८ वैशाख २०८१ शनिबार
समाज

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह

बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन्। जोगी बारा जिल्ला अन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन्।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका हुन्। बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो।

हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार रुपैयाँ तिरेर चार्टर्ड गरेका थिए। छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए। 'विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो', बेहुलाका बुवा जोगीले भने,'बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्‍यो।' उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए। छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए। 'हेलिकोप्टर चढ्ने इच्छा थियो', बिर्जुले भने, 'बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो।'

प्रकाशित: १७ मंसिर २०७८ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App