coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनकपुरधाममा राम–जानकी विवाह पञ्चमीको रौनक

रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ। विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरूप हरेक वर्ष जनकपुरधाममा रामजानकी विवाह उत्सव मनाइन्छ । साप्ताहव्यापी विवाहपञ्चमी महोत्सव शुक्रबारबाट नै सुरु भएको छ। महोत्सवको प्रत्येक कार्यक्रम निकै महत्वपूर्ण र रोमाञ्चक हुन्छन्। महोत्वसको पहिलो दिन नगरदर्शन हुन्छ। यस दिन राम–सीताको प्रतिमा र झाँकीलाई बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ।

दोस्रो दिन फूलबारी लीला मनाइन्छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। मौलिक मैथिली लोकगीत गाएर राम–सीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी फूलबारीमा घुमाइन्छ। यो विधि जानकी मन्दिरसँगै रहेको विवाहमण्डपमा हुन्छ। फूलबारीमा राम–सीताको पहिलो भेंट भएपछि नै दुवैबीच प्रेम सम्बन्ध जुटेको मान्यता छ।

तेस्रो दिन आइतबार धनुष यज्ञको विधि सम्पन्न भएको छ। सीता स्वयंवरका लागि राजा जनकले शिवको धनुषमा ताँदो चढाउने सर्त राखेको स्मरण स्वरूप सोही लीलालाई प्रदर्शन गरिँदै आएको छ।

चौथो दिन सोमबार तिलकोत्सव मनाइन्छ। विवाह महोत्सवको मुख्य आकर्षणमध्ये एक हो, ‘तिलकोत्सव’। राम मन्दिरको प्रांगणको तिलकोत्सव मञ्चलाई जानकी मन्दिरबाट वरपक्ष राम मन्दिरलाई पठाएको करिब डेढ सयभन्दा बढी भार(कोसेली)सहित सजाइन्छ।

सोही क्रममा जानकी मन्दिरका महन्थ र राममन्दिरका महन्थबीच सम्धी मिलान समारोहसमेत गरिन्छ। सम्धी मिलान मिथिलाको वैवाहिक उत्सवमा विशेष संस्कृति हो।

पाँचौं दिन मंगलबार मटकोरको विधि हुन्छ। यस विधिमा विवाहको मण्डप बनाउन पवित्र जलाशय गंगासागरबाट माटो ल्याइन्छ। सोही माटोले विवाहको वेदीलाई लिप्ने गरिन्छ। छैटौं बुधबार साताव्यापी महोत्सवको मुख्य आकर्षण रामसीताको स्वयंवर हुन्छ।

यस दिन राम–सीताको डोलालाई हजारौं श्रद्धालुहरूको साथमा रंगभूमि मैदान लगिन्छ। सोही मैदानमा जानकीको डोलाले रामको डोलालाई चारपल्ट परिक्रमा गरी माला लगाउने परम्परा छ। साँझमा मन्दिरको प्रांगणमा अवस्थित विवाहमण्डपमा राम–सीताको प्रतिमाबीच वैवाहिक विधि सम्पन्न गरिन्छ।

अन्तिम दिन रामकलेवा मनाइन्छ। यसलाई मैथिलीमा बरातीको बिदाइ भनिन्छ। यस दिन बरातीलाई छप्पन भोग व्यञ्जन खुवाइन्छ। लुगा र कोसेली दिई बिदाई गरेपछि विवाह महोत्सव विधिवत् रूपमा सम्पन्न हुन्छ।

रामायणमा तुलसीदासले लेखिएको पंक्ती उद्धृत गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्वर दाश भन्छन्, ‘सिया रघुवीर विवाह जे गावही, सुनही तिनहुँ सदा उछाह मंगलाय तन रामजसो।’ बालकाण्डको अन्तिममा लेखिएको यस पंक्तिको अर्थ हो, भगवान् राम र सीताको यस अलौकिक विवाहलाई जसले हृदयदेखि सुन्ने,गाउने र वाचन गर्ने गर्छ,उसको जीवन सदैव मंगलमय हुन्छ। त्यसैले पनि विवाहपञ्चमी महोत्सव जनकपुरको घरघरमा सुनिने, गाइने र वाचन गर्ने गरिन्छ। वर्षौंदेखि जनकपुरले धान्दै आएको यस सांस्कृतिक विरासत मिथिलाका अन्य सहरमा फैलिँदै छ। 

अघिल्ला वर्षहरूमा महोत्सवमा सहभागी हुन देशविदेशका विशिष्ट राजनीतिक व्यक्तित्वलाई पनि आमन्त्रित गर्ने गरिन्थ्यो।

विशिष्ट व्यक्तिहरूको आगमन हुँदा सर्वसाधारण श्रद्धालुलाई महोत्सव मनाउन समस्या हुने गरेकाले यस वर्ष त्यस्ता कुनै अतिथि वा प्रमुख व्यक्तित्वलाई आमन्त्रण नगरिएको महन्थ दास बताउँछन्।

प्रकाशित: २० मंसिर २०७८ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App