६ वैशाख २०८१ बिहीबार
समाज

गोलाप्रक्रियाबाट पेसीको पहिलो दिनः भएन उत्साहप्रद सुनुवाइ

नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ गरे पनि उत्साहप्रद सुनुवाइ भएको देखिएन। उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका थिए। तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन्।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा तोकिएको थियो।त्यसमा बेन्च नबसेको जनाइएको छ। न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ। एउटा मुद्दामा अन्य आदेश भएको छ। अरु कुनै पनि मुद्दामा सुनुवाइ भएको छैन।

न्यायाधीश दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको थियो।एउटा मात्र मुद्दामा सुनुवाइ गरिएको छ। न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दामा पेसी तोकिएको थियो तर उक्त बेच्न नबसेकोे जनाइएको छ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दामा पेसी तोकिएकोमा एक थान मात्र हेरिएको छ। न्यायाधीश डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा थियो तर सुरुबाटै हेर्न नभ्याइनेमा छ।

न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयालको संयुक्त इजलासमा १७ थान मुद्दामा पेसी तोकिएकोमा कुनै पनि मुद्दामा सुनुवाइ भएन। न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा  १९ थान मुद्दा तोकिएकोमा एउटामा फाइल झिकाउने निर्णय गरेको छ। न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको थियो। तीन थान मुद्दामा सुनुवाइ भएको छ।

त्यस्तै, एकल इजलासमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान मुद्दामा पेसी थियो। उक्त इजलासमा बेन्च नबसेको जनाइएको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा पेसी तोकिएको थियो। त्यहाँ थान मुद्दामा सुनुवाइ भएको छ। एघार इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो। त्यसमध्ये जम्मा तीन मुद्दामा फैसला भएको छ। अधिकांश मुद्दा हेर्न नभ्याउने र बेन्च नबसेको भनेर जनाइएको छ। एक महिनाभन्दा लामो समयदेखि अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ। गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन भएपछि सबै मुद्दाको प्रभावकारी सुनुवाइ हुने विश्वास गरिए पनि इजलासमा उत्साहप्रद सुनुवाइ पहिलो दिन नै देखिएन। रासस

प्रकाशित: १५ मंसिर २०७८ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App