८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ को पानीः पहाडमा ई–कोली र तराईमा आर्सेनिक

प्रदेश नं. १ को खानेपानीमा पहाडी जिल्लामा ई-कोली र तराईमा आर्सेनिकको समस्या कायमै छ। जसले मानव स्वास्थ्यमा प्रतिकुल असर पुग्ने गरेको छ।

प्रदेश १ का १४ जिल्लामध्ये पहाडी जिल्लामा ई–कोली ब्याक्टेरिया र तराईका जिल्लामा आर्सेनिकको समस्या पहिल्यैदेखि रहेकोमा अहिले पनि रोकिएको छैन। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर अन्तर्गत पानी परीक्षण प्रयोगशाला इटहरीले चालु आर्थिक वर्षको साउनदेखि मंसिर १५ गतेसम्म साढे चार महिनाको अवधिमा २३२ वटा पानीको नमूना परीक्षण गर्दा २० प्रतिशत ई-कोली ब्याक्टेरिया रहेको पुष्टि भएको छ।

यस्तै, परीक्षण गर्न ल्याएकामध्ये केही सीमित नमूना परीक्षण गर्दा एक प्रतिशत आर्सेनिकको समस्या रहेको पानी परीक्षण प्रयोगशाला इटहरीले जनाएकाे छ।

विशेषगरी, परीक्षण गर्न ल्याएको पानीमध्ये पहाडी जिल्ला संखुवासभा, ताप्लेजुङ्, ओखलढुंगा, भोजपुरलगायतको पानीमा ई–कोली ब्याक्टेरिया रहेको छ। तराईका जिल्ला झापा, मोरङ र सुनसरीको पानीमा आर्सेनिक रहेको पुष्टि भएको छ।

ई-कोली पानीमा हुँदा मानिस वा जनावरको दिसाको मात्रा मिसिएको हुन्छ। जसले गर्दा ई-कोली व्याक्टेरिया भएको पानी प्रयोग गर्नु मावन स्वास्थ्यका लागि प्रतिकुल असर पुग्ने गर्छ।

परीक्षण गर्दा पहाडी जिल्लामा उम्रिएको वा खोलाको पानीमा ई–कोलीको समस्या भएको पाइएको हो। तराईंका जिल्लामा ट्युवेलको पानीमा आर्सेनिक भएको पाइएको हो। ई–कोली भएको पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउजस्ता रोग लाग्छ।

ई–कोली भएको पानी पिउँदा शुद्धीकरण वा विल्चिङ् पाउडरको प्रयोग गर्नुपर्छ, तर त्यसो गरिएको पाइँदैन। यसबारे पानी परीक्षण केन्द्रले निःशुल्क रुपमा विल्चिङ् पाउडर पनि प्रदान गर्ने गरेको छ। विशेषगरी, विपद्को बेलामा अनिवार्य रुपमा ती वस्तीमा पुगेर विल्चिङ् पाउडर दिने गरेको जानकारी दिइयो।

पानीमा ई–कोली प्रायः गरेर बढी मात्रमा बर्खाको बेला हुने गर्छ। जसले गर्दा बर्खाको बेला मनसुन पूर्व, मनसुन भएको बेला र त्यसपछिको अवधिमा पानी परीक्षण गरेर खानु स्वास्थ्यका लागि उत्तम हुनेछ।

‘मानिसमा रोग लाग्न नदिनका लागि उपयुक्त पानी प्रयोग गर्नका लागि सचेतनामूलक कार्यक्रम पनि चलि नै रहेको छ,’ पानी परीक्षण प्रयोगशालाका प्रमुख रमेश यादवले भने, ‘हाम्रो कार्यालयले गाउँ गाउँमा गएर घुम्ती शिविरमार्फत पानी पनि परीक्षण गर्दै नै आएको छ।’ विगतमा भन्दा हरेकमा पानी परीक्षण गरेर प्रयोग गर्ने सम्बन्धमा सचेतना वृद्धि हुँदै गएको छ। यद्यपी, पछिल्लो समय कोरोना महामारीले अस्तव्यस्त भएकाले गर्दा पानी परीक्षण केन्द्रले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकेको छैन।

‘अब केही सहज भएको छ, सचेतनामूलक कार्यक्रम थप प्रभावकारी बनाइनेछ,’ यादवले भने, ‘अहिले पहिलो चरणमा स्कुले विद्यार्थीमार्फत सचेतनामूलक कार्यक्रम चलाइनेछ।’ स्कुले विद्यार्थीबाहेक सञ्चार माध्यमको प्रयोग गरेर पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने यादवले जानकारी दिए।

पानी परीक्षण केन्द्रमा प्रदेश नं. १ का विभिन्न स्थान खानेपानी उपभोक्ता संस्था, पानी बिक्री गर्ने उद्योग र व्यक्तिगत रुपमा ल्याब परीक्षण गर्न ल्याउने गरेका छन्। परीक्षण केन्द्रमा ल्याउने र केन्द्रले विभिन्न स्थानमा पुगेर शिविरमार्फत पानी परीक्षण गर्दै आएको छ।

खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार एउटा पानीको २७ वटा पारामिति परीक्षण गर्नुपर्ने नियम छ। तर, पानी प्रयोगशालाले आवश्यक पर्ने एउटा नमूनाको १२ देखि १४ वटा पारामितिको परीक्षण गर्दै आएको छ।

परीक्षणको रिपोर्ट अनुसार तराईंको ट्युवेलको पानीमा आर्सेनिकको समस्या देखिएको छ। १०–१२ वर्षसम्म लगातार कसैले आर्सेनिक भएको पानी पिउँदा क्यान्सर हुने खतरा हुन्छ। डिप बोरिङ्मा भने आर्सेनिकको समस्या देखिएको छैन। आर्सेनिक भएको पानी खाँदा कञ्चन फिल्टरको प्रयोग गर्न सकिन्छ।

प्रकाशित: १६ मंसिर २०७८ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App