८ वैशाख २०८१ शनिबार
समाज

दिनहुँ दुर्घटना, दिनहुँ सडक जाम

सुखडमा विरोध प्रर्दशन गर्दै मृतकका आफन्त। तस्बिर: नागरिक

कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेका १९ वर्षका नरेश देउवाको सोमवार बिहान ३ बजेतिर दुर्घटनामा निधन भयो। उनलाई पूर्वपश्चिम राजमार्ग अन्र्तगत स्याउले चोक नजिकै गाडीले ठक्कर दिएर दुर्घटना भएको थियो।  

उनको निधनको विरोधमा आफन्तले राजमार्ग बन्द गराए। उनीहरुले दिनभर राजमार्गमा टायर बालेर विरोध जनाए। मृतकका आफन्तको विरोधका कारण सोमवार दिनभर पूर्वपश्चिम राजमार्ग ठप्प रह्यो। सयौं गाडीहरु दिनभर बाटोमै रोकिए।  

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ना ६ ख ५२६६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ट्रक इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ। अघिल्लो दिन आइतवार कैलालीकै सुखड क्षेत्र दिनभर तनावग्रस्त रह्यो। दिनभर पूर्वपश्चिम राजमार्गमा गाडीहरु चल्न सकेनन्। घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै सडक दुर्घटनामा निधन भएका बसन्तराज शर्माका आफन्तले दिनभर विरोध गरे।  

प्रहरीका अनुसार सुखडतर्फ आउँदै गरेका शर्माले चलाएको सुपप्र ०१०००८ प ५४७५ नम्बरको मोटरसाइकल र सुखडबाट धनगढीतर्फ गैरहेको लु १ ख ४६६५ ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। शनिवार कैलालीकै लम्की चोकमा ट्रकको ठक्करबाट टीकापुर नगरपालिका–२ बन्दिपुरकी ४० वर्षीया गोमा थापाको निधन भयो। प्रहरीका अनुसार उनलाई लम्कीबाट पश्चिमतर्फ गैरहेको ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकले ठक्कर दिएकी थापाको घटनास्थलमै ज्यान गएको थियो।  

ट्रकले ठक्कर दिएर महिलाको ज्यान गएपछि स्थानीय आक्रोशित बन्न पुगेका थिए। उनीहरुले ट्रकमा आगजनी गर्नुका साथै दिनभर लम्की क्षेत्रमा विरोध प्रदर्शन गरे। स्थानीयको विरोध प्रदर्शनका कारण दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध रह्यो।  

कैलालीमा केहीदिन यता दिनँहु सडक दुर्घटना भैरहेका छन्। ती सडक दुर्घटनामा ज्यान गुमाउनेहरुका आफन्तको विरोधका कारण दिनँहु सडक जाम हुने गरेको छ। सडक जामका कारण गन्तव्यमा हिँडेका यात्रु बिच बाटोमै अलपत्र परेर दुःख पाउने गरेका छन्। कतिपय घटनामा विरोधमा उत्रिएकाहरुले बिरामी बोकेका एम्बुलेन्सलाई समेत रोक्ने गरेका छन्। सडक दुर्घटनासँगै हुने विरोध प्रर्दशनले अर्को दुर्घटना निम्तिने खतरा समेत उत्तिकै रहने गरेको छ।  

लम्कीको दुर्घटनामा स्थानीयले ट्रकमा आगजनी गरे। प्रहरीले ट्रकमा आगजनी गर्न नदिएको भन्दै स्थानीयले प्रहरी माथि नै आक्रमण गरे। स्थानीय र प्रहरीबीच दोहोरो झडप भयो। सो क्रममा केही स्थानीय र प्रहरी समेत घाईते भए। प्रहरीलाई स्थिति नियन्त्रणमा लिन निकै गाह्रो भयो। दुर्घटनामा मृत्यु भएकाहरुका आफन्तले क्षतिपूर्तीको माग गर्दै विरोध प्रदर्शन गर्ने गरेका छन। अधिकांश दुर्घटनाका घटना क्षतिपूर्तीमा मिलापत्र हुने गरेका छन्। 

प्रकाशित: १४ मंसिर २०७८ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App