१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निमित्त प्रमुखविरुद्ध रौतहटको माधव नारायणमा प्रदर्शन

स्वास्थ्यका कर्मचारीले नगरपालिका चलाउन खोजेको भन्दै स्थानीयले निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेका छन्। रौतहटको माधव नारायण नगरपालिकाका नगर प्रमुख वीरेन्द्र राय यादवले आफन्त र गाउँले रहेका स्वास्थ्यका कर्मचारीलाई निमित्त प्रशासकीय प्रमुख बनाउन लगाएको भन्दै स्थानीयले नपाको कार्यालय रहेको माधोपुर बजारमा सोमबार प्रदर्शन गरेका हुन्।

गत शुक्रबार स्वास्थ्य तर्फका छैटौँ तहका कर्मचारी जियालाल राय यादव निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए। नगर प्रमुख वीरेन्द्र राय यादव माधव नारायण १ दीपहीका हुन्। निमित्त प्रमुख प्रशासकीय अधिकृतमा ल्याएका यादव पनि सोही गाउँका हुन्। नगर प्रमुख यादवले आफ्नो गाउँले र आफन्तलाई नगरको प्रमुखमा ल्याएर भ्रष्टाचार गरेको भन्दै स्थानीयले नगर प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

नेपाली काँग्रेसका कार्यकर्ता नितेश गुप्ताले नगर पालिकाको प्रशासन विगत छ वर्षदेखि चलाउँदै आएका प्रलभ कायस्थलाई सरुवा गराएर स्थानीय तहको चुनाव आउन लागेको समयमा नगर प्रमुख यादवले भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन्। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र अन्य दलहरु पनि नगर प्रमुख यादवको विपक्षमा रहेको र निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट आफ्नो आफन्तलाई तुरुन्त फिर्ता गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको बताउँदै गुप्ताले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताएका छन्।

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव नगर प्रमुख यादवका आफन्त भएकाले अरुले भनेको सुन्दै नसुन्ने र नगर प्रमुखले गरेको भ्रष्टाचार लुकाउने माध्यम बन्न सक्ने आरोप प्रदर्शनकारीको रहेको गुप्ताले बताएका छन्।

स्वास्थ्यतर्फको कर्मचारी नभई सामान्य प्रशासनतर्फको योग्य कर्मचारीलाई नगरपालिकाको प्रशासनिक प्रमुख बनाइनु पर्ने प्रदर्शनकर्ताको माग रहेको छ।

प्रकाशित: १३ मंसिर २०७८ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App