८ वैशाख २०८१ शनिबार
समाज

धादिङमा मतदाता नामावली संकलन सुरु

धादिङका विभिन्न स्थानीय तहमा मतदाता नामावली संकलन सुरु भएको छ। पहिलो चरणमा ६ ओटा स्थानीय तहमा शुक्रबारदेखि मतदाता नामावली संकलन सुरु गरिएको हो।

दुईवटा नगरपालिकासहित १३ वटा स्थानीय तह रहेको जिल्लामा दुई चरणमा मतदाता नामावली संकलन गर्न लागिएको हो। पहिलो चरणको कार्यक्रम मंसिर २६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ। पहिलो चरणमा धुनीबेशी नगरपालिका र रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी तथा ज्वालामुखी गाउँपालिकामा सुरु भएको छ। शुक्रबार पहिलो दिन गंगाजमुना गाउँपालिकामा ९ जना, गजुरीमा ३८, ज्वालामुखीमा ९, धुनिवेशी नगरपालिकामा २१, रुवीभ्यालीमा १३, सिद्धलेकमा ८ गरी १ सय ४७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

दोस्रो चरणमा मंसिर २८ देखि पुस ८ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोषकुमार श्रेष्ठले जानकारी दिए। दोस्रो चरणमा त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, बेनिघाट रोराङ, थाक्रे, गल्छी र खनियाबास गाउँपालिकामा सञ्चालन हुनेछ। नीलकण्ठ नगरपालिकाको भने हरेक दिन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दर्ता भइरहेको छ।

मतदाता नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी खटाइएको छ। अहिलेसम्म छुटेका, नयाँ दर्ता गराउन र आ–आफ्नै स्थानीय तहको कार्यालयबाट मतदाता नामावली संकलन गर्ने भएकाले नेपाली नागरिकता प्राप्त नागरिकले समयमै दर्ता गराउन निर्वाचन अधिकारी श्रेष्ठले बताए। ‘मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सम्बन्धित पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रसहित व्यक्ति स्वयं उपस्थित हुनुपर्छ,’ श्रेष्ठले भने, ‘बसाइँ सरी आएका कोही भए बसाइँसराइको प्रमाणपत्र वा विवाह भई आएको र सोही स्थानमा दर्ता गर्न चाहेमा विवाह दर्ताको प्रमाणप्रत्रसहित उपस्थित हुनुपर्छ।’

यस्तै दर्ता गर्न छुट भएकाहरूले अनिवार्य रुपमा सक्कल नेपाली नागरिकतासहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने श्रेष्ठले बताए। आसन्न स्थानीय, प्रदेश तथा संघको निर्वाचनलाई ध्यानमा राख्दै मतदाता नामावली संकलन गरिरहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७८ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App