाको दिन हेर्ने र तिहारको भाईटिकाको दिन त्यसलाई सार्वज्निक गर्ने चलन छ। भगवतीलाई बेसीको मन्दिरमा लैजाने अघिल्लोदिन र रातभर गाउँको मन्दिरमा र बेसीको मन्दिरमा ल्याएपछिको दुई दिनमा भव्य मेला लागेको छ। भक्तजनहरुले आफ्नो मनोकांक्षा सिद्धि गराउन जात्राको दिन फुलको डोली ल्याउने गरेका छन्।

अघिल्लो वर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण सामान्य पूजाआजा मात्रै भएको थियो। यसपाली भने भव्य रुपमा मनाइएको छ। विगतका वर्षहरुमा जस्तै खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यक्रम र व्यापारिक प्रयोजनका स्टलहरु समेत राखिएको थियो। यस मेलालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ।

प्रकाशित: २० मंसिर २०७८ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App