७ वैशाख २०८१ शुक्रबार
समाज

अख्तियारमा मुद्दाको चाप, स्थानीय तहबाट सबैभन्दा धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा कार्तिक महिनामा मात्रै ३५ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै कैलाली जिल्लाबाट ९ वटा छन्। आयोगका अनुसन्धान अधिकृत चन्द्रकान्त बस्नेतले सुदूरपश्चिमका नौजिल्ला मध्ये अछाम, डडेल्धुरा र बाजुराबाट मात्रै कात्तिक महिनामा कुनै उजुरी दर्ता नभएको जानकारी दिए। उनका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाहरुमध्ये कञ्चनपुरबाट ७, बझाङबाट ६, दार्चुलाबाट ५, बैतडी र डोटीबाट ४/४ उजुरी दर्ता भएका छन्।

उनले कैलालीको टीकापुरमा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै चालू आवमा कात्तिक मसान्तसम्म २२४ वटा उजुरी दर्ता भएको बताए। उनका अनुसार ती मध्ये ११६ उजुरी फछ्र्यौट भएका छन्।

आयोगका अनुसार गत आवमा कार्यालयमा ९०७ उजुरी दर्ता भएका थिए भने अघिल्लो आवबाट ८३८ उजुरी सरिआएका थिए। ती मध्ये ७०७ उजुरी फछ्र्यौट भएका छन्।

गत आवमा सबैभन्दा धेरै स्थानीय तह अन्र्तगत उजुरी परेको अनुसन्धान अधिकृत बस्नेतले जानकारी दिए। उनका अनुसार स्थानीय तह अन्तरगतका ३३३ उजुरी परेका थिए। उनले शिक्षा अन्तरगत १४३ र उद्योग वन पर्यटन अन्तरगत ९६ उजुरी परेको बताए।  

आयोगले गत आवमा ११४ वटा उजुरी अन्र्तगत ४४३ जनाका नाममा अदालतमा मुद्दा दायर गरेको छ। ती व्यक्तिहरुबाट आयोगले १ अर्ब ८९ करोड ४७ लाख ३५ हजार ४३४ रुपैयाँ बिगो माग दावी गरेको अनुसन्धान अधिकृत बस्नेतले जानकारी दिए।

उनका अनुसार कार्यालयले हाल ८३ उजुरीको विस्तृत र १ हजार ६७ उजुरीको प्रारम्भिक अनुसन्धान गरिरहेको छ। ती उजुरीमध्ये सबैभन्दा धेरै कैलालीका २७६ र सबैभन्दा कम बाजुराका ४५ रहेका छन्।

आयोगमा विगत आव २०७०/०७१ देखि हालसम्म ६ हजार ६०० उजुरी दर्ता भएका छन भने ५ हजार ३०० फछ्र्यौट भएको अनुसन्धान अधिकृत बस्नेतले जानकारी दिए। आयोगले हालसम्म २८ वटा स्टिङ्ग अपरेशन गरेको छ। जसमा सहयोगीदेखि उपसचिवसम्मका ४७ जना पक्राउ परेका छन्।

आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कैलालीका टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकाका केही जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख र कर्मचारीहरुको सहभागीता रहेको थियो।

सो कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिमका प्रमुख रामबहादुर कुरुङवाङले समाजका हरेक पक्ष भ्रष्टाचारसँग जोडिएको बताए। उनले एकले अर्कोलाई दोष दिएर मात्रै भ्रष्टाचारको अन्त्य नहुने बताउँदै भ्रष्टाचार नियन्त्रणमा सबै पक्षको हातमालो आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागीहरुले आयोगको काम कारवाही प्रति जिज्ञासा राखेका थिए। उनीहरु मध्ये कतिपयले आयोगको कामप्रति असन्तुष्टी समेत व्यक्त गरेका थिए।

प्रकाशित: १५ मंसिर २०७८ ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App