८ वैशाख २०८१ शनिबार
समाज

विपद् प्रतिकार्य योजनामा जुट्दै जनप्रतिनिधि

फाइल तस्बिर

दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि विपद् प्रतिकार्य योजनामा जुट्न थालेका छन्। नगर क्षेत्रमा संभावित विपद् र विपद्ले निम्ताउने जोखिमबारे सचेत बन्दै प्रतिकार्यको लागि योजना बनाउन थालेका हुन्।

स्थानीय तह विपद् तथा जलवायुु उत्थानशील योजना बनाएर विपद् व्यवस्थापनलाई अगाडि बढाएका छन्। विपद् व्यवस्थापनको लागि युनिसेफ नेपालको सहयोगमा रेडक्रसले जनप्रतिनिधिलाई तालिम दिएपछि विपद् व्यवस्थापनका योजना बनाउन थालेका हुन्।

‘विपद् कहिले आउँछ कसैलाई थाहा हुँदैन्। यसको पूर्वतयारीका लागि हामीले सीप सिक्दै योजनाको निर्माण गर्नु आवश्यक छ,’ नगर प्रवक्ता चक्रप्रसाद शर्माले भने, ‘प्रकोप रोक्न नसकिए पनि उसले निम्त्याउने विपद्को सामना गर्न हामी तयार हुनुपर्छ।’

नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनका लागि जनप्रतिनिधिलाई सीपयुक्त तालिम सञ्चालन गरेको कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए। संभावित विपद् तथा जलवायु जन्य परिवर्तनको जोखिम कम गर्न, विपद्को समयमा आपत्कालीन कार्य सम्पादन गर्न, प्रभावकारी प्रतिकार्य गर्नको लागि जनप्रतिनिधि दक्ष हुन आवश्यक भएको उनले बताए।

दशरथचन्द नगरपालिकाका बाढी पहिरो, खडेरी, आगलागी, भुकम्प, जंगली जनावर आतंक, सडक दुर्घटना मुख्य प्रकोपको रुपमा रहेका छन्। प्रकोपबाट क्षति कम गर्न नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको सामाजिक विकास शाखा प्रमुख बिनोदबहादुर चन्दले बताए।

विपद् तथा जलवायुु उत्थानशील योजनामा विपद्बाट समुदायलाई जोगाउन योजना बनाएको नगर उपप्रमुख मीना चन्दले बताइन्। उनले भनिन्, ‘प्राकृतिक र मानवजन्य प्रकोप कम गर्दै विपद्को सामना गर्न नगरपालिकाले पहल थालेको छ।’नगरपालिकाले विपद् व्यवस्थापनको लागि कोषसमेत खडा गरेको उनले बताइन्।

प्रकाशित: १७ मंसिर २०७८ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App