७ वैशाख २०८१ शुक्रबार
समाज

चोरी आरोपमा कुटपिट गरिएका युवकको मृत्यु

मोरङको केराबारी गाउँपालिका–६ स्थित मुगुको एक घरमा एक जना युवक शुक्रबार मृत अवस्थामा फेला परेका छन्। मोबाइल चोरी गरेको आरोपमा बिहीबार कुटपिट गरी छाडेका युवक शुक्रबार मृत अवस्था भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका २० वर्षीय अनिष कटुवाल घरभित्र सुतिरहेको अवस्थामा मृत फेला परेको हुन्। प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार कटुवाल केराबारी–६ का खेम लिम्बूको घरभित्र मृत भेटिएका हुन्। ४–५ जनाको संख्यामा रहेका युवाले बिहीबार दिउँसो कुटपिट गरेर छाडिदिएपछि अनिष घटनास्थल नजिक रहेको लिम्बूको घरमा पुगेर सुतेको प्रहरीले जनाएको छ।

कोठाभित्रबाट चुकुल लगाएर सुतेका उनी नउठेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। शुक्रबार दिउँसो १ बजेतिर घटनास्थल पुगेको प्रहरीले चुकुल फुटाएर हेर्दा मुख र नाकबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमै मृत अवस्थामा भेटिएको डिआइजी बिसीले बताए।

अनिष र उनका साथी धरान पानमाराकै २० वर्षीय विशाल विश्वकर्मालाई मोबाइल चोरीको आरोप लगाएर बिहीबार दिउँसो ४ बजेतिर युवाको समूहले केराबारीको मुगु पुल नजिक कुटपिट गरेका थिए। धरानका युवाहरुको समूहले दुवै जनालाई दाउरालगायतले कुटपिट गरेको र कुटपिटपछि विशाललाई मोटरसाइकलमा राखेर लगेका युवाहरुले अनिषलाई भने घटनास्थलमै छाडेको प्रहरीले जनाएको छ।

जबरजस्ती लगेको थाहा पाउनासाथ प्रहरीले विशाललाई उद्धार गरी पानमारा लगेको थियो। चोरी भएको मोबाइलको १७ हजार रूपैयाँ दिइने कबुल प्रहरी कार्यालयमै गरेका विशालले साथमा रहेको ४ हजार रूपैयाँ दिएका र बाँकी १३ हजार २ सातापछि दिने गरी उनलाई पानमाराकै विकास कटुवालले प्रहरी कार्यालयबाट बुझेर लगेको प्रहरीले जनाएको छ। मोबाइलको १७ हजार रूपैयाँ तिर्ने कबुल गरेका विशालले मोबाइल चोरी नगरेको र आफूहरुमाथि पुनः कुटपिट हुनसक्ने डरले गर्दा पैसा तिरेको प्रहरीलाई बताएका छन्।

तर बिहीबार आफूहरुमाथि कुटपिट गरिएको घटनाका बारेमा भने उनले प्रहरीलाई जानकारी नै दिएका थिएनन्। सँगै कुटाइ खाएका साथी सुतेकै ओछ्यानमा मृत भेटिएपछि मात्रै विशालले अघिल्लो दिनको घटनाका बारेमा बताएको प्रहरीले जनाएको छ।

टिपर सञ्चालक रहेका विकास मृतक अनिषका काका हुन्। अनिष र विशाल विकासको टिपरमा काम गर्दै आएका थिए। बाटोमा टिपर पर्खेर बस्दै गर्दा ४÷५ जना युवा आएर मोबाइल चोरी गरेको आरोप लगाउँदै दुवै जनालाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

कुटपिटमा संलग्नमध्येका १ जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको र शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७८ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App